गोजमुमो प्रमुख विमल गुरुङ (फाइल फोटो)। |
गान्तोक, ६ अक्टोबर : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का प्रमुख विमल गुरुङले पार्टी स्थापनाको पूर्व सन्ध्यामा शुभकामना व्यक्ति गर्दै गोजमुमो जुन उद्देश्यका लागि गठन गरिएको थियो, त्यो लक्ष्यलाई एकदिन अवश्यै प्राप्त गर्ने दाबी गरेका छन्।
शनिवार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले यस्तो दाबी गरेका हुन्। उनले विज्ञप्तिमा भनेका छन्, “हामी अहिले पनि सङ्घर्षमा छौं, आन्दोलनमा छौं। तर आन्दोलनप्रति हाम्रो इमानदारितामा बेइमानीहरूले जहिल्यै शङ्का जन्माएर बाधा दिइरहेका हुन्छन्। शङ्काले लङ्का जलाउने सपना बोकेकाहरूलाई जनताले धुलो चटाउनेछन् भन्ने कुरामा म विश्वस्त छु।”
उनले ७ अक्टोबरलाई भारतको सविधानको धारा ३ अन्तर्गत् गोर्खाको राजनीतिक मुक्तिको एउटा अध्याय बनाउन आफूहरूले सङ्कल्पित रहेको दाबी गर्दै पार्टी स्थापनाको शुभकामना दिएका छन्।
पार्टी स्थापनाको शुभकामना दिँदै उनले लेखेका छन्, “गोर्खा जनमुक्ति मोर्चाको ११औं स्थापना दिवसको पूर्व सन्ध्यामा म विमल गुरुङ पार्टीको पक्षमा अनि अध्यक्षको हैसियतमा भरतभरि छरिएर बसेका गोर्खा नागरिकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। ७ अक्टोबर २००७ -को दिन स्थापना भएको गोर्खा जनमुक्ति मोर्चाले भारतमा वासभूमिको संवैधानिक अधिकार खोजिरहेका गोर्खाहरूको वर्षौं पुरानो सपनालाई साकार गर्ने अठोट बोकेका थियौं, बोकेका छौं अनि लक्ष्य हासिल नगरुञ्जेल बोकिरहनेछौं।”
गुरुङले गोर्खा जनमुक्ति मोर्चा उनको पार्टी नभएर यो भारतका समस्त गोर्खाको पार्टी रहेको बताउँदै पार्टीको स्थापना दिवसमा सबैले भारतको समस्त गोर्खाको मान सम्मान मर्न नदिने सङ्कल्प गर्ने आह्वान पनि विज्ञप्तिमा गरेका छन्।