कालेबुङ जिल्लामा जवाहर नवोदय विद्यालय स्थापनाको प्रक्रिया शुरू : विष्ट

0
852
राजु विष्ट (फाइल फोटो)।

दार्जिलिङ, ६ सेप्टेम्बरः केन्द्र सरकारले कालेबुङ जिल्लामा जवाहर नवोदय विद्यालय (जेएनभी) स्थापना गर्ने प्रक्रिया शुरू गरेको दार्जिलिङका सांसद राजु विष्टले जानकारी गराएका छन् ।

एक विज्ञप्तिमा मार्फत मङ्गलबार विष्टले जानकारी गराएअनुसार पेदोङ, लिङ्से, लिङ्सेखाका नागरिक समाजबाट एक बिन्ती-पत्र पाएपछि उनले पछिल्लो जून महिनामा शिक्षा मन्त्री धमेन्द्र प्रधानसमक्ष यो विषय उठाएका थिए ।

शिक्षा मन्त्रीलाई त्यस समय दार्जिलिङ जिल्लालाई टुक्राएर कालेबुङ जिल्ला बनाइएको र दार्जिलिङ जिल्लाअन्तर्गत मिरिकको छब्बिसेमा रहेको जवाहर नवोदय विद्यालयले दार्जिलिङ र कालेबुङ जिल्लाका आवश्यकताहरूको पूर्ति गर्न नसक्ने हुनाले कालेबुङ जिल्लामा पनि जवाहर नवोदय विद्यालय स्थापना गरिनुपर्ने माग आफूले गरेको विष्टको भनाइ छ।

‘मैले मन्त्री महोदयलाई कालेबुङका धेरैजस्ता जनता जीवन धान्नका लागि कृषि तथा कृषिजन्य अन्य गतिविधिहरूमाथि आश्रित छन्, जसका कारण बहुसङ्ख्यक नानीहरूले महँगा निजी स्कूलहरूमा पढ़ाइ गर्न सक्दैनन् भनी जनाएको थिएँ । त्यसैमाथि, पश्चिम बङ्गाल सरकार अनि जीटीए सञ्चालित सरकारी स्कूलहरू अपर्याप्त पूर्वाधार अनि शिक्षकहरूका कमीका कारण दयनीय हालतमा छन्, र विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित छन्’, सांसद राजु विष्टले विज्ञप्तिमा थप भनेका छन्, ‘तसर्थ, मैले माननीय मन्त्री महोदयलाई कालेबुङ जिल्लाका नानीहरूलाई निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्ने जेएनभी स्कूलअन्तर्गत शिक्षार्जन गर्ने मौका दिने अनुरोध गरेको थिएँ । आज, मलाई माननीय शिक्षा राज्यमन्त्री सुश्री अन्नपूर्ण देवीज्यूबाट एउटा पत्र प्राप्त भएको छ, जसमा ’३१ मई २०१४ पछि कभर नभएका जिल्लाहरूमा जेएनभीहरू खोल्ने प्रक्रिया शुरू गरिँदैछ, र यसमा पश्चिम बङ्गालको कालेबुङ जिल्ला पनि समावेश गरिएको छ’ भनी जानकारी दिइएको छ ।’

विष्टले थप भनेका छन्, ‘मलाई विश्वास छ, जेएनभी कालेबुङ पूर्णतया स्थापित भएपछि यस क्षेत्रमा सर्वोत्तम विद्यालयहरूमध्ये एक बन्नेछ । म सबैलाई आश्वस्त पनि गर्दछु, यसरी नै हाम्रो पार्टी भाजपाद्वारा दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका जनतासँग गरिएका सबै वाचा पूरा गर्ने सुनिश्चित गर्नेछु ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here