मुख्यमन्त्रीको चियाकमान नखोल्ने निर्णय श्रमिकहरूको हितमाः डीटीडीपीएलयू

0
993

दार्जीलिङ, ७ अप्रेलः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अहिले नै चियाकमान खोल्न नहुने पक्षमा छिन्।

यस विषय लिएर उनले कलकत्तामा एक आधिकारिक बयान जारी गरी चियाकमान अहिले नै खोलिए समस्या अझ बढ़ेर जाने आशङ्का व्यक्त गरेकी छन्।

उनले कालेबुङमा कोरोना भाइरसको कारण एक महिलाको मृत्यु भएको र उनकै परिवारका अन्य १० जना कोरोना सङ्क्रमित रहेको बताउँदै यो सङ्क्रमण चियाकमानमा पनि फैलिए समस्या झनै बढ़ेर जाने पनि बताएकी छन्।

उनले भनिन्, “दार्जीलिङ, जलपाइगढ़ी जिल्लाका अधिकांश भाग नेपाल, बङ्ग्लादेश, भूटान, असम आदिको सीमासँग जोड़िएको छ, यसैले अहिले नै चियाकमान खोलिए समस्या अझ बढ़ेर जानसक्छ। यसैकारण चियाबगान खोल्ने विषय लिएर अझै विचार-विमर्श हुन आवश्यक छ।

राज्यकी मुख्यमन्त्रीले यस विषयमा जीटीए बीओएका अध्यक्ष अनित थापासँग पनि सम्पर्क गरेर थप निर्णय लिने पनि जनाएकी छन्।

स्मरणरहोस्,  केही दिनअघि मात्र केन्द्रिय गृह मन्त्रालयले चिया उद्योग खोल्ने निर्देश जारी गर्दै सामाजिक दूरी बनाइराख्न ५० प्रतिशत श्रमिकहरूलाई मात्रै काममा लगाउने पनि बताएको थियो। तर, केन्द्र सरकारको यस्तो निर्णय सार्वजनिक हुनसाथ पहाड़का सम्पूर्ण श्रमिक सङ्गठनहरूले विरोध जनाउन शुरु गरेका थिए।

गृहमन्त्रालयको चियाकमान खोल्ने निर्देशको विरोधमा रहेका श्रमिक सङ्गठनहरूले भनेका थिए, “कोरोना भाइरसको कारण देशमा हाल लकडाउन चलिरहेको छ। देशभरिकै जनतालाई आ-आफ्नो घरभित्रै बसेर कोरोनालाई हराउने अपील स्वयं केन्द्र सरकारले गरिरहेको छ, तर यस्तो अवस्थामा चियाबगानमा काम शुरु भए समस्या गतिलैसित अघि बढ़ेर जाने आशङ्का प्रबल छ।’’

श्रमिक सङ्गठनहरूका अनुसार चियाकमानमा एकैसाथ सयौंका सङ्ख्यामा श्रमिकहरू काम गर्छन्। एकसाथ बसेर मध्याह्नको खाजा खान्छन्। यसैले यस्तो अवस्थामा एकैजना पनि चियाश्रमिक कोरोना सङ्क्रमित छन् भने त्यसले कतिलाई प्रभावित बनाउँछ, त्यो अकल्पनीय हुनेछ।

यसैकारण पनि दार्जीलिङ पहाड़का श्रमिक सङ्गठनहरूले हाल चियाकमान नखोलिएकै राम्रो हो भनिरहेका छन्। किनभने, कोरोनाकै कारण कालेबुङनिवासी एक महिलाको मृत्यु भइसकेको छ भने सिलगढ़ीमा पनि एक व्यक्तिको ज्यान गइसकेको छ।

यसै सम्बन्धमा विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-का महासचिव भरत ठकुरीसँग जान्न चाहँदा उनले मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा अहिले नै चियाकमान नखोल्ने लिएको निर्णयको स्वागत जनाउँदै यो पूर्णरूपले चियाश्रमिकहरूको हितमा रहेको बताए।

उनले भने, “जबसम्म देशमा लकडाउन चल्नेछ, तबसम्म चियाबगान पनि बन्द नै रहनेछ। उसै पनि उत्तर बङ्गालमा हालसम्म कोरोना भाइरसको कारण दुई जनाको मृत्यु भइसकेको छ भने यसले अन्यलाई सङ्क्रमित नबनाओस् भन्ने हाम्रो चाहना छ।’’

यस विषय लिएर सङ्गठनका प्रतिनिधिहरूले हाल पहाड़का प्रत्येक चियाकमानको भ्रमण गर्दै जनतालाई बुझाउने कार्य गरिरहेको साथै थर्मल स्क्यानर पनि वितरण गरिरहेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here