दार्जीलिङ, 7 मार्चः जीटीएका बीओए अध्यक्ष अनित थापा र मुख्य सचिव सुरेन्द्र गुप्तले शुक्रवार राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीसँग शुक्रवार नवान्नमा भेट गरी दार्जीलिङ पहाड़का विभिन्न मुद्दामाथि कुराकानी गरेको बताइएको छ।
उक्त भेटवार्तामा विशेषगरी विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको रोकथामलगायत अन्य विभिन्न मुद्दामाथि कुराकानी गरिएको एक विज्ञप्तिमार्फत् जीटीए अध्यक्ष थापाले जानकारी गराएका छन्।
उनका अनुसार नेपालमा कोरोना भाइरसको सङ्क्रमण पाइएको समाचारलाई केन्द्र गरी कलकत्ता स्वास्थ्य भवनबाट सबै बीएमओच, सुपरिटेन्डेन्टलाई प्रत्येक जिल्लामा कोरोना भाइरसको रोकथाम गर्न सतर्कता अपनाउने निर्देश दिइएको उक्त भेटवार्तामा जानकारी गराइयो भने दार्जीलिङ पहाड़का विभिन्न ठाउँमा स्वास्थ्य भवनका अधिकारीहरूसँगै जीटीएको एक टोलीले पनि निरीक्षण गर्ने निर्णय लिइएको छ।
विज्ञप्तिका अनुसार यसअवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीसँग थापाले दार्जीलिङ राज्य युनिभर्सिटीबारे पनि कुराकानी गरे भने उनलाई मुख्यमन्त्रीले प्रशासनिक रूपमा कार्यहरू भइरहेको जानकारी गराइन्।
यसैगरी सिन्कोना बगानको पदोन्नति, बद्ली मामिला, पर्जापट्टा आदि मुद्दा पनि जीटीए अध्यक्षले मुख्यमन्त्रीअघि राखेको तथा मुख्यमन्त्रीले यी मुद्दाहरूबारे सम्बन्धित विभागका अधिकारीहरूसँग सोधीखोजी गरी आवश्यक कार्य अघि बढ़ाउने मुख्यमन्त्रीले आश्वासन दिएको पनि बताइएको छ।
विज्ञप्तिका अनुसार मुख्यमन्त्रीसँगको भेटवार्तापछि अनित थापाले राज्यका मुख्य सचिव राजीव सिन्हासँग भेटवार्ता गरी सिन्कोना विभागका विभिन्न समस्याबारे कुराकानी गरे।
यस भेटवार्ताको क्रममा मुख्य सचिवले सिन्कोनाका पदोन्नति, बदली काम, रोजवृद्धि आदि समस्या गहनरूपमा सुनेपछि केही दिनमा आफू सिलगढ़ी भ्रमणमा आउने र सोही बेला जीटीएका मुख्य सचिवसित सिन्कोनाका विभिन्न समस्याबारे कुराकानी गरी समाधान गरिने आश्वासन दिएको विज्ञप्तिमा बताइएको छ।
यसपछि जीटीए अध्यक्ष र मुख्य सचिवले श्रम मन्त्रीसँग पनि भेटवार्ता गरी पर्जापट्टालगायत श्रमिकहरूका अन्य समस्याहरूमाथि पनि कुराकानी गरेको विज्ञप्तिमा थप बताउँदै दार्जीलिङ पहाड़का राजनीतिक, सामाजिक दुवै क्षेत्रका लागि हिजोको भेटवार्ता फलप्रद मान्न सकिने जीटीए अध्यक्ष अनित थापाले बताएका छन्।