मालिकपक्षलाई घुँड़ा टेकाउन म आमरण अनशन बसेको हुँ : विनय

0
1134
अनशन बस्नअघि निकालिइएको ऱ्याली।

दार्जीलिङ, 6 अक्टोबर : दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले 20 प्रतिशतको दरले बोनस पाउनुपर्ने मागमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङ आइतवार अपराह्नदेखि आमरण अनशनमा बसेका छन्।

यसअघि दार्जीलिङ पहाड़का विभिन्न स्थानबाट जुटेका विनयपन्थी मोर्चा समर्थकहरूले एक र्‍याली निकालेर तामाङलाई स्थानीय मोटर स्ट्याण्डमा बनाइएको अनशनस्थलसम्म पुर्‍याएका थिए, जहाँ गान्धीको तस्वीरमा खदार्पण गरी उनी अनशनमा बसे।

यसअवसरमा पार्टीका महासचिव अनित थापालगायत अन्य शीर्षस्थ नेतृत्ववर्ग, श्रमिक सङ्गठन दार्जीलिङ तराई, डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-का पदाधिकारवर्गलगायत पार्टी समर्थकहरूको बाक्लो उपस्थिति थियो।

उल्लेखनीय छ, पछिल्लो 30 सेप्टेम्बरको दिन राज्य सरकारको पहलमा कोलकातामा आयोजित त्रिपक्षीय बैठकमा पनि पहाड़का चियाश्रमिकहरूको बोनसबारे छिनोफानो नभएपछि विनय तामाङले आमरण अनशन बस्ने घोषणा गरेका थिए।

त्यससमय उनले चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस दिनका लागि मालिकपक्षलाई 4 अक्टोबरसम्मको समय दिएका थिए। यदि यो समयावधिभित्र पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस नदिए आफू आमरण अनशन बस्ने तथा आमरण अनशनअवधि अप्रिय केही घटना भएको खण्डमा त्यसको जिम्मेवार मालिकपक्ष हुने बताएका थिए।

यद्यपि तामाङको अल्टिमेटमलाई मालिकपक्षले कुनै पत्तो दिएको देखिएन। मालिकपक्षले यो समयावधिमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

यसैबीच, पछिल्लो शुक्रवार अर्थात् 4 अक्टोबरको दिन सिलगढ़ीको जर्नलिस्ट क्लबमा एक पत्रकारको सम्मेलनको आयोजन गरी तामाङले आमरण अनशन बस्ने आफ्नो अड़ानलाई दोहोर्‍याएका थिए।

उनले उक्त पत्रकार सम्मेलनमा मालिकपक्षलाई आफूले दिएको समयावधि सकिएको र बोनसबारे  मालिकपक्षले आँखा चिम्लेर बसेको बसेको बताएका थिए।

अर्कोतिर हिजो विनयपन्थी गोजमुमोका महासचिव अनित थापाले एक प्रेस विज्ञप्ति जारी गरी विनय तामाङ अपराह्न 1 बजेर 15 मिनटको समयमा आमरण अनशन बस्ने बताएका थिए।

यता, आजदेखि आमरण अनशन बसेका विनय तामाङले  जनतालाई दुःख नदिइकनै मालिकपक्षलाई घुँड़ा टेकाउनका लागि आफू आमरण अनशनमा बसिरहेको बताए।

“दशैंको छेक हो, आमजनताले म दुःख दिन चाहन्नँ। दुःख नेताले पाउनु पर्छ। आम जनताले रूखोसुको दशैं बनाउन्”, उनले थपे, “पहाड़को एक शक्तिशाली पार्टीको हैसियतले यो चाड़बाड़मा पहाड़का आम नागरिकलाई कुनै प्रकारको असुविधा नबनाइकनै मालिकपक्षलाई घुँड़ा टेकाउनका लागि म आजदेखि आमरण अनशनमा बसिरहेको छु।”

‘विनय तामाङले खाएर अनशन बस्छ’ भन्ने सोशल मिडियाका एकाध कटाक्षमाथि बोल्दै उनले चौबिसै घण्टा अनशनस्थलमा पर्दा नलाग्ने तथा जोकोहीले आएर निगरानी गर्नसक्ने चुनौती दिए।

“म यहाँ बसेपछि न अन्न खान्छु, न त पानी पिउँछु”, तामाङले भने, “भोलिको दिनमा मेरो स्वास्थ्य बिग्रेको खण्डमा पहाड़का 87 चियाकमानका मालिक यसको जिम्मेवार हुनुपर्छ।”

यसअवसरमा उनले पहाड़का सम्पूर्ण जनतालाई दशैंको शुभकामना दिए भने चियाश्रमिकहरूको पक्षमा लड़िएका पहाड़का 7 वटा राजनीतिक दलका श्रमिकहरूलाई पनि धन्यवाद दिए।

राम्रो कुराका लागि पहाड़ एक हुनु जरूरी रहेको बताउँदै यसपालि सातवटा राजनीतिक दलका श्रमिक सङ्गठन एकबद्ध भएर चियाश्रमिकहरूको पक्षमा लड़ेको बताए।

“म आज आमरण अनशन बसिसकेपछि सभा/बैठक हुँदैन। एकैचोटि मालिकपक्षले 20 प्रतिशतको दरले बोनस दिन्छौं भनेर लिखित रूपमा दिनुपर्छ। लिखित रूपमा दिएपछि मात्र म आमरण अनशनबाट उठ्नेछु”, उनले मालिकपक्षलाई चेताउनी दिँदै भने, “20 प्रतिशतभन्दा 1 प्रतिशत पनि मुनि जानु हुँदैन। मैले अल्टिमेटम दिएको थियो। त्यो पूरा भयो। अब आजदेखि उता श्रमिकमाथि भइरहेको शोषण बन्द हुनुपर्छ। अब लेबर एक्ट र इण्ड्स्ट्रियल एक्टअनुसारका एकएकवटा हक अधिकार खोज्नेछौं। योपालिदेखि श्रमिकहरूलाई कोइला र दाउरा पनि दिएको हुनुपर्छ।”

यसका साथै तामाङले 1986 भन्दाअघि चियाश्रमिकहरूले पाउने गरेको सबै सहुलियत अब मालिकपक्षले दिनुपर्ने बताए। विनयका अनुसार चियामालिकलाई नाफै नाफा छ। तर, छुट दिएपछि मालिकपक्ष पुलपुलिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here