छैटौं अनुसूची एक्सपायर भएको ट्याब्लेटजस्तै होः विनय तामाङ

0
1473

कालेबुङ, 7 फरवरीः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले छैटौं अनुसूचीलाई ‘डेट एक्सपायर भएको ट्याब्लेट’-को संज्ञा दिएका छन्।

शुक्रवार कालेबुङमा पत्रकारहरूलाई सम्बोधन गर्दै छैटौं अनुसूची एक्सपायर भएको ट्याब्लेटजस्तै रहेकोले गोर्खा जातिका लागि औषधिको काम गर्ने उनले दाबी गरेका छन्।

उल्लेखनीय छ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-पछिल्लो 21 जनवरीका दिनदेखि पहाड़मा छैटौं अनुसूची मागलाई गति दिएको छ।

राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) र नागरिकता संशोधन अधिनियम (सीएए)-बाट गोर्खा जाति र दार्जीलिङ पहाड़लाई छैटौं अनुसूचीले मात्र बचाउने दाबी गोरामुमोको छ।

यसैले केन्द्रले राष्ट्रिय जनसङ्ख्या पञ्जी (एनपीआर) लागू गर्नअघि नै दार्जीलिङ पहाड़मा छैटौं अनुसूची लागू गर्नुपर्ने माग गोरामुमोको छ।

गोरामुमोको यसै मागप्रति प्रतिव्यक्त गर्दै विनयले भने, “हामीले देखेको स्थायी राजनीतिक समाधान केन्द्रशासित प्रदेश र छुट्टै राज्य गोर्खाल्याण्ड हो। छैटौं अनुसूचीले हाम्रो समस्याको समाधान गर्दैन। यो कुरा हामीले देखिसकेका छौं। छैटौं अनुसूची गोरामुमोको आफ्नो मुद्दा हो। आजको दिनमा छैटौं अनुसूची चाहिँ एक्सपायर भएको ट्याब्लेटजस्तै हो।  यसले त्यति ओखतीको काम गर्छ जस्तो लाग्दैन। हाम्रो लागि ओखतीको काम केन्द्रशासित प्रदेश र छुट्टै राज्य गोर्खाल्याण्डले मात्र गर्छ।’’

अर्कोतिर, उनले राजु विष्टले सदनमा मुद्दा उठाउनको सट्टामा स्थायी राजनीतिक समाधानको बिल ल्याउनुपर्ने माग गरे।

विनयका अनुसार अघि स्व. सुषमा स्वराज, राजीव प्रताप रूढ़ी, जसवन्त सिंह र एसएस अहलुवालियाले पनि दार्जीलिङ पहाड़को समस्या संसदमा उठाएका थिए।

“संसदमा कुरा उठाउँदैनमा हाम्रो समस्याको समाधान हुँदैन”, विनयले थपे, “जुन दिन स्थायी राजनीतिक समाधानका लागि गोर्खा जातिले सोचेको, गोर्खा जातिको लक्ष्यको विषयमा संसदमा बिल प्रस्तुत गर्नु हुन्छ, त्यो दिन म राजु विष्टलाई सलाम गर्छु।”

उनले थपे, “कुरा त जसले पनि उठाउँछन्। कुरा उठाउने जसले पनि समय पाउँछन्। तर, संसदमा सरकारी बिल ल्याउन सक्नुपर्छ।”

यसैबीच, विनयले राजु विष्टको बयानले पहाड़को पर्यटन व्यवसायमा नोक्सान भइरहेको आरोप लगाएका छन्।

सांसद विष्टले दार्जीलिङ पहाड़मा पुलिसको अन्याय-अत्याचार रहेको तथा दार्जीलिङ पहाड़का पाँच हजार युवा घर छोड़ेर बाहिर बस्न बाध्य बनिरहेको बयान लगातार दिइरहेकोले दार्जीलिङ पहाड़ घुम्न आउने पर्यटकहरूको सङ्ख्या घटेको तामाङको आरोप छ।

साथै उनले पहाड़को पर्यटन व्यवसायलाई धक्का पुग्ने खालको कुनै बयान नदिन सांसदलाई सुझाएका छन्।

“उनी यहाँको जनप्रतिनिधि हुन्। पर्यटन पहाड़को उद्योग हो। जुन किसिमको उनले वक्तव्य दिइरहेको छ, त्यसले पर्यटकहरूको आगमन असर पर्दैछ। पोहोर साल उनको यस्ता दुई-चार शब्दले 2018-को तुलनामा 2019-मा पर्यटकहरूको आगमन कम्ती भएको थियो”, मोर्चा दोस्रो खेमाका अध्यक्षले थपे, “2019 -को मार्चको तुलनामा अक्टोबरमा पर्यटकहरूको आगमन कम्ती भएको थियो। किनभने एकजना जिम्मेवार व्यक्तिले पहाड़ अशान्त छ, शान्ति छैन भन्ने कुरा बोलिसकेपछि आउनेहरू पर्यटकहरू डराउँछन्।”

यसका साथै उनले पहाड़बाट विस्थापित हुनेहरूको सङ्ख्या 5000 नरहेको बताए विष्टलाई 5000 युवाको नाम दिने चुनौती पनि दिएका छन्। यदि सांसदले 5000 युवाको नाम दिएको खण्डमा ती युवाहरूलाई आफैले घर फर्काएर ल्याउने दाबी गरेका छन्।

विनयका दाबीका अनुसार पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा 217 र त्यसपछि केही युवाले मात्र दार्जीलिङ छोड़ेका छन्।

अर्कोतिर, आज उनकै उपस्थितिमा गोरामुमो कालेबुङ टाउन समितिका अध्यक्ष प्रवीण शाक्यसहित समर्थक र जापका उमेश गजमेरले आ-आफ्नो पार्टी त्यागेर गोजमुमो दोस्रो खेमाका सामेल भएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here