कालेबुङ, ७ अप्रेलः दाजु-भाइको झगडामा दाजुले ज्यान गुमाएको घटना प्रकाशमा आएको छ।
यो घटना अलगढाको पैयुँ प्रधान गाउँमा भएको हो।
जानकारीका अनुसार ५ अप्रेलका साँझ ३७ वर्षीय दाजु राकेश प्रधान र ३२ वर्षीय कान्छा भाइ ओम कुमार प्रधान उर्फ विवेकबिच झगडा भएको थियो।
दाजुले घरको कुखुरा चोरेर बेचेका निहुँमा उनीहरू दुईबिच झगडा भएको बताइएको छ।
परिवारका सदस्यहरूका अनुसार झगडाका समय दुवै दाजु-भाइ मातेका थिए। झगडामा घाइते भएका दाजुको हिजो बुधवार बिहान मृत्यु भएको बताइएको छ।
परिवारका सदस्य र छिमेकीहरूले जानकारी गराएअनुसार यी दुई दाजु-भाइबिच प्रायःजस्तो झैझगडा भइरहन्थ्यो।
यसैबिच मृतकका माइला भाइ विशाल प्रधान र समाजले भने यसलाई हत्या बताएका छन्।
शवलाई हिजो कालेबुङ जिल्ला अस्पतालमा पोस्टमर्टम गरिएको थियो आज अन्तिम संस्कार गरिएको छ।
यसैबिच पुलिसले अनुसन्धानका लागि आरोपित भाइ ओम कुमार प्रधानलाई हिरासतमा लिएको छ।
यसबारे अलगढा पुलिस आउटपोस्टका प्रभारीसँग जान्न चाहँदा उनले यसलाई हत्या हो भनेर किटान गरी भन्न नसकिने तथा पोस्टमर्टम रिपोर्ट प्राप्त भएपछि मात्र थाह लाग्ने बताएका छन्। साथै उनले घटनाबारे परिवारका सबै सदस्यसँग केरकार गरिने कार्य भइरहेको पनि उनले जानकारी गराएका छन्।