सिलगढ़ीको गान्धी मैदानमा विमलको गर्जन- मलाई पहाड़ पस्न रोक्छु भन्नेहरूले रोकेर देखाऊ

0
1126

सिलगढ़ी, 6 दिसम्बरः  करिब साढ़े तीन वर्षपछि सार्वजनिक रूपले आफ्ना समर्थकहरूअघि आएका विमल गुरुङले आज सिलगढ़ीको गान्धी मैदानको जनसभामा ग्रान्ड एन्ट्री गरे।

घण्टौँ  ट्रेन ब्लक भएर साँझपख जनसभा स्थलमा आइपुगेका उनले थोरै बोले। तर, भाजपालगायत विनय-अनितलाई जोड़ीलाई भक्कुचुर भनिराखे। यसअवधि उनले राजु बिष्टले सांसद पदबाट राजीनामा दिनुपर्ने पनि बताए।

विनय-अनितलाई चुनौती दिँदै विमलले भने, “पैसा खानुसम्म खाएर राजनीति गरिएका दुईजना व्यक्तिले विमल गुरुङलाई पहाड़ बस्न दिनेछैनौँ भन्दैछन्। तिमीहरू को हौँ? मलाई पहाड़ पस्न दिने/नदिने ह्यु आर यू? म भोलि पनि पहाड़ पस्न सक्छु, पर्सि पनि पस्न सक्छु, निकोर्सि पनि पस्न सक्छु, लु मलाई रोकेर देखाऊ त।” गुरुङले आफू 6-7 दिनपछि आफ्नो घर दार्जीलिङ जाने बताए।

उनले नाम नकाड़िकनै विनय-अनितलाई नफल्ने वनतरुलको संज्ञा पनि दिए। साथै पछिल्लो लोकसभा र विधानसभाको उपचुनाउमा पैसाको खोला बगाएर पनि यी दुई चुनाउ हारेको बताए।

भ्रष्टाचारको हिसाब खोज्ने

यसैगरी विमल गुरुङले पछिल्लो तीन वर्षमा पहाड़मा शिक्षक नियुक्ति, सयदिने रोजगार, पीएमजीएसवाईलगायत अन्य योजनाहरूमा भएको भ्रष्टाचारको हिसाब-किताब खोज्नुपर्ने पनि बताए।

गुरुङको आरोपका अनुसार पछिल्लो तीन वर्षमा आएको 1700 करोड़ राशिबाट विनय-अनितले 70 प्रतिशत राशि खाएर केवल 30 प्रतिशत राशिको मात्र कार्य गरेको छ।

“मसँग आँखा जुझाएर हेर्न नसक्नेहरू ठूल्ठूला कुरा गर्छन्। अब हेर्दै जानू; हरियो झण्डा कसले देखाउने रहेछ”, उनले भने।

पहाड़, तराई डुवर्समा लगातार जनसभा

विमल गुरुङले अब नबिसाइकन पहाड़, तराई अनि डुवर्समा लगातार जनसभा गर्ने बताएका छन्।

“अब प्रतिदिनजस्तै दार्जीलिङ, खरसाङ, कालेबुङ मिरिक, तराई अनि डुवर्समा मेरा जनसभाहरू हुनेछन्”, विमलले थपे, “अब हामी एकैदिन पनि बिसाउने छैनौँ। हामी सधैँ काम गरेर अघि बढ़्नेछौँ।”

मोदीलाई चुनौती

प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भने तापनि त्यो सपना कहिल्यै विपनामा परिणत नभएको तथा उल्टै भाजपाले गोर्खाहरूको अपमान गर्ने कार्य गरेको विमलको भनाइ छ।

उनको आरोपका अनुसार भाजपाले धेरै सपना देखाएर धोका दिने र ढाँट्ने कार्य मात्र  गऱ्यो।

“प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना हो, यो सपनालाई पूरा गर्छु भनेका थिए। तर, त्यो सपना सपनै रह्यो। विपना हुनसकेन”, भाजपाप्रति आक्रामक देखिएका उनले मोदीलाई चुनौती दिएरै भने, “2021-मा चुनाउ गोर्खाअघि भोट माग्न आउनुछ भने 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिएको हुनुपर्छ। नत्र तिम्रो (भाजपाको) हरेक जनसभामा यो विमल गुरुङले फलाम भएर त्यसको जवाफ दिएको हुनेछ।”

राजु बिष्टको राजीनामाको माग

विमलले जनसभालाई सम्बोधन गर्दै राजु बिष्टले सांसद पदबाट राजीनामा दिनुपर्ने बताए। उनका अनुसार बिष्ट धेर बोलेकै कारण काम बिग्रेको हो।

“अब राजु बिष्टले राजीनामा दिनुपर्छ। तिमी कहाँको मान्छेलाई हामीले एक-एक भोट दिएर साढ़े चार लाख भोटले जिताएर सांसद बनाएका हौँ। तिमी ज्यादा बोलेर बिगाऱ्यौ”, गुरुङले थपे, “ज्यादा बोल्दा तिम्रो भाजपाले च्याप्टर नै क्लोज गरिदिँदै राष्ट्रिय प्रवक्ताको पदमा राखिदियो। अब हाम्रा लागि बोल्न सक्दैन राजु बिष्ट।”

उनले थपे, “राजु बिष्टले हिजोअस्ति यहाँ आएर भन्दै थिएँ-‘हामीले गोर्खा जनमुक्ति मोर्चासँग गठबन्धन गरेको होइन, हामीले त गोर्खा जातिसँग गठबन्धन गरेका हौँ।‘ यस्तो तिमीले कसरी भन्न सक्छौ? आजदेखि उता तिमीले मेरो अघि आएर भोट मागेर देखाऊ त।”

भाजपालाई हराउन तृणमूल कङ्ग्रेसलाई जिताउने प्रतिबद्ध

भाजपाले आफूहरू र गोर्खा जातिलाई ठूलो धोका दिएको बताउँदै विमलले भाजपालाई हराएर देखाउन तृणमूल कङ्ग्रेसलाई उत्तर बङ्गालमा जिताउने प्रतिबद्धता दोहोऱ्याएका छन्।

उनका अनुसार तृणमूल कङ्ग्रेस सुप्रिमोसँग मिलेर गोर्खा जनमुक्ति मोर्चाले उत्तर बङ्गालमा भाजपालाई हराउनेछ। उनले आफ्ना समर्थकहरूलाई भाजपालाई हराउनका लागि प्रतिबद्ध हुनुपर्ने आह्वान पनि गरे। साथै ममता ब्यानर्जीसँग स्थायी राजनीतिक समाधानका लागि कुराकारी भइसकेको र ममताले पनि वचनबद्धता जाहेर गरिसकेको जानकारी गराए।

उनले आफू ज्यानै पनि केही नहुने तर  2021 को बङ्गाल विधानसभाको चुनाउमा उत्तर बङ्गालमा भाजपालाई हराएर देखाउने प्रतिबद्धता जाहेर गरे।

हजारौँ समर्थकहरू उपस्थित रहेको जनसभालाई विनीता रोका, ननिता गौतम, दीपेन माले, विजय सुन्दास र रोशन गिरी, विशाल छेत्री आदिले पनि सम्बोधन गरेका थिए। यसैबीच आज विमल गुरुङसँगै पछिल्लो गोर्खाल्याण्ड आन्दोलनपछि विस्थापित बनेका मोर्चा कार्यकर्ताहरू पनि साढ़े तीन वर्षपछि आएका छन्।

जनसभाका केही तस्वीर..

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here