राज्यव्यापी शिक्षक दिवस पालन, चामलिङले भने – विद्यार्थीहरूको हितमा कल्याण बोर्ड बनाउनेछौं

0
1258
शिक्षक दिवसमा डा. सर्वपल्ली राधाकृष्णनप्रति श्रद्धाञ्जली अर्पण गर्दै चामलिङ।

गान्तोक, 5 सेप्टेम्बर : सिक्किमे विद्यार्थीहरूको हितमा विद्यार्थी कल्याण बोर्ड गठन गर्ने मुख्यमन्त्री पवन चामलिङले घोषणा गरेका छन्। मानव संसाधन विकास विभागअन्तर्गत गठन गरिने यस बोर्डमा यसै महिना एक करोड़ रुपियाँ प्रदान गरिने पनि मुख्यमन्त्रीले घोषणा गरे। 
बोर्डको लक्ष्य र उद्देश्यबारे प्रकाश पार्दै मुख्यमन्त्री चामलिङले भने,“छात्रावासमा बस्ने विद्यार्थीहरू कहिलेकाहीं बिमार हुन्छन्, कोही विद्यार्थी अचानक कहीं जानपरे उनीहरूसँग रुपियाँ हुँदैन। धेरै विद्यार्थी मेधावी हुन्छन्, उनीहरू राज्यबाहिर पढ्न चाहन्छन् तर आर्थिक हैसियत कमजोर हुँदा उनीहरूका सपना पूरा हुँदैन। ती सबै कुरालाई मध्यनजर राखेर विद्यार्थी कल्याण बोर्ड गठन गर्ने सरकारले निर्णय लिएको हो। विभागीय सचिवले यस सम्बन्धमा चाँड़ै एउटा अधिसूचना जारी गर्नुपर्छ”,मुख्यमन्त्रीले निर्देश दिए। राज्यस्तरीय शिक्षक दिवसको अवसरमा मुख्यमन्त्री पवन चामलिङ बुधवार मनन केन्द्रमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दैथिए।
विद्यार्थी कल्याण बोर्ड सँगसँगै ज्येष्ठ नागरिक कल्याण बोर्डको पनि उनले घोषणा गरे। सामाजिक न्याय, सशक्तिकरण तथा कल्याण विभागले यसमाथि चाँड़ै अधिसूचना जारी गर्नेछ। ज्येष्ठ नागरिकहरूलाई विशेष गरी चिकित्साको क्षेत्रमा कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले सरकारले यो बोर्ड गठन गर्नलागेको मुख्यमन्त्रीले बताए। मुख्यमन्त्री चामलिङले शिक्षकहरूका हितमा अन्य केही घोषणा पनि गरे।
सरकारी  पदमा पदोन्नतिमा शिक्षकहरूलाई पनि सामेल गरिने र पचास प्रतिशत पदोन्नति सोझै शिक्षकहरूलाई दिइने उनले घोषणा गरे। पहिलाको जस्तो अन्तरवार्ताको माध्यमद्वारा शिक्षकहरूलाई पदोन्नति नगरेर उनीहरूको वरिष्ठता र वरियताक्रममा शिक्षकहरूलाई पदोन्नति गरिँदै जाने सरकारले नीति लिएको उनले बताए। लामो समयदेखि सर्वशिक्षा अभियान अन्तर्गतका शिक्षकहरूले उठाउँदै आएका मागलाई पनि मुख्यमन्त्रीले सम्बोधन गरे।
उनले भने,“हामीले 402 जना सर्वशिक्षाका शिक्षकहरूलाई स्थायी गर्‍यौं। तर, शिक्षकहरूले राज्यका अन्य शिक्षकहरू जस्तै सुविधा उपलब्ध हुनुपर्छ भन्ने माग गर्दै आएको मेरो नजरमा परेको छ। यो माग जायज छ। सर्वशिक्षा अन्तर्गत स्थायी भएका शिक्षकहरूलाई पनि अब राज्यका अन्य शिक्षकसरह सबै सुविधा दिइनेछ।राज्यमा अस्थायी रूपमा रहेका शिक्षकहरूलाई पनि स्थायी गरिनुपर्छ भन्ने लम्बित मागप्रति मुख्यमन्त्रीले पहिलोचोटि मुख खोले,“अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्छ भन्ने माग उठ्दैछ। म उनीहरूका मर्मलाई बुझ्छु। हामी उनीहरूलाई स्थायी गर्न चाहन्छौं, तर संविधानको धारा 18 ले हाम्रो हात बाँधेको छ। किनभने, शिक्षा विभाग राज्य सरकारको सम्पूर्ण अधिनमा छैन। शिक्षासम्बन्धी कुनै पनि निर्णय लिँदा केन्द्र सरकारको नीतिलाई हामीले मान्नुपर्छ। यद्यपि म अस्थायी शिक्षकहरूलाई निराश बनाउँदिन। जोजसले स्थायीको मानक पूरा गर्छन्, उनीहरूलाई क्रमशः स्थायी गरिनेछ।
समाजमा जान्ने मान्छे चुप लागेर बस्दा समाज दिग्भ्रमित हुन्छ। पवन चामलिङलाई भोट दिनु वा नदिनु भन्नु राजनीति हो, तर समाजमा यो गलत हुँदैछ, यो सही हो भन्नु चाहिँ राजनीति होइन। त्यसैले शिक्षकहरू बोल्नुपर्छ, समाजलाई बाटो देखाउनुपर्छ”,मुख्यमन्त्रीले शिक्षकहरूलाई अपील गरे।
 शिक्षकले काम होइन, कर्म गर्नुपर्छ। काम भनेको औपचारिक कुरा हो, तर शिक्षकहरूले समाजलाई बाटो देखाउनुपर्छ”,उनले भने। मुख्यमन्त्रीले यस अवसरमा विपक्षी पार्टीहरूप्रति पनि कटाक्ष गरे। विपक्षी पार्टीहरूले तपाईंको उत्थानका लागि काम गरेका छैनन्। तर उनीहरूले तपाईंलाई मैदानमा छोड़िदिन्छन्। उनीहरूले समस्याबाट तपाईंहरूलाई मुक्त गर्दैनन्”,मुख्यमन्त्रीले भने।
करिब अढ़ाई घण्टाको आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले रेभेन्यू अर्डर नम्बर 1 लाई पनि छोए। केही राजनीतिक पार्टीहरूले शेर्पा समुदायको जमिन रेभेन्यू अर्डर नम्बर 1 अन्तर्गत ल्याउनुपर्छ भन्दैछन्, तर भारत सरकारले समेत यो काम गर्न सक्दैन। यस्तो असंवैधानिक कुरा सिक्किममा हुँदैछ”,उनले भने। जनतालाई सही कुरा बताउन मुख्यमन्त्रीले राज्यका शिक्षकहरूलाई अपील गरे।
कार्यक्रममा मानव संसाधन विकास विभागीय मन्त्री आरबी सुब्बाले पनि सम्बोधन गरेका थिए। शिक्षक दिवसको अवसरमा मुख्यमन्त्रीले राज्यका विभिन्न विद्यालय र शिक्षकहरूलाई उनीहरूका उत्कृष्ट सेवाका लागि सम्मान जनाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here