शिक्षाको नाममा विनय तामाङ एन्ड टीम बर्बाद छ : बीपी बजगाइँ

0
1801
विमलपन्थी गोजमुमोका प्रवक्ता बीपी बजगाइँ।

दार्जीलिङ, 7 मई : राज्य सरकारले पहाड़मा ‘बाङ्ग्लार शिक्क्षा’-लाई स्लो पोइजनको रूपमा पहाड़का ससाना विद्यार्थी नानीहरूमाथि थोपिरहेको कुरालाई विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –का प्रवक्ता बीपी बजगाइँले उठाएका छन्।

पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले बाङ्ग्लार शिक्क्षा-को पहाड़निहित उद्देश्य र यसको प्रारम्भिक स्वरूपबारे खुलाए। यसअवधि विमलपन्थी गोजमुमोका प्रवक्ता बजगाइँले अहिले जीटीएको बोर्ड अव् एड्मिनिस्ट्रेशन (बीओए) चलाइरहेको र पहाड़को शासक दलको नेतृत्व रहेको दाबी गरिसकेका विनय तामाङ एन्ड टीम शिक्षाको नाममा पूर्ण रूपले बर्बाद रहेको आरोप लगाए। उनका अनुसार योभन्दा बर्बाद हुने अब कुनै ठाउँ छैन।

‘‘बङ्गालले हामीलाई जहाँ पुऱ्याउन चाहेको थियो, त्यो बाटोमा डोहोऱ्याउन चाहने उनीहरू (विनयपन्थी गोजमुमोकाहरू) नै हुन्’’, उनले थपे।

यसअवधि उनले पहिलो श्रेणीमा पढ़ाइने मेरो शिक्षा र चौथो श्रेणीमा पढ़ाउने ‘इन्भाइरोन्मेन्ट’ पुस्तकमा जबर्जस्ती लेखिएका बङ्ग्ला शब्द र बङ्ग्ला संस्कृति बुझाउने शब्दहरूको उदाहरण एकेक अघि राखेका थिए।

यसभन्दा अघि उनले शुरुमै पश्चिम बङ्गालको शिक्षासँग सरोकार राखेर हेर्नुपर्दा आफूलाई ‘बाङ्ग्लार शिक्क्षा’ शब्दमाथि आपत्ति रहेको खुलाए। ‘बाङ्ग्लार शिक्क्षा’ भनेर राज्यलाई प्रतिनिधित्व गर्ने हो भने पश्चिम बङ्गालको नाम ‘बङ्ग्लार’ स्वीकार नगर्ने बताए।

‘‘जसरी हाम्रो माटोलाई गोर्खाल्याण्ड भन्दा राज्य सरकारलाई आपत्ति हुन्छ उसरी नै उनीहरूले पश्चिम बङ्गाललाई बङ्ग्लार भन्दा मेरो पनि आपत्ति हुनेछ’’, उनले थपे, “गोर्खा रगत भएका यहाँका राजनीतिक नेताहरूले यदि बङ्ग्लार शब्दलाई रूचाउँछन् भने त्यो उनीहरूको मर्जी हो।”

22 मई, 2018-मा तीनदिने सीसीई इन्डस ट्रेनिङमा तत्कालीन जीटीए बीओए विनय तामाङको भनाइ ‘नेपाली भाषाका पाठ्यपुस्तक पहाड़मा छापिए भूल हुनेछैन’-लाई उद्धृत गर्दै उनले भने, ‘‘यसको अर्थ त्यस समय नेपाली भाषाका पाठ्यपुस्तकहरूमा प्रचुर मात्रामा बङ्ग्ला शब्द भएको या गल्ती नै गल्ती भएको हाम्रो शिक्षा समाजमा कुरा उठेको थियो। त्यो कुरालाई त्यसबेला विनय तामाङले जोड़ दिएको कुरा हो यो।’’

‘बङ्ग्ला शिक्क्षा’ भनेर राज्यले पहाड़का नानीहरूलाई जबर्जस्ती बङ्ग्ला भाषा सिक्न लगाइरहेको उनको दाबी छ। किनभने गोर्खा जातिले शिक्क्षा होइन शिक्षा भन्छ।

मेरो किताबको पृष्ठ 181 पल्टाउँदै उनले त्यहाँ उल्लेख ग्वाली माछा हाम्रा ससाना विद्यार्थी नानीहरूले नचिन्ने बताए। उनका अनुसार हाम्रा नानीहरूले असला, बुदुना माछाहरू चिन्छन्। “हामीले आफ्नै परिवेश सिकाउन पाएनौं भने बाहिरको परिवेश आयात गरेर दिएको शिक्षाले हाम्रा नानीहरूलाई लाभ पुऱ्याउँदैन’’, त्यसै पुस्तकको पृष्ठ 314 पल्टाउँदै उनले थपे, “नुरुदेखि नजरुल भन्ने नजरुल इस्लामको बारेमा लेखिएको छ। यो बङ्गालको शिक्षा हो। नुरुदेखि नजरुलसम्म पढ़ाउनु नै बाङ्ग्लार शिक्क्षा पढ़ाउनु हो। म चाहन्छु यहाँ पहाड़को शिक्षा हुनुपर्छ। गोर्खाको शिक्षा हुनुपर्छ। नेपाली भाषाको शिक्षा हुनुपर्छ। यो ठाउँमा त विष्णुकुमारीदेखि पारिजात हुनुपर्ने थियो। हाम्रा नानीहरूले पारिजात कहिले सिक्ने, अगमसिंह गिरी कहिले चिन्ने? हाम्रा नानीहरूले इन्द्रबहादुर राई कहिले पढ़्ने? हाम्रो आफ्नो भाषाका लेखकहरूको परिचय अहिले नगराएर कहिले गराउने।”

बजगाइँले ‘नुरुदेखि नजरुल’ भन्ने लेख बङ्ग्लाबाट अनुवाद गरेर नेपाली पाठ्यपुस्तकमा समावेश गरेको पुष्टि गर्न बङ्ग्लाको पाठ्यपुस्तकको 314 पृष्ठमा नै ‘नुरु थेके नजरुल’ पल्टाए। उनले भने, ‘‘बङ्गालले जुन शिक्षा, जुन संस्कृति र जुन प्रेरणा उनीहरूका नानीलाई दिइँदैछ, त्यै कुरा हुबहु अनुवाद गरेर हाम्रा ससाना नानीहरूलाई दिइँदैछ’’, मेरो कुराको विरोध गर्नेहरूलाई सोध्न चाहन्छु, यो किताब त बजगाइँले बोल्नभन्दा अघि नै छापिएको हो। मेरो विरोध गर्ने ती मुखहरूले यसको विरोध किन गरेनन्? यसको विरोधमा छिरिङ दाहाल किन बोलिनन्? पोखरेलहरू किन बोलेनन्?’’

आफ्नो तर्कलाई बलियोसँग राख्न उनले पुस्तकभित्र भएका बङ्ग्ला संस्कृति बुझाउने र नैतिक शिक्षाको उल्टो शिक्षा दिएका प्रसङ्गहरू पनि उप्काए। साथै चौथो श्रेणीको इन्भाइरोन्मेन्ट किताबमा शीर्षक नै बङ्ग्ला रहेको देखाए।

बजगाइँले 263 पृष्ठमा लेखिएको ‘एउटा दुम्सी चरा’ देखाए। ‘‘दुम्सी चरा हो? बङ्गालबाट यसरी सोझै अनुवाद गर्दा हुन्छ?’’, उनले प्रश्न गर्दै थपे, सायद छिरिङ दाहाललाई दुम्सी के हो त्यो थाहै छैन होला।’’

186 पृष्ठ देखाउँदै सांस्कृतिमाथि अतिक्रमण भएको उनले बताए। बजगाइँले भने, ‘‘त्यहाँ माछाको झोल खाएर अन्त्यमा मिठाई खाने संस्कार कहाँको हो? मलाई विरोध गर्ने केशवराज पोखरेलको हो कि कोलकाताको संस्कार हो? मैले अघिदेखि भन्दैछु, हाम्रा नानीहरूलाई उनीहरूको संस्कार, उनीहरूको संस्कृति, उनीहरूको भाषा पोइजनको रूपमा बिस्तारै ‘इन्जेक्ट’ गरिँदैछ।’’

त्यस्तै मेरो पुस्तकको पृष्ठ 218-मा ‘काठठोक्रा’ शब्द देखाए। लाहाँचेलाई बङ्ग्लाको काठठोक्रा लेखेको देखाए। उनले मेरो किताबको पृष्ठ 36 को गाउँले काका देखाए। बङ्ग्ला किताबको 36 मा पनि नक्सासहित त्यही कुरा नरहेको तर शीर्षक मात्र मुनिराम मुन्सी रहेको बताए।

मेरो किताबमा पृष्ठ 36 मा लेखिएको नाकले साग खान्छ, कुइनाले दिन्छ धाक, सिँड़ीमा खेल्छ, जति फन्को घुम्छौं, त्यति पुड़्को हुन्छौं भन्ने जस्ता शब्दमाथि आपत्ति जताए। नाकले साग कहिल्यै खान्छ? नाकले साग खाए के हुन्छ? के यो नैतिक शिक्षा हो? यो विज्ञान शिक्षा हो? नानीहरूलाई सिँड़ीमा खेल्न सिकाइँदैछ। कुइनाले हिर्काउन सिकाइँदैछ। के फनफनी घुम्दा कोही पुड़्को हुन्छ? नानीहरू फनफनी घुम्दा पुड़्को हुन्छ भनेर कुन साइन्सले भन्छ?’’, बजगाइँको प्रश्न थियो।

उनले चौथो श्रेणीका विद्यार्थीहरूले पढ़िरहेको इन्भाइरोन्मेन्ट किताबको पृष्ठ 9 –मा ‘काना माछी भोभो, जाके पाबो ताके छो’ देखाउँदै भने, ‘‘जाके पाबो ताके छो के यो नेपाली शब्द हो? यो हाम्रो भाषा हो? मैले हाम्रो भाषामाथि बङ्गालले अतिक्रमण गर्दैछ भनेका कुरा यीहरूबाट पुष्टि हुँदैन र?’’ उनले जीटीएको बीओए पहाड़को शिक्षालाई लिएर गम्भीर नरहेको पनि दाबी गरे। बजगाइँका अनुसार यदि जीटीएको बीओए पहाड़को शिक्षालाई लिएर गम्भीर हुँदो हो त यस्ता गल्तीहरू हुने नै थिएनन्।

उल्लेखनीय छ, केही दिनअघि उनले यसै कुरालाई उठाउँदै बङ्गालले पहाड़मा पुनः ‘बाङ्लार शिक्क्षा’-मार्फत् यहाँका शिक्षा र संस्कृतिमाथि अतिक्रमण गरिरहेको बताएका थिए। यद्यपि विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का नेतृत्वहरूले उनको आरोपलाई खारेज गरेपछि आफ्नो पक्षलाई तथ्यात्मक रूपमा राख्नका लागि उनले सोमबार प्रेस गिल्डमा पत्रकार सम्मेलन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here