दार्जीलिङ, 7 जनवरीः विभिन्न 12 श्रमिक सङ्गठनले निजीकरणलगायत केन्द्र सरकारको श्रमिकमारा नीतिको विरोध तथा विभिन्न मागमा भोलि डाकेको भारत बन्दावधि दार्जीलिङ खुल्लै रहनेछ।
श्रमिकहरूका विभिन्न समस्या र श्रमिकमारा नीतिको विरोध तथा विभिन्न मागमा 8 जनवरी अर्थात् बुधवार देशव्यापी बन्दको आह्वान गरिएको छ, यद्यपि यो बन्दबाट दार्जीलिङ पहाड़लाई अलग रहनेछ।
अर्थात् भोलि दार्जीलिङ पहाड़मा कुनै बन्द हुनेछैन। श्रमिकहरूका विविध समस्यालाई लिएर डाकिएको बन्दलाई नैतिक समर्थन जनाए तापनि पहाड़लाई खुल्लै राख्ने जोइन्ट फोरमले घोषणा गरेको छ।
यसबारे जोइण्ट फोरम नेता समन पाठकले भने, “देशका राष्ट्रिय श्रमिक सङ्गठनहरूद्वारा डाकिएको भारत बन्दलाई जोइण्ट फोरमले नैतिक समर्थन जनाएको छ। तर, पहाड़मा यो बन्द गरिनेछैन। किनभने, दार्जीलिङ पहाड़ले अघिबाटै 105 दिनको कठोर बन्दको पीड़ा झेलिसकेको छ। यसैले पहाड़लाई फेरि बन्दतिर धकेलेर यहाँका जनतालाई दुःख दिनु उचित छैन।”
यसैकारण भोलिको भारत बन्दलाई जोइण्ट फोरम हिल सब्-कमिटीले नैतिक समर्थन जनाए तापनि पहाड़ बन्द नगर्ने निर्णय लिएको सीटु नेता एवं पूर्व राज्यसभा सांसद पाठकले बताए।
उल्लेखनीय छ, विशेषगरी केन्द्रको मोदी सरकार 2-ले श्रमिकविरोधी, जनविरोधी साथै राष्ट्रविरोधी नीति अपनाएको विरोधमा नै देशका केन्द्रिय श्रमिक सङ्गठनहरूले 8 जनवरीको दिन भारत बन्दको आह्वान गरेका छन्।
यी केन्द्रिय श्रमिक सङ्गठनहरूले श्रमिकहरूको न्यूनत्तम रोज कम्तीमा मासिक 21 हजार रुपियाँ हुनपर्ने, आवश्यक सामानहरूको मूल्य वृद्धिमाथि नियन्त्रण गर्नुपर्ने, नयाँ रोजगारको अवसर प्रशस्त गर्नुपर्ने साथै अन्य कैयौं मागका लागि नै 8 जनवरी 2020-को दिन भारत बन्दको आह्वान गरेका हुन्।
यद्यपि, दार्जीलिङ पहाड़मा यो बन्द नहुने स्पष्ट भएको छ। तरै पनि आज दार्जीलिङको चोकबजारमा 8 जनवरीको भारत बन्दलाई लिएर केही पोस्टर पनि टाँसिएको छ।
अर्कोतिर, केन्द्र सरकारको नीतिको विरोधमा भोलि भारत बन्द भए तापनि गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका मूलसचिव भरत ठकुरीले भने, “प्रथमतः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा बन्द वा हड़तालको पक्षमा नै छैन। दार्जीलिङ पहाड़लाई बन्दमुक्त राख्ने पार्टी अध्यक्षको अड़ान छ, यसैले दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले पनि बन्द गर्ने कुनै निर्णय लिएको छैन।”
यसैगरी, गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले भोलि पहाड़ बन्द नहुने स्पष्ट पारेका छन्।
आज एक विज्ञप्ति जारी गरी तामाङले भनेका छन्, ‘गोर्खा जनमुक्ति मोर्चाले 2017 मा भएको 105 दिनको बन्दपछि अबउप्रान्त पहाड़मा बन्द नगर्ने निर्णय लिएको थियो। त्यसैले भोलि दार्जीलिङ पहाड़मा लेफ्ट श्रमिक सङ्गठन र कङ्ग्रेसले डाकेको भारत बन्दको कुनै असर हुनेछैन।’
अर्कोतिर उनले आफ्नो पार्टी भाजपानेतृत्व केन्द्र सरकारका आर्थिक नीतिको विरोधमा बन्द डाक्ने श्रमिक सङ्गठनहरूको साथमा रहेको भने बताएका छन्।
‘गोर्खा जनमुक्ति मोर्चाले पनि भाजपा नेतृत्व केन्द्र सरकारको विरोध गर्दछ, जसले कामदारहरूका कल्याणका लागि कुनै सराहनीय कार्य गर्नसकेको छैन अनि कामदारहरूका लागि कुनै कानून ल्याएर उनीहरूलाई सुरक्षा दिन सकेको छैन’, विनयले विज्ञप्तिमा भनेका छन्, ‘त्यसरी नै गोर्खा जनमुक्ति मोर्चाले भाजपानेतृत्व केन्द्र सरकारको निन्दा गर्छ। किनभने आजसम्म जति पनि मुद्दाहरू पहाड़का श्रमिक सङ्गठनहरूले उठाए, जसमा आधारभूत बेरोजगारी, न्यूनतम रोज र सामाजिक सुरक्षा प्रमुख छन्, तीमध्ये कुनै पनि मुद्दा केन्द्र सरकारले पार लगाउन सकेका छैन।’