बिष्टको पुतलामा जुत्ता-चप्पलको माला, कुर्सीमा बसाएर घुमाइयो दार्जिलिङ शहर

0
1055

दार्जिलिङ, सेप्टेम्बर कुर्सीमा बसाएको सांसद राजु बिष्टको पुतलामा जुत्ता-चप्पलको माला लगाएर आज दार्जिलिङ शहर घुमायो।

यति मात्र होइन, स्थानीय हर्मिटेजस्थित सांसद बिष्टको कार्यालय एवं भाड़ाको घरमा उक्त पुतलालाई पुऱ्याइएको थियो। त्यहाँ पुगेपछि सांसद राजु बिष्टले आफ्नो वचन पूरा गर्न नसकेको लेखिएका प्ला-कार्डहरू उनका स्वकीय सहायक (पीए)-को हातमा थमाउने कार्य गरियो।

भारती तामाङपन्थी गोर्खा लीगले यस्ता कार्यक्रम प्रत्येक साताको आइतबार धारावाहिक रूपमा गर्ने योजना बनाएको छ।

सांसद बिष्टले पीपीएस (स्थायी राजनीतिक समाधान)-का लागि हुने त्रिपक्षीय वार्ताका लागि 12 अगस्तभित्र केन्द्र सरकारबाट पत्र आउने दावी गर्दै सेप्टेम्बर महिनाको पहिलो साताभित्र त्रिपक्षीय वार्ता हुने पनि आश्वासन दिएका थिए। तर, आजका दिनसम्म पनि सांसदको यो कुरा पूरा नभएका कारण नै गोर्खालीगले सांसदको पुतला बनाएर उनको घरसम्म पुऱ्याउने अनि उनको घरमा गएर वार्ताका लागि कस्तो पहल हुँदैछ? भन्नेबारे प्रश्न गर्ने कार्यक्रम बनाएको पार्टीका उपाध्यक्ष विक्रमादि राईले बताए।

उनले भने, “दार्जिलिङका जनताले ७ लाखभन्दा अधिक मत दिएर राजु बिष्टलाई मानसम्मान जनाएका थिए। तर, उनले आफूलाई दिएको सम्मानको सट्टा कुनै काम गर्न सकेका छैनन्। यसैले अब उनी जुत्ताको माला लगाउने लायकका बनेका छन्।”

राईले थपे, “दार्जिलिङका सांसद राजु बिष्टले केही गर्न नसकेको विरोधमा नै गोर्खा लीग भारती गुटका महासचिव एसपी शर्माले गत केही सप्ताहअघि आमरण अनशन शुरू गरेका थिए। त्यसैको चापमा परेर सांसदले केन्द्रीय गृहमन्त्रीसित भेट गरी दार्जीलिङ पहाड़का अन्य राजनीतिक पार्टीका नेताहरूसित एक बैठक गराउने चाँजो मिलाएका थिए। त्यसै बैठकमा त्रिपक्षीय वार्ता गराउनेबारे पनि छलफल गरिएको सांसद स्वयंले बताएका थिए। तर, त्रिपक्षीय वार्ताका लागि अझैसम्म निमन्त्रणा पत्रसमेत आएको छैन। यसबाट भाजपा वा दार्जीलिङका सांसद राजु बिष्टले सोझै ढाँटिरहेको स्पष्ट भइरहेको छ।”

यसैकारण सांसदबाट ठोस उत्तर प्राप्त नभएसम्म या त्रिपक्षीय वार्ताको मिति तय नभएसम्म गोर्खा लीगले धारावाहिक रूपमा दार्जिलिङस्थित बिष्टको घरमा जाने कार्यक्रम बनाएको विक्रमादि राईले जनाए।

यो कार्यक्रम आजबाट शुरू भएको छ।

“अफगानिस्तानको समस्याले गर्दा दार्जीलिङको समस्यामाथि हुने त्रिपक्षीय वार्ता नभएको सांसदको भनाइ पूर्णरूपले हास्यास्पद छ”, उनले थपे, “यसैकारण पनि भाजपामाथि विश्वास गर्न सकिने स्थिति कम्ती भएर जान्छ।“

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here