दार्जीलिङ, 7 मार्चः कोरोना भाइरसको प्रकोपबाट दार्जीलिङ पहाड़ क्षेत्रलगायत तराई-डुवर्सको क्षेत्रलाई सुरक्षित राख्नका लागि तत्काल प्रभावी कदम उठाउनुपर्ने तथा विशेषज्ञ एक टोली दार्जीलिङ पठाउनुपर्ने माग गरेका छन्।
यसका साथै विष्टले दार्जीलिङ र कालेबुङ जिल्लाका सीमाहरूमा कोरोना भाइरस स्क्रिनिङ स्थापित गर्नुपर्ने विशेष माग गरेका छन्।
यससम्बन्धमा सांसदले स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. हर्षवर्धन, विदेश मन्त्री एस. जयशङ्कर गृहमन्त्री अमित शाह र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई एक पत्र पठाएर दार्जीलिङ र कालेबुङ जिल्लाका सीमाहरूमा तत्काल कोरोना भाइरस स्क्रिनिङ स्थापित गर्नुपर्ने आवश्यकताबारे अवगत गराएका छन्।
दार्जीलिङ पहाड़ी क्षेत्रको अद्वितीय भौगोलिक अवस्थानका कारण प्रतिदिन हजारौं पर्यटक अन्य यात्रीहरू घुम्न आउने एवं यस क्षेत्र भएर भ्रमण गर्नेगरेकोले तथा दार्जीलिङ पहाड़ी क्षेत्र र डुवर्स नेपाल, भूटान, बङ्ग्लादेश र चीनको अन्तर्राष्ट्रिय सीमालगायत असम र सिक्किम राज्यको सीमासँग जोड़िएको कारण पनि कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर तत्काल आवश्यक कारबाही गर्नुपर्ने विष्टको माग छ।
यसका साथै क्षेत्रवासी कोरोना भाइरसको प्रकोपका कारण चिन्तित रहेको र उनीहरूले दार्जीलिङ र कालेबुङ जिल्लाको भ्रमण आउने तथा यस क्षेत्र भएर यात्रा गर्ने पर्यटक तथा यात्रीहरूको स्वास्थ्य जाँच र स्क्रिनिङ स्थापनाको माग गरिरहेको पनि अवगत गराउनका साथै विशेषज्ञहरूको एक टिम तत्काल दार्जीलिङ पठाएर चाँड़ोभन्दा चाँड़ो आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्। ताकि क्षेत्रलाई कोरोना भाइरसको प्रकोपबाट सुरक्षित राख्न सकियोस्।