एसपी शर्मानेतृत्व डीडीएफ गोर्खा लीग प्रताप गुटमा विलय

0
1078

कालेबुङ, 6 सेप्टेम्बरः एसपी शर्मानेतृत्व दार्जीलिङ डेमोक्रेटिक फोरम अखिल भारतीय गोर्खा लीग (अभागोली)-मा विलय भएको छ। आजदेखि डीडीएफ गोर्खा लीग प्रताप गुटमा विलय भएको हो। विलय हुनअघि दुवै पार्टीबीच कालेबुङमा एक बैठक सम्पन्न भएको थियो।

डीडीएफले पछिल्लो 20 जूनका दिन आफूलाई राजनीतिक पार्टी बनेको घोषणा गरेको थियो। त्यसअघि यसले आफूलाई गैर-राजनीतिक सङ्गठनको रूपमा चिनाएको थियो।

यसैबीच, एर्काकाका विचार र सिद्धान्तले मेल खाएकै कारण डीडीएफ आजदेखि पूर्ण रूपमा गोर्खा लीग प्रताप खाती गुटमा विलय भएको एसपी शर्माले बताए।

उनका अनुसार अखिल भारतीय गोर्खा लीग गोर्खाहरूको सङ्घर्षमा इतिहास बोकेको तथा अहिलेसम्म दाग नलागेको इमानदार पार्टी पनि हो।

यसैले पनि यो पार्टीलाई क्षेत्रीयस्तरमा माथि उठाउनुपर्ने जिम्मेवारीबोध आफूहरूले पनि गरिरहेकै शर्माको भनाइ छ।

“जहाँ सिद्धान्त मिल्छ, त्यहाँ नै हामी मिल्नसक्ने परिस्थिति पनि थियो। साथै हामीले जुन सकारात्मक परिस्थिति र परिवेशमा परिवर्तनको आशा गरिरहेका थियौँ। त्यै विचार र सिद्धान्त लिएर काम गर्नसक्ने र अहिले काम गरिरहेको दल खोज्यौँ भने र गोर्खा जातिको राजनीतिक सङ्घर्षमा इतिहास बोकेको तथा एउटा यस्तो दल जसमा अहिलेसम्म दाग नलागेको र जुन दललाई क्षेत्रीय दलको रूपमा उठाउनै पर्ने एउटा जिम्मेवारीबोध हामीले पनि गरिरहेका थियौँ, त्यो अखिल भारतीय गोर्खा लीगबाहेक अर्को थिएन”, शर्माले थपे, “ढिलो-छिट्टो हामी अभागोलीसँगै मिल्ने एक प्रकारको विचार त थियो। समयलाई सायद आजका दिन सही लाग्यो होला। र आजका दिन हामीले निर्धारित गरेर दुवैपक्षको सामूहिक बैठक गरी यो निर्णय लिएका हौँ।”

गोर्खा लीग भारती तामाङ गुट छोड़ेर प्रताप खाती गुटमै किन विलय? भन्ने प्रश्नमा शर्माले भने, “अखिल भारतीय गोर्खा लीगजस्तो पार्टी कुनै एक परिवारको हकमा हुँदैन। यो पार्टी जातिको अस्तित्व बोक्ने पार्टी हो। 1943 –मा जतिबेला यो पार्टी शुरू भयो, त्यसबेला अहिले यो पार्टीमा अधिकार जताइरहेका परिवारका धेरैजना मानिस सायद जन्मेका पनि थिएनन् होला। यदि हामीले अखिल भारतीय गोर्खा लीगको इतिहास नै हेऱ्यौँ भने पनि यो पार्टीमा विभिन्न नेतृत्व थिए। समयकालअनुसार उनीहरूले आ-आफ्नो पदभार सम्हाले। समयअनुरूप उनीहरूले जातिलाई नेतृत्व दिए। आजका दिन पनि हामी के भन्छौँ भने जो पनि क्षमतावान् व्यक्तिहरू छन्, जुन व्यक्तिहरूसँग जाति र यो पार्टीलाई नेतृत्व गर्ने क्षमता, रणनीति, कार्यप्रणाली छ, उनीहरू अघि आएर यसलाई सञ्चालन गरेको राम्रो हो।”

उनले थपे, “सङ्गठनले जातिलाई मार्ग दर्शन गर्न सक्नुपर्छ। अनि मार्गदर्शन गर्न सक्नेहरूले सङ्गठन चलाउन सक्छन्। यो खालको लोकतान्त्रिक परिवेश हामीले ल्याउनुपर्छ।”

अर्कोतिर, उनले अब क्षेत्रीय राजनीतिक दल नै सबल हुनुपर्ने र सामूहिक नेतृत्व र रणनीतिमा अघि बढ़्नुपर्ने कुरामा पनि जोड़ दिए।

यसैबीच, गोर्खा लीग नेता प्रताप खातीले डीडीएफको विलयलाई स्वागत गरेका छन्। जातिको मुद्दाप्रति प्रतिबद्ध युवाहरूको सामेलीले गोर्खा लीगको खनेको घड़ेरी मजबुत हुने बताए।

यसका साथै उनले गोर्खा लीग जनाकाँक्षा बोक्ने पार्टी भएकाले यसले सधैँ सिद्धान्त राजनीति गर्ने बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here