दार्जीलिङ, 6 सेप्टेम्बर : दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनसलाई लिएर मालिकपक्ष र श्रमिक सङ्गठनहरूबीच बसिएको दोस्रो चरणको बैठक पनि विफल बनेको छ।
शुक्रवार दार्जीलिङ टी एसोसिएशन (डीटीए)-मा सम्पन्न बैठकमा मालिकपक्ष र श्रमिक सङ्गठन आ-आफ्नै अड़ानमा अडिग रहेकोले विफल बनेको बतिाएको छ। जानकारीका अनुसार आज पनि पहिलो चरणको बैठकजस्तै मालिकपक्ष 8.33 र श्रमिक सङ्गठन 20 प्रतिशतको दरमा अडिग बसेका थिए। अर्कोतिर जोइण्ट फोरम हिल सब कमिटीका प्रवक्ता सुनिल राईले मालिकपक्षले बोनस बैठकमा नाममा आज मजाक गरेको आरोप लगाए।
“हाम्रो माग 20 प्रतिशत हो। हामी यसभन्दा तल झर्दै झर्दैनौं। तर, 8.33 प्रतिशत दिन सक्छु भन्ने मालिकपक्षले बोनसबारे आज छलफल गर्नै मानेन। आज बोनस बैठक नभएर मजाकजस्तो भयो”, राईले भने। उनका अनुसार आजसम्मका दुइवटै बैठक विफल हुनुमा मालिकपक्ष दायी छ।
“हामीले जति प्रतिशत मागिरहेका छौं, त्यो न्यायसङ्गत र यसपालि मालिकपक्षले दिनसक्ने प्रतिशत हो”, प्रवक्ता सुनिल राईले भने, “तर श्रमिकहरूलाई ठग्न र छल्नका लागि मालिकपक्षले बोनसबारे छलफल गर्नै मानिरहेको छैन। आज पनि छलफल गर्नै चाहेन।”
यसैबीच उनले मालिकपक्षलाई आगामी 15 सेप्टेम्बरभित्र बोनस 20 प्रतिशतको बोनसबारे सहमति भइसक्नु पर्ने र चाँड़ो गरी पहाड़का सबै चियाकमानमा बोनस बाँड़िनुपर्ने माग जोइण्ट फोरमले स्पष्टसँग राखिसकेको बताए। ‘मालिकपक्षले यदि 20 प्रतिशत बोनस नदिए तथा बोनसको छिनोफानो गर्न ढिल्याइ गरेको खण्डमा जोइण्ट फोरमले आन्दोलन गर्ने चेताउनी पनि जोइण्ट फोरमले अगावै दिइसकेको राईले बताएका छन्।
अर्कोतिर बोनसलाई लिएर मालिकपक्षले गरिरहेको आनाकानीको जनआन्दोलन पार्टीका ब्युरो सदस्य एवं जोइण्ट फोरमका सदस्य अमर लामाले तीखो शब्दमा निन्दा गरेका छन्।
उनका अनुसार मालिकपक्षले जहिल्यै रेकर्ड प्लेयरजस्तो 8.33 प्रतिशतको अड़ान सुनाइरहन्छ। साथै चियाश्रमिकहरूलाई कम्ती दरको बोनस थाप्नमा बाध्य बनाउनका लागि बोनसको छिनोफानोमा अबेर गर्नेगर्छ।
“हामी यसपटक बोनस बैठक तीन चरणभन्दा ज्यादा हुनुहुँदैन भन्ने अघिबाटै माग गरेका थियौं। तर, दुई चरणको बैठक भइसकेको छ। दुई चरणको बैठकमा नै मालिकपक्ष 8.33 प्रतिशतभन्दा माथि बढ़ेको छैन। हामी 20 प्रतिशत नै दिइनुपर्ने कुरामा अडिग छौं। योभन्दा कम्ती प्रतिशतको बोनस थाप्ने छैनौं”, लामाले भने।
उनको दाबीका अनुसार यसवर्ष मौसम अनुकूल रहनका साथै एकैपटक पनि चियाकमानहरू बन्द भएकोले चियाका उत्पादन, निर्यात र मूल्य सबै बढ़ेको छ। “पछिल्लो वर्षको तुलनामा यसवर्ष चियाको उत्पादन, मूल्य र निर्यात बढ़ेको छ। यसैले गत वर्षको भन्दा कम्ती दरको पूजा बोनस दिने मालिकपक्षको कुरा न्यायसङ्गत छैन। हामी यसलाई स्वीकार गर्नेछैनौं”, उनले थपे, “2017-मा 104 दिन बन्द हुँदा त पछिल्लो वर्ष 15 प्रतिशत बोनस दिनसक्ने मालिकपक्षले 2018-19 मा सबै कुरा अनुकूल रहँदा कसरी 8.33 प्रतिशत बोनसको कुरा गर्दैछ।”
मालिकपक्षले बैठकलाई पछिल्तिर ढकेल्दै लैजानको सट्टा सहमतिमा आएर चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस चाँड़ोभन्दा चाँड़ो दिनु नै न्यायसङ्गत रहेको पनि लामाले बताएका छन्।