सिलगढ़ी, ७ जनवरी : सोमबार बिहानै सिलगढ़ी संलग्न फूलबारी क्षेत्रमा भएको एक सड़क दुर्घटनामा परी एक महिलाले ज्यान गुमाएको घटना प्रकाशमा आएको छ। एनजेपी पुलिसले दिएको जानकारीका अनुसार आज बिहान फूलबारीमा डम्परले स्कुटीलाई हिर्काउँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो।
मृतकको नाम चन्दना धारा (भ्रद) हो। उनी सिलगढ़ीको एक नर्सिङ होममा काम गर्थिन्। पुलिसका अनुसार आरोपी डम्परको खोजी कार्य जारी छ। यो समाचार लेखुञ्जेलसम्म आरोपी डम्परको पत्तो लाग्न सकेको थिए।
घटना जानकारी पाएलगत्तै एनजेपी पुलिस दुर्घटना भएको स्थलमा पुगी शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठाएको छ। साथै पुलिसले घटनाको छानबिन शुरु गरेको छ।
बिहान फूलबारीबाट सिलगढ़ी ड्युटी आइरहेको समय डम्परले जोरसँग हिर्काउँदा चन्दनाको मृत्यु भएको स्थानीय मानिसहरूले बताएका छन्। यो घटनाले आक्रोशित भएका स्थानीय मानिसहरूले सड़क जाम गरी विरोध प्रदर्शन गरेका थिए। जसको फलस्वरूप क्षेत्रमा केही क्षण तनाउको स्थिति सिर्जना भएको थियो।