0 कवि संवाद – डा. सञ्जय बान्तवा
केवल कुरा
इस्वी सम्वत् १९८० को दशकका प्रारम्भिक वर्षदेखि कविता लेखनमा लागेका केवलचन्द्र लामाको पहिलो कृति ‘खण्ड- अखण्ड’ (इस्वी सम्वत् १९९१) हो। दुईवटा काव्य समय र प्रवृत्तिका अन्तराल-छेउ टेकेर उभिएका उनका कवि प्रायोगिक अवस्थामा समेत विस्तारित छ। इस्वी सम्वत् १९७०-८० का अवान्तर काव्य-स्वरलाई सुन्दै आएर इस्वी सम्वत् १९९० दशकका प्रारम्भबाट ‘सङ्क्रमण काल’ -को बग्दो काव्यधारामा उनको काव्यचेतना मिसिएर बगेको छ।
कवि केवलचन्द्र लामाका अन्य कृति केवलय (इस्वी सम्वत् १९९३), आँखे झरी (इस्वी सम्वत् २०१३ ), घर (इस्वी सम्वत् २०१३) र खिलबुट्टा (इस्वी सम्वत् २०२२) आदि प्रकाशित छन्। चित्रकला, गीत लेखन, नाट्य-अभिनय तथा विविध संस्कृति कर्मसँग सक्रिय रहेका कवि केवलचन्द्र लामा आफ्नो काव्य लेखनको मूल बाटोमा अनवरत् हिँडिरहेका छन् ।
केवल संवाद
० कवितामा बिम्बलाई साध्य कि साधन मान्नुहुन्छ?
उत्तर – बिम्ब भनेको साहित्यमा कार्यको पूर्तीकरणका लागि अमूर्तलाई मूर्त रूप प्रदान गर्ने साधन हो । कवितामा बिम्बलाई शब्दचित्र पनि भनिन्छ । यो कल्पनाद्वारा ऐन्द्रिय अनुभवको आधारमा निर्मित हुँदछ । साहित्यको आरम्भकालदेखि नै बिम्बको प्रयोग हुँदैआएको देखिन्छ । प्रतीक हृदय-संवेद्य हुन्छ भने बिम्ब इन्द्रिय-संवेद्य हुँदछ । यसकारण साहित्यमा दृश्यबिम्बसहित श्रव्य, घ्राण र स्पर्शबिम्ब पनि प्रयोग भएको पाइन्छ ।
म कथ्यलाई संक्षेप र सघन रूपमा प्रस्तुत गर्नलाई विषय र स्थितिलाई पाठकअघि जीवन्त बनाइदिन बिम्बको सहायता लिने गर्दछु । बिम्बवादीहरू बिम्बलाई नै साध्य बनाएर साहित्य सिर्जना गर्दछन् तर मेरो विषय र साध्य बिम्ब मात्र हुँदैन । यसकारण बिम्ब साधनको रूपमा स्वतः व्यक्त हुनेगर्दछ।
थालनीमा बिम्बप्रति म सचेत थिइनँ । चित्रकलामा पनि रुचि हुनाले चित्रलाई शब्दमा उतार्दा चित्रशैली विकसित हुँदैगयो । कतिले मलाई बिम्बवादी ठाने तर मैले लेख्दा बोदलेयर र मलार्मेलाई समात्नु परेन ।
० सन् 1970 दशकका अन्तिम वर्ष र 1980 दशकका सङ्क्रमणमा लेखिएका भारतेली नेपाली कविता र 1980-90 दशकका सङ्क्रमणलाई कसरी हेर्नुहुन्छ ?
उत्तर – अघिसम्म दुई धाराका नेपाली रचनाकारहरू थिए – आयामिक गम्भीरता र अर्कोतिर अतिभावुकता । १९७० दशकका अन्तिम वर्ष र १९८० दशकदेखि साहित्यकारहरूले मध्यमार्ग अनुसरण गर्नलागे । हामी उनीहरूका अनुकर्ता भयौँ । हामीले १९९०-कै दशकदेखि हामी सक्रिय हुनथाल्यौँ । यसै बेला भारतले मुक्त अर्थनीतिमा प्रवेश गऱ्यो । हामीले वैश्वीकरणलाई समर्थन गर्दागर्दै पनि स्थानीय संस्कृतिको पक्षधर बन्नेभयौँ । सम्पूर्णताको ज्ञान भए तापनि अंश र अनुभागको पक्षलाई नकार्न सकेनौँ । हामीले नर-नारीसँगै नपुंसकलाई पनि बोध गऱ्यौँ । देशप्रेमसँगै क्षेत्र र जातिगत मूल्यलाई पनि समर्थन गर्नेभयौँ । तटीकृत, दिव्याङ्ग र स्वरहीन (Sabalturn) लाई सहानुभूति राख्नेभयौँ ।
० तपाईंका कवितामा बिम्बका अनेक तह कहिले सम्यक र कहिले विकीर्ण बनेर सक्रिय देखिइन्छन्। के यस्तो उद्यम तेस्रो आयामले ताकेको ‘चित्रकलाको सोझो-साम्यको भाषा‘ -लाई सघाउन गरिएको हो ?
उत्तर – विशेष हामीमाझ चित्रकलाको भाषाबारे चर्चा हुन्छ। हाम्रो साहित्यमा दुई थरीका कुरा छन् – चित्रकलाको भाषा र यसको प्रयोग । चित्रकलाको भाषा भन्नाले हामी कथ्य ( text ) लाई चित्रजस्तो हेर्नुसक्छौँ । जसरी चित्रलाई माथि, तल, दाहिने, देब्रे जताबाट पनि हेर्नुसक्छौँ , उसरी नै चित्रकलाको भाषा भएको कथ्यलाई जतैबाट पढ्नु सक्ने र उति नै आनन्दानुभूत हुनुपर्ने हो । मेरो व्यक्तिगत धारणामा चित्रमय भाषा पनि हुन्छ कि ? चित्रमय भाषा त लैनसिँह वाङ्देल, सुवानन्द दास आदिले प्रयोग गरेका हुन्। इबराका `ब्ल्याक आउट काजु बदाम छोरा´ सुन्दर चित्रमय भाषा छ । आफु पनि चित्रकलाप्रेमी भएकाले त्यसको प्रभाव पऱ्यो नै तर यसो भन्दैमा म तेस्रो आयामको पक्षधर भने होइन ।
० भारतेली नेपाली कवितामा रोमान्टिक प्रभाव अझै विद्यमान छ भनिन्छ। के यो कुरा साँचो हो ?
उत्तर – हाम्रो साहित्यमा अझै रोमान्टिक प्रभाव छ नै । रोमान्टिकता हाम्रो जन्मजात प्रवृत्ति हो ।
० आफ्ना समकालीन कुन कुन कविलाई किन र कसरी सम्झनुहुन्छ?
उत्तर – म मेरा समकालीनहरूमा थुप्रैलाई सम्झन्छु । उदय थुलुङ र उनका नरम कविहरूलाई सम्झन्छु । म सञ्जय बान्तवाका ‘मेरी इतो’-लाई भिक्टिम्स कवितामा सम्झन्छु। सन्तोष आलेलाई सम्झन्छु । घुम्ने भाषामा कविता लेख्नुहुने प्रवीण जुमेलीलाई सम्झन्छु । राष्ट्रियचेतमा कविता लेख्नुहुने जयन्तकृष्ण शर्मालाई , रेमिका थापालाई उनको छुट्टै शैलीका मोहक कविताहरूलाई ….
केवलका कविता
१.
बाघ र समय
कतैबाट फुत्त निस्कन्छ बाघ ।
कतैबाट पनि । कहीँबाट पनि ।
फुत्त निस्कन्छ बाघ
कुनै दन्त्येकथाबाट
कुनै जनश्रुतिबाट
कुनै उखान नभए बाग्धाराबाट
र डाँडाको टुप्पोबाट हेर्छ
तलको मैलो नगरलाई ,
तलको बाक्के बसेको गाउँलाई,
माथिको धमिलो जूनलाई ।
त्यसपछि गर्जन्छ बाघ
मलिन स्वरले
मध्यम स्वरले
र उच्च स्वरले
तारसप्तक बन्दछ ।
सपनामा देखिइने नगर
कवितामा भनिइने गाउँ
भयले लगलगी काँप्दछन् ।
निभिसकेको बत्तीको अँध्यारोमा
गुम्लुङ्ग भय ओढेर
निदाएको नाटक खेल्छ घर ।
पाठ्यपुस्तकमा लेखिएको छ
रगतले तिर्खा मेट्छ बाघ ।
बाघको वृत्तचित्रमा
बाघले
काँचो मासु खाएको
दश मिनेटको दृश्य छ ।
बाघका तिखा नङ्ग्रा
र धारिला दाह्राको वर्णन छ
थुप्रै दन्त्यकथा र आख्यानहरूमा ।
आकाशलाई मनपर्दैन कि
बाघको वीरताको बखान ?
गड्याङगुडुङ गर्छ ।
चट्याङको ब्रह्मास्त्र हान्छ
बाघलाई ताकेर ।
त्यसपछि पानी पर्छ ।
मुसलधारे पानीमा बाघको
नङ्ग्रामा अल्झेको मासुको चोक्टा
मुखमा लागेको आलो रगत
सबै बग्छन् ।
तृप्त भएर बाघ
काल्पनिक जङ्गल पस्छ ।
` बाघको प्रस्थानपछि
ढुक्क भएको घर
निदाउनु लागेको गाउँ
फेरि बत्ती बाल्नु आँटेको नगर
सबै सबै बगेर जान्छन्
कतै पनि, कहीँ पनि ´
काव्यमा यस्तै वर्णन छ ।
२.
उनको कविता
मेरो कविता लेख्नु न! – उनले भनिन् ।
‘केको कविता ?’ – मैले सोधेँ –
– पातको ?
– हाँगा-बिँगाको?
– काण्डको?
– जराको ?
उनले सहमति जनाइन् ।
मैले लेखेँ –
– पहेँलो
– कालिदासले काट्नु आँटेको
– सुक्खा , सुकेको , मरन्च्याँसे
– जिङरिङ्ग घरदेखि बाहिर निस्केको
ठूलो निश्वास लिएर भनिन् –
प्रतिबिम्ब देखिने
त्यो पोखरी सुकेको धेरै भएछ नि …!
३.
घर – ५
दाँत नमोलेको हावाले
फुकेर निभाएको छ
देउताथानको दीयो ।
आँगनको रुखमा काग – कागहरू
धुमधाम बाझ्दैछन्
पटेका पड्काउँदै ।
सिलिङमा बिरालो ङ्यारङुर गर्दैछ
र भत्किँदैछ
परेवाका गुँडहरू ।
घरको आँखाबाट उप्किँदैछ उज्यालोको धुन
र आँगनमा हिँड्दैछ
कुरुप भुइँचालो ।
घरको टाउको ओखलीमा छ
र छन् पापी मनका
नानाभाँतिका मुसलीहरू ।
टेलिभिजन कराउँदैछ सहरभरि
सिरियल बम ब्लास्टका समाचार ।
केटाकेटी र घरका बाबु घर फर्केकै छैनन् ।
पृष्ठाङ्कन
केवलचन्द्र लामाका उपलब्ध तीनवटा कविता (बाघ र समय, उनको कविता, घर-५) का विषय पाठ आज यहाँ विवेचनीय रहेको छ। भारतेली नेपाली कवितामा उच्चाधुनिक कालका कविहरूले काल-चेतनालाई सर्वाधिक लेखेका छन्। तेस्रो आयामसाहित्य-लेखन(आन्दोलन) इस्वी सम्वत् १९६३ को अभियान एक उत्तरआधुनिककालीन प्रयोग थियो। संरचनावादी लेखनले स्थान-कालको आवर्त्तक गुणबाट साहित्य चेतना र सौन्दर्यको विकासमार्ग बनाइरहेको थियो। कवि केवल चन्द्र लामाका अग्रज कविहरूले काललाई परिवर्तनीय समयको ऐनामा उतारेर हेरे। स्थानलाई सर्वेक्षणात्मक दृष्टिकोणले हेरे। केवलचन्द्र लामाका कविताले कालको अवस्थितिलाई बिम्बमा उत्कीर्ण गर्ने प्रयास गरेको छ।
कवि केवलचन्द्र लामाका कवितामा बिम्बावलीको सहचार र त्यसका घनिभूत स्वरूपले वस्तुको यथार्थलाई चित्रित गरेको छ। अवस्थिति र त्यसका सम्भावनाले स्पर्श गर्ने व्यञ्जनामय केन्द्र पाउन कविताले वृत्ततिर बहिर्गमन गरेको पाइन्छ। केवलय (इस्वी सम्वत् १९९३) पछिका उनका कवितामा अनेकौँ यसका दृष्टान्त उभिएका छन्।
कवि केवलचन्द्र लामाका अद्यावधिक कवितामा उत्तर संरचनावादी अभ्यासका झझल्को पनि पाइन्छन्। अवकासीय अध्ययन र सिद्धान्तको रूपमा विकसित पछिल्ला साहित्य-चेतनाले काल एवम् अवकासलाई काव्य- प्रजनकको रूपमा हेरेको छ। पाठमा हेर्दा वास्तविकता के
हो – यथार्थ बुझ्न खोज्दा सम्भावना मात्र देखिएका स्थितिलाई विवेचना गरिएको पाइन्छ।
कवि केवलचन्द्र लामाले बाघ र समय कवितामा लेखेका छन् –
कतैबाट फुत्त निस्कन्छ बाघ
कतैबाट पनि ।कहीँबाट पनि ।
बाघ–को पारम्परिक शब्दबिम्बले बोकेको अर्थ यस पाठका लागि ‘अयथार्थ’ र ‘अप्रासाङ्गिक’ छ। काल अक्षीय (ठोस) छ। काल (क्षैतिजीय अवकाससँगै तरङ्गरूप) छ। कालको ‘सम्भाव्यता’छ लेखिएको यस कवितामा ‘कतैबाट पनि कहीँबाट पनि‘।
काललाई स्थानगत यथार्थमा देखाउन कविले लोक मनसतिर औँल्याएका छन्। तथापि काल्पनिकता समेत गाँसेका छन् –
फुत्त निस्कन्छ बाघ
कुनै दन्त्येकथाबाट
कुनै जनश्रुतिबाट
कुनै उखान नभए बाग्धाराबाट।
‘फुत्त निस्कन्छ‘ जैविक यथार्थ (ठोस अवस्था) हो। कुनै ‘दन्त्येकथा‘, ‘जनश्रुति‘, ‘उखान‘ आदिबाट निस्कनु काल्पनिक (तरङ्गरूप) सत्य हो।
कविले स्थानको अवकास र कालको अवकासलाई आफ्नो काव्य-प्रतिमान उज्याल्नका लागि अधिकाधिक उपयोग गरेका छन्। ‘कुनै एक अवकासले आफु बाहेकका अन्य सबै अवकासलाई बिस्तारै मिचेको छ‘ भन्ने भौगोलिक आलोचनाको मतलाई यस कविताको पाठले पुष्टि गरेको छ-
डाँडाको टुप्पोबाट हेर्छ
तलको मैलो नगरलाई
तलको वाक्य बसेको गाउँलाई
माथिको धमिलो जुनलाई
पृथ्वीको एकाङ्श र त्यस बाहिरको स्थान साथै कालको अवकास (विराट् र ठोस कालको विस्तृत व्यतिति)-ले कवितामा ‘माथिको धमिलो जुनलाई‘ हेरेको झट्टै देख्न सकेको काल प्रसर बिच रहने सानो अन्तराललाई समेत लेखेको छ। यथार्थ र सम्भावनाको खेल हो बुद्धिको स्थिति, बताउन ‘गाउँ‘ र ‘घर‘ को ‘निर्देशक‘ को खुट्टी देखाएर कवि लेख्छन्-
सपनामा देखिने नगर
कवितामा भनिने गाउँ
गुम्लुङ भय ओडेर
निदाएको नाटक खेल्छ घर।
अवकासको अयथार्थ स्थिति ‘सपनामा देखिने नगर‘ र यथार्थको परम्परागत चिह्न ‘गाउँ‘ को अवकासमा भाव र त्यसको उन्मुक्ति ‘नाटक खेल्छ घर‘ लेख्दा कविले चिताएको पुगेको छ। कविको लक्ष्य छ – गाउँ अथवा मान्छेको समाजमा सदा शक्ति, भय, सौन्दर्य र रहस्यका स्थितिले आफैबिच स्थान साटासाट गरेको छ। यथार्थको बुद्धि र ज्ञानले ठोस एवम् तरङ्गबिचको अकाट्य संसारबारे मान्छेलाई व्याख्या गरेर स्पष्ट पार्न सकेको छैन।
कवि केवलचन्द्र लामाको अर्को कविता उनको कविताप्रकृति-चिन्ताको कविता हो। ‘पर्यावरण कविता‘ लेखन- परम्परामा कविको यस कविताले एउटा सुदृढ प्रतिमान र कविताको प्रस्तुतिकरणलाई उम्दा बनाएको छ। कविताको पाठमा ‘कालिदासले काट्नु आँटेको रुख‘ सहितको कार्यात्मक-चित्र पाठकलाई लाग्दछ तथापि त्यसपछिका विवरण पारम्परिक र रुढ मोटिफसँग गाँसिएको देख्दा
‘पोखरी सुकेको धेरै भएछ नि‘ ठिकै होला लाग्दछ।
‘उनको कविता‘ लाई संरचना र तानको दृष्टिले हेर्दा कविद्वारा खिपिएको यो एउटा नौलो कलारूप देखिएको छ। संवादात्मक सुर र कविको मनोगत स्वीकरणले यस कवितालाई प्रच्छन्न बनाएको छ।
कवि केवलचन्द्र लामाले घरविषयमाथि शृङ्खला-कविता लेखेका छन्। यहाँ आज घर-५पाठक समक्ष आएको छ। यस अघिका घर कविता आदिको सम्पर्कसूत्र सबै पाठकसमक्ष आज तत्काल उपलब्ध छैन। तथापि घर शब्दबिम्बले सुन्दरता, सुरक्षायुक्तता, आफ्नोपन र स्वामित्वको भावलाई उज्याल्छ।
सिलिङमा बिरालो ङ्यारङुर गर्दैछ
र भत्किँदैछ
परेवाका गुँडहरू ।
कविताको यस क्षणमा कविले आफैँ पनि सन्त्रस्त भई सामाजिकलाई सतर्क गराएको लाग्दछ। घरको ‘सिलिङमा बिरालो‘ आएको र त्यस परचक्रीले शान्तिसँग बसेका ‘परेवाका गुँडहरू‘ बिथोलिदिएको घटनाको सूचना मात्र पनि कविताको सन्दर्भमा बिम्बात्मक छ।
कविले ‘घर- ५‘ मा सन्त्रस्त घर देखाउँदै सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्थिति र समस्यालाई लेख्न खोजेका छन्।
यस कवितामा अपारम्परिक कार्यात्मक-बिम्ब प्रयोगले वैचित्र्य र रोमाञ्चक प्रभावित सृष्ट छन्-
काग-कागहरू
धुमधाम बाझ्दैछन्।
माथिको कविताङ्शमा कागपक्षी सौन्दर्यका लागि अग्राह्य, मन नपराइएको उपस्थिति पनि, आपस्तमा कराउँदै, कोलाहल र असहनीय स्थिति सिर्जना गर्दै बाझेको अमान्य लाग्ने अवस्था चित्रित छ। यसमा सञ्चरणीय शब्दबिम्ब उपस्थित छ।
धुमधाम बाझ्दैछन्
पटेका पड्काउँदै।
यहाँ ‘पटेका पड्काउँदै‘ शब्दबिम्बले कागपक्षीको कार्यात्मक क्षमता र प्रकृतिलाई विरोधाभासमूलक अवस्थामा चित्रण गर्दा वैचित्र, हास्य-व्यङ्ग्य एवम् रोमाञ्चक प्रभान्विति सिर्जना हुँदछ।
शृङ्खला-कविताका रूपमा ‘घर-५‘ एउटा नौलो पाठकीय अनुभव-क्षेत्रको सुगम सोपान बनिएको होला र यसलाई हर्षसित पाठकले पढ्नेछन्।
कवि केवलचन्द्र लामाको काव्य यात्रा तीन दशक अधिक र अनवरत् रूपमा नौला नौला अनुभूति साथै विस्तारित कला क्षेत्र टेक्दै अघि बढिरहेको छ। उनका काव्य यात्राले भारतेली नेपाली कवितालाई विषय र संरचनागत अवस्थाबाट उँभो उचाल्दै भव्य बनाउने नै छ।
(नोटः दार्जिलिङ टक्सको महिनाका कवि स्तम्भका सम्पादक डा. सञ्जय बान्तवा हुनुहुन्छ। उत्तरबङ्ग विश्वविद्यालयका प्राध्यापक डा. सञ्जय बान्तवा, बेजोड कवि, गीतकार, समालोचक र अध्येता हुनुहुन्छ।)