मनिषा र उत्तमा अन्तरराष्ट्रिय किक् बक्सिङ च्याम्पियनशीप खेल्न ब्याङ्कक प्रस्थान

0
2186
केबीएडीका महासचिव सञ्जय राईसँग खेलाड़ीद्वय उत्तमा राई र मनिषा तामाङ।

दार्जीलिङ, 7 मार्चः दार्जीलिङका दुई युवतीले अन्तरराष्ट्रिय किक् बक्सिङमा भारतलाई प्रतिनिधित्व गर्ने भएका छन्।

दार्जीलिङकी 21 वर्षीय मनिषा तामाङ र 19 वर्षीय उत्तमा राईले थाइल्याण्डको ब्याङ्ककमा हुने डब्ल्यूकेए एसिया-प्यासिफिक रिङ् स्पोर्ट्स च्याम्पियनशीपमा भाग लिन लागेको हो।

दुवैले किक् बक्सिङ एसोसिएशन अव् दार्जीलिङ (केबीएडी)-अन्तर्गत तालिम लिएका हुन्। केबीएडीले जनाएअनुसार, च्याम्पियनशिपका लागि दुवै खेलाड़ी भोलि ब्याङ्ककतर्फ प्रस्थान गर्नेछन्। 8 मार्चमा शुरु हुने यो खेल 17 मार्चमा समापन हुनेछ।

केबीएडीका महासचिव सञ्जय राईले भने,“दुवैजना राष्ट्रिय च्याम्पियनशिपबाट चयन भएका हुन्, जो सेप्टेम्बर, 2018 मा गोवामा सम्पन्न भएको थियो। त्यहाँ मनिषाले रजत र उत्तमाले स्वर्ण पदक हत्याएका थिए। भारतबाट कुल 26 जना खेलाड़ीले च्याम्पियनशिपमा अंशग्रहण गरिरहेका छन्, जसमा दार्जीलिङबाट उनीहरू दुईजना मात्र रहेका छन्। अन्य खेलाड़ी सिलगढ़ी, शिलङ, मिजोरम, महाराष्ट्र, उड़िस्सा, दिल्लीसहित अन्य ठाउँका छन्।”

केबीएडी महासचिवका अनुसार, मनिषाले लो किकमा 58 किलोवर्गमा प्रतिस्पर्धा गर्नेछिन् भने उत्तमाले लाइट कन्टाक्टको 53 किलोवर्गमा भाग लिनेछिन्।  मनिषा छोटा काकझोड़ा निवासी हुन्। उनी सेन्ट जोसेफ कलेजमा बी.कम.दोस्रो वर्षकी छात्रा हुन्। उत्तमा लेबोङवासी हुन्। उनी भद्र शीला मेमोरियल इन्सिट्युटमा बाह्रौं श्रेणीमा अध्ययनरत् छिन्।

“म एघारौं श्रेणीमा पढ्दा आत्मरक्षाका लागि किक् बक्सिङ सिक्न शुरु गरें, तर सिक्दै जाँदा रुचि बढ्यो अनि भविष्यमा यसलाई पेशागत रूपमा अघि बढ़ाउने निर्णय लिएँ”,मनिषाले भनिन्। उनले राष्ट्रिय खेलमा दुईवटा रजत पदक जितिसकेकी छन्। मनिषाले राष्ट्रिय खेल तथा एउटा अन्तरराष्ट्रिय खेलमा पनि सहभागिता जनाएकी छन्। मेनचेस्टर-युकेमा आयोजित टुर्नामेन्टमा उनले रजत पदक जितेकी थिइन्।

अर्कोतिर उत्तमाले भनिन्,“म केही नर्भस छु, किनभने यसअघि मैले अन्तरराष्ट्रिय टुर्नामेन्टमा सहभागिता जनाएकी थिइन। तर, म यसको लागि तयार छु। यद्यपि सहभागिताका लागि आर्थिक आर्जन निकै कठिन कुरा भएको छ।” उत्तमाले राष्ट्रिय टुर्नामेन्टहरूमा कांस्यसहित दुईवटा स्वर्ण पदक जितिसकेकी छन्।

खेलमा सहभागिताको आर्थिक पक्षबारे राईले भने,“प्रत्येक सहभागीलाई करिब 1.50 लाख रुपियाँ खर्च लाग्छ। यसका लागि कोष आर्जन एउटा जटिल समस्या छ। धेरै विद्यार्थी यसमा सहभागी हुँदैछन्। उनीहरूको दक्षता राम्रो छ। तर, धनराशि अधिकांशका लागि मुख्य समस्या छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here