सिलगढ़ी, 6 नोभेम्बर: केही दिनअघि जलपाइगढ़ीमा एक पत्रकारसँग राज्यको शासक दलका एक नेताले दुर्व्यवहार एवं कुटपिट गरेको घटनाको प्रतिवादमा कन्फेडरेशन अफ नर्थ बेङ्गल एन्ड सिक्किम जर्नलिस्ट्सले बुधवार राज्यकी मुख्यमन्त्रीलाई एक ज्ञापन चढ़ाएको छ।
कन्फेडरेशन अफ नर्थ बेङ्गल एन्ड सिक्किम जर्नलिस्ट्सले आज उत्तरकन्यामा उत्तर बङ्ग विकास मन्त्री रवीन्द्रनाथ घोषको माध्यमबाट राज्यकी मुख्यमन्त्रीलाई ज्ञापन सुम्पिएको हो।
यसभन्दा अघि हिजो सिलगढ़ी जर्नलिस्ट क्लबले पनि सिलगढ़ी महकुमा अधिकारीको माध्यमबाट राज्यकी मुख्यमन्त्रीलाई एक ज्ञापन चढ़ाएको थियो।
यसैगरी सोमवार धुपगढ़ी पत्रकार सङ्घको तर्फबाट जलपाइगढ़ीका जिल्लाशासक र उनीमार्फत् राज्यकी मुख्यमन्त्रीलाई एक ज्ञापन चढ़ाएको थियो। स्मरणरहोस्, पत्रकारमाथि तृकं नेताले दुर्व्यवहार र कुटपिट गरेको करिब साता दिन बितिसक्दा पनि पुलिस प्रशासनद्वारा ती नेताविरुद्ध कुनै कारबाही नगरेकोमा क्षोभ प्रकट गरेको थियो।
उल्लेखनीय छ, तृणमूल कङ्ग्रेसका नेता कृष्ण दासले खबर सङ्ग्रह गएका जलपाइगढ़ीका एक पत्रकारसँग दुर्व्यवहार र कुटपिट गर्दा पनि पुलिस प्रशासनले ती तृणमूल नेताविरुद्ध कुनै प्रकारको कारबाही नगरेको आरोप उठेको छ। जसको कारण उत्तर बङ्गालका पत्रकारहरू क्षुब्ध बनेका छन्। उत्तर बङ्गालका पत्रकारहरूले आरोपी तृणमूल नेताविरुद्ध कारबाही गरिनुपर्ने तथा पत्रकारहरूको सुरक्षा सुनिश्चित हुनुपर्ने माग पनि गरेको बताइएको छ।