दार्जीलिङ, 7 मार्चः मङ्पू साहित्य महोत्सव आयोजना समिति र जीटीएको सूचना एवं सांस्कृतिक विभागको संयुक्त आयोजनमा आउँदो 21 र 22 मार्चका दिन मङ्पूमा दुईदिने साहित्य महोत्सव आयोजन गरिएको छ।
शनिवार मङ्पू साहित्य महोत्सव आयोजना समितिका अध्यक्ष उदय थुलुङ, महासचिव सुरेन्द्र थिङलगायत जगत राई र श्याम सिङ्गौरेले मङ्पूमा पत्रकारहरूलाई सम्बोधन गर्दै यसबारे जानकारी गराएका हुन्।
पत्रकार सम्मेलनअवधि उनीहरूले महोत्सव आयोजनको उद्देश्य र कार्यक्रमबारे जानकारी गराएका थिए।
अर्कोतिर, समितिका अध्यक्ष उदय थुलुङले यस महोत्सवलाई लिएर धमाधम तयारी चलिरहेको बताएका छन्।
“महोत्सवमा दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगढ़ी, डुवर्स र सिक्किमका साहित्यकारहरूलाई सहभागी गराउने लक्ष्य राखेर हामीले कार्य गरिरहेका छौं”, जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि समितिका अध्यक्ष उदय थुलुङले थपे, “हाम्रो प्रयास र लक्ष्य भनेको जतिसक्दो धेरै साहित्यकारको सहभागितामा फलप्रद र सफल कार्यक्रम आयोजन गर्नु हो। यसका लागि हामीले तयारी गरिरहेका छौं।”
थुलुङका अनुसार कार्यक्रममा कविता, गजल आदिको वाचनसँगै विमर्श र वार्ता आदि पनि रहेका छन्।
यसका साथै पद्मश्री पुरस्कारप्रापक तीनजना साहित्यकार क्रमैले सानु लामा, केदार गुरुङ र लीलबहादुर छेत्रीलाई पनि सम्मानित गरिने उनले जानकारी गराएका छन्। अर्कोतिर भाषा-साहित्यको विकास, संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्याइरहेका केही साहित्य संस्थालाई पनि महोत्सवअवधि सम्मानित गर्ने अध्यक्ष थुलुङले थप बताएका छन्।