विधानसभा चुनाउमा विमलपन्थी मोर्चाले पहाड़का तीनवटै सिटमा आफ्नै उम्मेदवार उठाउने

0
990

दार्जीलिङ, 6 नोभेम्बरः आउँदो वर्ष हुने बङ्गाल विधानसभा चुनाउमा दार्जीलिङ पहाड़का तीनवटै आसनमा विमल गुरुङपन्थी गोजमुमोले आफ्नै उम्मेद्वार खड़ा गर्ने घोषणा गरेको छ।

यसका साथै चुनाउमा जीत हासिल गरेपछि विमलपन्थी गोजमुमोले तृणमूल कङ्ग्रेसलाई समर्थन जनाउने प्रतिबद्धता पनि जाहेर गरेको छ।

आज दार्जीलिङमा एक पत्रकार सम्मेलनको आयोजन गरी विमलपन्थी गोजमुमो दार्जीलिङ महकुमा समितिका महासचिव एवं केन्द्रिय समिति सदस्य तिलकचन्द रोकाले गोजमुमो अध्यक्ष विमल गुरुङ आउँदो 10-15 दिनभित्र दार्जीलिङ पहाड़ आउने पनि दावी गरे।

एक प्रश्नको उत्तरमा उनले भने, “हामी विनय तामाङहरूसित मिलेर कुनै पनि स्थितिमा काम गर्नेछैनौँ। यस विषय लिएर मुख्यमन्त्रीसँग पनि सम्झौता भइसकेको छ। किनभने, दार्जीलिङ पहाड़लाई विनय तामाङ, अनित थापाहरूले ठीकसित सम्हाल्न नसकेपछि नै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले विमल गुरुङलाई पहाड़मा फर्काउने भएकी हुन्।’’

यसैगरी भाजपासित सम्बन्ध तोड्नुको कारणबारे प्रश्‍न गर्दा रोकाले भने, “भाजपाले दार्जीलिङबाट विस्थापित बन्नपरेका विमल गुरुङलाई 2019-को लोकसभा चुनाउअघि नै पहाड़मा फर्काउने वाचा गरेको थियो, तर त्यो समय बितेर जाँदा पनि भाजपाले आफ्नो वचन पूरा गरेन। लोकसभा चुनाउ जितेर गएपछि झनै भाजपाले विमल गुरुङहरूलाई आफ्नो घर फर्काउने कुरा नै भुलेर गए। यसैकारण नै गोजमुमोले भाजपासितको सम्बन्ध तोड़ेर तृणमूल कङ्ग्रेससित हात मिलाएको हो।’’

यसैले अब विमल गुरुङपन्थी गोजमुमोले तृणमूल कङ्ग्रेससित मिलेर दार्जीलिङ पहाड़मा शान्ति, विकास र गणतन्त्रको लागि कार्य गर्ने भएको पनि रोकाले बताए।

उनले थपे, “आउँदो 8 नोभेम्बरको दिन पार्टीले दार्जीलिङमा एक जनसभाको आयोजन गर्ने तय गरेको थियो, तर त्यस जनसभालाई हाल स्थगित गरिएको छ।

दार्जीलिङ नगरपालिकाका पूर्व नगरपार्षदहरू पुनः भाजपा छोड़ेर विमलपन्थी गोजमुमोमा सामेल भएको अनि विनय तामाङपन्थी गोजमुमोसित अझै पनि दार्जीलिङका 18 जना पूर्व नगरपार्षद् रहेको सम्बन्धमा प्रश्‍न गर्दा रोकाले भने, “दार्जीलिङ नगरपालिकाको मुद्दा अहिले अदालतमा छ। यदि उच्च अदालतले फ्लोर टेस्टका लागि आमन्त्रण गर्छ भने त्यसमा विनय तामाङफन्थी गोजमुमोसित बलैले 3 जना पूर्व नगरपार्षदको समर्थन रहनेछ। रहल सम्पूर्ण पूर्व नगरपार्षद् विमल गुरुङसित छन्।’’

हाल ती नगरपार्षद्हरूलाई धम्की दिएर, डर देखाएर आफूसित राखिरहेको पनि रोकाले आरोप लगाए।

विमल गुरुङपन्थी गोजमुमोले स्थायी राजनैतिक समाधान कुन विषयलाई मानेको थियो? भन्ने प्रश्‍नको उत्तरमा रोकाले भने, “स्थायी राजनैतिक समाधान भाजपाको शब्द वा नाम थियो। त्यसबारे अहिले नै मुख खोल्नु साह्रै छिट्टो हुनेछ।’’

यद्यपि, विमल गुरुङपन्थी गोजमुमोले 2017-देखि वर्तमानसम्म केन्द्र सरकारलाई स्थायी राजनैतिक समाधान, 11 वटा जात-गोष्ठीको लागि राम्रोसित बुझाइसकेको पनि रोकाले दावी गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here