- हेमन्त काफ्ले
आफैसित लिएर गएको छ,
र
ब्रह्मपुत्रले मेरा अनेकौं फोटाहरू खिच्दै खिच्दै
सागर भेट्न कुदेको छ मलाई
महासागरको एल्बममा टाँगेर राखेको छ
मेरा फोटाहरू
उर्लंदो छाल….छालसित राखेको छ
लहराउँदा लहर…लहरसित साँचेर
राखेको छ ।
हामीमाझ एउटा चुक्ति छ-
म ब्रह्मपुत्र हृदयभरि साँचेर
जहाँ-जतै जाँदा होस्,
साथै लिएर हिँड्छु
उसले मलाई लहर लहर र छाल छालमा
सधैँ बोकेर हिँडेकै छ ।
यसबेला म धेरै टाढाबाट सम्झन्छु
र फेरि पनि, सम्झन्छु-
ब्रह्मपुत्र मेरो बाल्यकाल बोकेर
मलाई पुत्रवत् व्यवहार गर्दै अघि बढ्थ्यो ।
म किनाराको अग्लो डिलबाट झ्वाम्म हाम फाल्थेँ
र,उसले काखमा च्याप्प समाएर
चोट-पटक लाग्नदेखि बचाउँथ्यो
अञ्जुलिभरिको पानीले मेरो अनुहारमा लागेको दाग पखाल्थ्यो ।
सायद-पाप पखाल्थ्यो ।
एक दिन मैले आमालाई भनेँ –
“ब्रह्मपुत्रमा मैले तपाईंलाई पाएँ आमा”
उल्टै, आमाले भन्नु’भो -“ब्रह्मपुत्रकी छोरी हुँ म पनि”
समय निका..लेर म
ब्रह्मपुत्रको किनार किनार पुग्थेँ
बालुवामा लडिबुडी गर्थें
ब्रह्मपुत्र मलाई जिउनको अर्थ सिकाउँथ्यो
हो, ब्रह्मपुत्र मलाई
सबभन्दा विश्वासयोग्य आफन्त लाग्थ्यो ।
जीवनलाई उसैको देखासेखीमा अघि बढाउन सिकेँ-
हाल म टिस्ताको पानीमा पनि
आफ्नो अनुहार देख्छु
यी दुवै नदी हिमालयबाटै कुदेर
यता मसम्म आइपुगेका छन् ।
यसैले म जति ब्रह्मपुत्रको पुत्र
त्यत्ति नै टिस्टाको पनि…
अब भुल्नु छैन मैले
जीवनमा ठूल्ठूला चट्टानहरू नाँघ्दै अघि बढ्न
भुल्न छैन मैले जीवनमा अनेकौँ बाधा पन्साउँदै गति पक्रन
टिस्टा र ब्रह्मपुत्रका पाठशाला
पढ्दै पढ्दै
सिकेको ज्ञान लिएर,
भनौँ
जीवन जिउने कला लिएर
आज म यहाँ उभिएको छु ।