2021 -मा पनि बङ्गालमा ममता ब्यानर्जीकै सरकार आउनेछः एनबी खवास

0
1520
हिल तृणमूल प्रवक्ता एनबी खवास (फाइल फोटो)।

दार्जीलिङ, 7 मार्चः तृणमूल कङ्ग्रेसले आज एक कर्मीसभासँगै 2021-को विधानसभा चुनाउ विजयी अभियान शुरु गरेको छ।

राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसले राज्यका 294 वटै विधानसभा आसनमा आजदेखि जनसम्पर्क अभियान शुरु गरेको दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एनबी खवासले जानकारी गराए।

यसै क्रममा दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले पनि आज स्थानीय नेपाली साहित्य सम्मेलन भवनमा एक कर्मीसभाको आयोजन गरी 2021-को विधानसभा चुनाउमा विजयी बनेर देखाउने सङ्कल्प गरेको छ।

यसबारे खवासले एक प्रश्नको उत्तरमा राज्यमा फेरि यसपालि पनि तृणमूल कङ्ग्रेसकै सरकार आउने दाबी गरेका छन्। उनका अनुसार तृणमूल कङ्ग्रेस सरकारले जनताका लागि काम गरेर देखाएको छ।

यसका साथै अझै जनताका के-कस्ता समस्याहरू छन्, त्यसबारे पनि जनसम्पर्क अभियान चलाएर जानकारी हासिल गर्ने कार्य भोलिदेखि नै पार्टीले शुरु गर्नेछ।

‘‘केन्द्रको भाजपा सरकारले भाषण र आश्वासनबाहेक जनतालाई केही दिएको छैन। दार्जीलिङ पहाड़ वा गोर्खा जातिका लागि भाजपा नेतृत्वले गरेको वाचा र आश्वासनहरूलाई हेर्दा नै यो स्पष्ट भइहाल्छ’’, हिल तृणमूल प्रवक्ता खवासले भने।

उनले थप भने, ‘‘भाजपाले वर्ष 2009 र 2014-को लोकसभा चुनाउको समय दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका गोर्खा र आदिवासी समुदायको दीर्घकालीन समस्याको समाधान संवेदनशील बनेर गर्ने वचन दिएको थियो। त्यसरी नै 2019-को लोकसभा चुनाउमा भाजपाले यो शब्दमा मात्रै केही हेरफेर गरी स्थायी राजनीतिक समाधानको विषयलाई आफ्नो सङ्कल्प-पत्रमा उल्लेख गरेको थियो। यसका साथै भाजपाले गोर्खा जातिका 11 वटा गैरजनजाति समुदायलाई अनुसूचित जनजातिको मर्यादा दिने पनि आश्वासन दिएको थियो। तर, भाजपाले केन्द्रमा सरकार चलाएको 6 वर्ष पूर्ण गरिसक्दा पनि गोर्खा जातिलाई देखाइएको सपना विपनामा परिणत भएको छैन।’’

यी तृणमूल नेताका अनुसार भाजपा नेतृत्वावधीन केन्द्र सरकारले दार्जीलिङका लागि न स्थायी राजनीतिक समाधानबारे नै कुनै पहल गरिरहेको छ, न 11 वटा जातलाई जनजातिको मर्यादा दिलाउने दिशामा नै काम गरिरहेको छ।

अर्कोतिर, उनले पश्चिम बङ्गाल विधानसभाको चुनाउ हुनअघि फेरि भाजपाले दार्जीलिङका लागि अवश्यै अन्य कुनै मुद्दा ल्याएर आउनसक्ने वा स्थायी राजनीतिक समाधानका लागि भनेर वार्ता बोलाउन सक्ने आशङ्का व्यक्त गरे।

जसमा लट्ठ बनेर फेरि दार्जीलिङ पहाड़का राजनीतिक नेताहरू भाजपाको त्यो चालमा पर्ने निश्चित रहेको तथा उनीहरूको माध्यमबाट जनतालाई लट्याउने काम हुने प्रबल सम्भावना रहेको एनबी खवासले बताए।

यसअवसरमा उनले आउँदो विधानसभा चुनाउमा एनपीआर, सीएए र एनआरसी चुनावी मुद्दा हुने पनि बताए।

‘‘किनभने, सीएए तीनवटा देशबाट धार्मिक प्रताड़ना सहेर आएका नागरिकहरूका लागि मात्रै लागू हुने भए पनि एनपीआर एनआरसीकै अर्को पाटो हो’’, खवासले थपे, ‘‘यसैले कुनै कागज-पत्र नभएका हाम्रा मानिसहरूलाई यो कानूनले नराम्रो घतले असर पार्नेछ। यसैकारण पनि तृणमूल कङ्ग्रेसले यी विषयहरूलाई चुनावी मुद्दा बनाउनेछ।’’

एक अन्य प्रश्नको उत्तरमा खवासले भने, ‘‘दिल्लीका जनताले भाषण होइन, काम चाहिन्छ भन्ने सन्देश दिंदै यसपालि फेरि अरविन्द केजरीवालको आम आदमी पार्टीलाई नै दिल्लीको सत्ता सम्हाल्ने अवसर प्रदान गरे। त्यसरी नै बङ्गालमा पनि ममता ब्यानर्जी सरकारले जनताका लागि काम गरेको छ। र, निश्चित रूपले यसपालि फेरि तेस्रोपल्ट बङ्गालमा ममता ब्यानर्जीको सरकार नै आउनेछ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here