चामलिङ पूर्णरूपले ‘डिस्प्रेशन’-मा गएका छन् : गोले

0
1461
जोरथाङमा जनसभालाई सम्बोधन गर्दै पीएस गोले।

गान्तोक, 7 अप्रेलः यसपालिको चुनाउमा हार निश्चित देखेपछि सत्तारूढ़ एसडीएफ पार्टीका अध्यक्ष एवं राज्यका मुख्यमन्त्री पवन चामलिङ पूर्णरूपले ‘डिस्प्रेशन’-मा गइसकेको राज्यका प्रमुख विपक्षी पार्टी एसकेएमका अध्यक्ष पीएस गोले बताएका छन्।

आइतबार दक्षिण सिक्किमको जोरथाङ खेलमैदानमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै गोलेले भने, “मुख्यमन्त्री चामलिङ पूर्णरूपले डिस्प्रेशनमा गएका छन्। अब उनी डिस्प्रेशनबाट फर्किनु गाह्रो छ। मुख्यमन्त्री भेन्टिलेटरमा पुगिसकेका छन्।”

25 वर्षदेखि झूटको राजनीति गर्दै आएको एसडीएफ पार्टीको राजनीतिलाई जनताले बुझिसकेको र यसपटक जनताले एसडीएफको झूट र पैसाको राजनीति नकारेको देखेर मुख्यमन्त्री चामलिङ डिस्प्रेशनमा गएको एसकेएम अध्यक्षको भनाइ छ।

“एसडीएफले जनतालाई 25 वर्ष ढाँटेर, 25 वर्ष सताएर अनि 25 वर्ष ‘हिटलरी’ शासन चलाएर आज 25 वर्षपछि पनि सिक्किमे जनताको भोट किनेर सरकार बनाउने ताकमा छ”, गोलेले भने, “आज संसारमा पैसाले पनि सरकार थाम्ने हो भने नेपालका राजा जीवित हुन्थे होलान्। आज सदाम हुसैनको शासन जिउँदो हुन्थ्यो होला। आज हिटलरले सुसाइड गर्न पर्दैन थियो होला, तर जनशक्तिको अघि धनशक्तिको केही काम लाग्दैन।”

आफ्नो भाषणमा गोलेले पवन चामलिङले सिक्किमका जनताको विकासका लागि आएको पैसा आज भोट जित्न जनतामा बाँड़िरहेको आरोप पनि लगाए, तर पैसा बाँड़ेर भोट किन्ने एसडीएफको राजनीतिलाई सिक्किमे जनताले नकारिसकेको गोलेको दाबी छ। उनका अनुसार यसपालिका जनता 2019 का जनता हुन्, 1994 का जनता होइनन्। एसकेएम अध्यक्षले चामलिङको भाषणमाथि पनि पनि कटाक्ष गरे। उनको कटाक्षमा विशेषगरी एसडीएफ अध्यक्षले हिजो गेजिङमा दिएको भाषण केन्द्रमा थियो।

गोलेले भने, “उनी सिक्किमको एक नम्बर कुर्सीमा बसेका व्यक्ति हुन्। एक नम्बरको कुर्सीमा बसेर यस्तो भाषाशैलीको प्रयोग सुहाउँदैन। तर फ्रस्टेशन भएर गाली गरेको गरेकै छन्। हिजो पश्चिम सिक्किमको गेजिङमा भएको सभामा जनता नआएपछि फ्रस्टेशन भएर खुल्लारूपमा धम्की दिए। हिजोको जनसभामा मुख्यमन्त्रीले खुल्ला धमास दिए। खुल्ला चेताउनी दिए, तर प्रजातान्त्रिक प्रणालीमा पवन चामलिङले विपक्षी पार्टीको सामना गर्न सक्दैनन् भने मैदान छाड़ेर भाग्दा हुन्छ। 25 वर्ष मुख्यमन्त्री पदमा बसेका व्यक्तिले विपक्षीको सामना गर्न सक्दैनन् भने सोझो मैदान छाड़ेर भागुन्। उनले हाम्रा युवा-चेलीहरूलाई जुन खुल्ला धम्की दिँदैछन्, त्यो धम्की हामी सहने छैनौं।”

एसकेएम अध्यक्ष गोलेले चामलिङ ‘हिसाब’-मा कमजोर रहेको पनि परोक्ष व्यङ्ग्य कसे। मुख्यमन्त्रीले हिजो एसडीएफसँग तीन लाख युवा छन् भनेका थिए। एकजना युवकका आमा-बाबा हुन्छन्। तपाईंहरू आफै हिसाब लगाउनुहोस्। सबै जोड़्दा कति हुन्छ, तर सिक्किमका मतदाता केवल 3 लाख 94 हजार 5 सय 32 छन्।

“यदि एसडीएफ पार्टीसँग तीन लाख युवा छन् भने तपाईं किन सुर्ताउनुहुन्छ। तपाईं सुर्ताउनुपर्दैन। तपाईंले भोट जितिहाल्नुभयो।  तर आज एसडीएफ पार्टीमा तीन लाख होइन तीन सय युवा पनि छैनन्”, एसकेएम अध्यक्षले थपे, “यसैकारण आज पवन चामलिङ फ्रस्टेटेड भइसकेका छन्। फ्रस्टेशनमा गएको मान्छेले जे पनि गर्न सक्छन्।  सिक्किमे जनता होशियार हुनुहोस्। पवन चामलिङ पूर्णरूपले डिस्प्रेशनमा गइसकेका छन्। अब  आफ्नो कुर्सी जाँदैछ भनेर उनले देखिसकेका छन्। अब सिक्किमे जनताले मलाई विदा दिँदैछन् भनेर देखिसकेका छन्। त्यसैले आज सिक्किमे युवाहरूलाई नानाभाँतीका गाली गर्दैछन्।”

एसकेएमले नभएर एसडीएफले राज्यमा गुण्डागर्दी गरिरहेको र एसडीएफको यस्तो गुण्डागर्दीसँग सिक्किमका जनता परिचित रहेको बताए। एसडीएफको गुण्डागर्दीलाई गोलेले मुख्यमन्त्रीले हिजो गेजिङमा दिएको भाषणसँग जोड़े।

गोलेले थप भने, “मुख्यमन्त्रीले खुल्ला रूपमा हिजो धम्की दिए। त्यस्तै हिजै नाम्चीका एकजना व्यापारी भाइ अशोक अगरवाललाई एसडीएफ पार्टीका दुई-चारजनाले प्राणघातक हमला गरे। आज पवन चामलिङले गुण्डागर्दी गर्न शुरु गरेका छन्।”

उनले भने, “हाम्रा कार्यकर्ताहरूमाथि कुनै प्रकारको आँच आए, हामी छोड्नेछैनौं। हामी गान्धीवादलाई मान्छौं। हामीले चाह्यौं भने हामी पनि गाली गर्नसक्छौं, तर हामी कसैलाई गाली गर्दैनौं। जुन प्रकारले पवन चामलिङले सिक्किमको राजनीतिलाई तल झारेका छन्, जुन प्रकारले सिक्किमको राजनीतिक स्तरलाई घटाएका छन्, त्यसरी हामी घटाउन चाहँदैनौं, किनभने हामी पढ़ेलेखेका मानिस हौं। हामी शिक्षित छौं।”

एसकेएमको यो अन्तिम चुनावी जनसभा हो। भोलिदेखि उता एसकेएमको जनसभाको कार्यक्रम छैन। आज जोरथाङबाट उनले आफ्ना कार्यकर्ताहरूलाई हातमा तीन दिन बाँकी रहेकोले अति ‘ओभरकन्फिडेन्ट’ नहुने सुझाए। यसअवधि उनले सबै उम्मेदवारलाई सतर्क बस्ने आह्वान गरे। “तपाईं कसै पनि ओभरकन्फिडेन्ट नभइदिनुहोला। हामी जितिहाल्छौं भनेर नसुतिदिनुहोला। किनभने यसपालि कसै गरी पनि हामीले एसडीएफको 25 वर्षे शासनलाई उखालेर फ्याँक्नुपर्छ”, गोलेले दृढ़ देखाए, “यसपालि जनतालाई न्याय दिने सरकार बनिनुपर्छ।” सरकार गठन भएपछि एसकेएमले सिक्किम र सिक्किमे जनताका लागि के-के काम गर्नेछ, त्यो पनि संक्षेपमा बुझाए।

बाक्लो सङ्ख्यामा भेला भएका कार्यकर्ताहरूलाई सम्बोधन गरिरहँदा उनी यसपालि एसकेएमको जीतप्रति विश्वस्त देखिएका थिए। र यो जीतलाई अझ सुनिश्चित गर्न सबैले खट्नुपर्ने आह्वान पनि गरे।

गोलेले भने, “हामी व्यवस्था परिवर्तनको सँघारमा छौं। यसपालि सरकार परिवर्तन हुन्छै हुन्छ।” गोलेले जनसभालाई सम्बोधन गरिरहेको बेला सिमसिम पानी परिरहेको थियो। “यो पानी सिक्किममा एसडीएफले आफ्नो 25 वर्षे तानाशाही शासनमा पारेको दूषित र अन्याय-अत्याचारबाट सिक्किमलाई शुद्धि पारेको सन्देश हो”, उनले थपे, “सिक्किम शुद्धीकरण आजदेखि हुँदैछ। त्यसैले अब हामीले सिक्किमलाई एसडीएफमुक्त पारेर सिक्किममा जनताको सरकार बनाउनुपर्छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here