गान्तोक, 6 अक्टोबरः सिक्किमकी एक वरिष्ठ कलाकार एवम् समाजसेवी श्रीमती डीके लेप्चा अब हामीमाझ रहिनन्।
‘मनु तता’-को नामले बढ़ी प्रचलित 65 वर्षीय कलाकार डीके लेप्चा पछिल्ला केही समयदेखि अस्वस्थ थिइन्। उनी मधुमेहको रोगले ग्रसित थिइन्।
एसटीएनएम अस्पतालमा उपचारको क्रममा उनमा कोरोनाको सङ्क्रमण पनि पाइएको थियो भने हिजो राति उनको अस्पतालमै उपचाररत् अवस्थामा निधन भएको हो।
डीके लेप्चाले एक कलाकारका रूपमा धेरैवटा चलचित्र, टेलिशृङ्खला र दर्जनौं नाटकमा अभिनय गरी लोकप्रियताको शिखर चढेकी हुन्।
उनी कलासँगै सामाजिक क्षेत्रमा पनि अति सक्रिय थिइन्। लेप्चाले बालश्रम, यौन उत्पीडन, पारिवारिक विवाद, मानव तस्करीविरुद्धका अभियानहरूमा सक्रिय भूमिका निर्वाह गरेकी छन्। युवापिँढ़ीका कलाकारहरूका लागि उनी एक कुशल अभिभावक पनि थिइन्। आज उनको अन्तिम संस्कार कोभिड प्रोटोकलअनुसार गरियो।