गान्तोक, 6 सेप्टेम्बरः सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) –ले हाईकमाण्डको निर्देशअनुसार पार्टी गतिविधिलाई बढ़ावा दिएको छ। ठूल्ठूला सभाहरूका सट्टा स–साना सभा, कोठेबैठक अनि सोझो जनसंवादका कार्यक्रमहरूसँग एसडीएफले आफ्ना जनसम्पर्क अभियानलाई तीव्रता दिएको हो।
राज्यको कुनै एउटा क्षेत्रमा मात्र पार्टीको ठूलो कार्यक्रम आयोजन नगरेर राज्यव्यापी रूपमा एकैसाथ गतिविधिहरूलाई सघन तुल्याउने सत्तारूढ़ पार्टीको रणनीति रहेको छ। इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयको सोझो अनुगमनमा एसडीएफको युवा नेता आशिष राईको नेतृत्वमा शहरी क्षेत्रलाई लिएर गतिविधि बाक्लो गरिएको छ। आशिष राईलाई एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङका छोरा विकास चामलिङ, हालै एसडीएफमा सामेल भएका युवा नेता भानुप्रताप रसाइली र याङगाङका युवा नेता कर्मा सुब्बाले आशिष राईलाई पार्टी गतिविधिमा सहयोग पुऱ्याउनेछन्।
युवा नेताहरूका कार्यविधिलाई एसडीएफका वरिष्ठ उपाध्यक्ष डीबी थापाले पर्यवेक्षण गरिरहेका छन्। युवा नेताहरूको यो टोली विशेष गरेर गान्तोक नगरनिगम अन्तर्गतका क्षेत्रहरूमा बढ़ी क्रियाशील रहेको छ। दुई दिनअघि आशिष राईको अगुवाइमा जालीपुलका 15 जना एसकेएम समर्थक, सेलेप ट्याङ्की, बोझोघारीका 30 भन्दा अधिक एसकेएम समर्थक र 5 सेप्टेम्बर गान्तोक नगरनिगम क्षेत्रका 76 जना एसकेएम समर्थक एसडीएफ पार्टीमा सामेल भएको पार्टीले जानकारी दिएको छ।
एसडीएफमा सामेल भएका 76 जनालाई हिजो पार्टी मुख्यालयमा डीबी थापाले पार्टीको झण्डा तथा सिद्धान्तका पुस्तक प्रदान गरे। शहरी क्षेत्रबाहेक पूर्व जिल्लाको अन्य भागमा पार्टीका युवा संयोजक चेतन सापकोटाको अगुवाइमा धारावाहिक गतिविधिहरू भइरहेको एसडीएफले जनाएको छ। विगत 15 दिनदेखि सापकोटाको अगुवाइमा पूर्व जिल्लाका विभिन्न ठाउँमा युवा समन्वय सभाहरू भइरहेका छन्। यसै क्रममा आज छुजाचेन समष्टिमा एउटा कार्यक्रम आयोजन भएको थाहा लागेको छ।
“हाम्रा कार्यक्रम बाक्लैगरी भइरहेका छन्। पूर्व जिल्लाका सम्पूर्ण युवामुखी कार्यक्रमहरू पार्टीको पूर्व जिल्ला कार्यकारी समितिको देखरेख र मार्गदर्शनमा भइरहेको छ। यो कार्यक्रम अविरल चलिरहनेछ”, एसडीएफका युवा नेता चेतन सापकोटाले भने। पूर्व जिल्लामा पार्टीको गतिविधिलाई अझ तीव्र बनाउन चेली मोर्चा, मजदुर मोर्चा, विद्यार्थी मोर्चा, भूतपूर्व कर्मचारी मोर्चा, पञ्चायत प्रकोष्ठलाई पनि सक्रिय रूपमा परिचालित हुन एसडीएफ हाईकमाण्डले निर्देशन दिएको थाहा लागेको छ।
भातृ सङ्गठनका सबै मोर्चाहरूलाई एसडीएफले एकसाथ सक्रिय गराएको छ भने विद्यार्थी मोर्चाले छुट्टै रूपमा राज्यभरिका कलेज तथा महाविद्यालयहरूमा विद्यार्थीहरूसँग भेटघाट र संवादका कार्यक्रमहरूलाई गति दिएको जनाइएको छ। भातृ सङ्गठनहरूका गतिविधिलाई सोझै पार्टी मुख्यालयले निगरानी गरिरहेको छ।
दक्षिण जिल्लामा पनि एसडीएफले यसरी नै आफ्ना सबै मोर्चालाई जनसंवादमा खटाएको छ। नामथाङ–रातेपानी निर्वाचन क्षेत्रमा धारावाहिक रूपमा वार्ड सभाहरू आयोजन भइरहेको क्षेत्र विधायक तिलु गुरुङले जानकारी दिएकी छन्। उनकै नेतृत्वमा यी सबै गतिविधि परिचालित भए पनि पार्टीको दक्षिण जिल्ला कार्यकारी समितिले पार्टी कार्यक्रमहरूको निगरानी राखिरहेको छ। यसको निम्ति पूर्व विधायक विनोद राईलाई कमाण्ड सुम्पिएको छ।
“नामथाङ रातेपानीमा रहेका कुल वार्डहरूमध्ये 50 प्रतिशतमा सभा सम्पन्न भएको छ। अन्य वार्डमा धारावाहिक कार्यक्रमहरू जारी छन्। पार्टीका सबै मोर्चालाई क्षेत्र स्तरमा सक्रिय बनाएर हामी काम गरिरहेका छौं। वार्ड सभा र घरदैलो अभियान एकसाथ चलायमान छ। नामथाङ–रातेपानीमा जनताबाट राम्रो ‘रेस्पोन्स’ प्राप्त भइरहेको छ”,क्षेत्र विधायक तिलु गुरुङले जनाइन्। दक्षिण जिल्लाको प्रत्येक क्षेत्रमा पार्टीको गतिविधि अघि बढ़ेको एसडीएफको दाबी छ।
दक्षिण जिल्लामा भोलिदेखि पार्टीका साङ्गठनिक योजनाकार तथा मन्त्री उगेन टी ग्याछो भोटिया मैदानमा उत्रिने भएका छन्। पार्टीको उच्चस्तरीय अनुगमनका लागि लोकसभा सांसद तथा वरिष्ठ एसडीएफ नेता पीडी राईलाई पनि पार्टीले मैदानमा खटाएको छ। हिजो दक्षिण सिक्किमको याङगाङमा एउटा सभामा देखिएका पीडी राई आज तुरुन्तै पश्चिम जिल्लाको गेजिङमा सभा गरिरहेका भेटिए। पश्चिम जिल्लामा एसडीएफले घरदैलो अभियान पूरा गरेको छ।
एसडीएफका पश्चिम जिल्ला अध्यक्ष शेरहाङ सुब्बाको अगुवाइमा स–साना सभाहरू शुरु भइसकेको बताइएको छ। पश्चिममा अहिलेसम्म भएका घरदैलो अभियानको रिपोर्ट सङ्कलनमा पार्टीका वरिष्ठ नेता तथा मन्त्री एनके सुब्बा स्वयं खटिएका छन्। सोरेङ निर्वाचन क्षेत्रमा प्रत्येक ग्राम पञ्चायत एकाइमा जनसंवादका निम्ति कमिटी नै गठन गरेर एक–एकजना नेतालाई जिम्मेवारी सुम्पिइएको छ। एसडीएफका वरिष्ठ नेता डा. एडी सुब्बा, युवा नेता खेमप्रसाद दाहाल, जेबी तामाङ जस्ता नेताहरूलाई यस कामको जिम्मेवारी सुम्पिइएको छ।
एसकेएम अध्यक्ष पीएस गोलेको गृह गाउँ सिङलिङ जीपीयुमा खेमप्रसाद दाहाललाई गोले शिविरलाई ‘काउन्टर’ दिन खटाइएको छ। यसैगरी, उत्तर जिल्लामा पनि पार्टीको गतिविधिलाई तीव्र तुल्याइएको जनाइएको छ। पार्टीको प्रचार–प्रसार तथा सूचनातन्त्रलाई राज्यभरि सघन तुल्याइएको एसडीएफ स्रोतले दाबी गरेको छ।