सीता आचार्य
सिलगढ़ी, ७ मई : बेलाकोबा फरेस्ट रेञ्ज र उत्तर बङ्गाल टाक्स फोर्सका अधिकारीहरूले मङ्गलबार बिहानै मृत सालकसहित पाँचजना सिक्किमे युवकलाई पक्राउ गरेका छन्। उनीहरूलाई आज बिहान करिब ४ बजे राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने कालीझोड़ा नजिकबाट पक्राउ गरिएको हो। पक्रा पर्नेहरूमा अर्जुन राई, कमल सुन्दास, गोपाल दोर्जी, सन्तोष कुमार ब्याहुत र उमेश सुब्बा छन्। जानकारीका अनुसार रम्फू थानाअन्तर्गत पर्ने पाण्डाम निवासी अर्जुन राई सिभिल इन्जिनियरिङका विद्यार्थी हुन्। उनीहरूलाई वन्यप्राणी तस्करीनिरोधक कानूनअन्तर्गत पक्राउ गरिएको छ।
बेलाकोबा फरेस्टका रेञ्जर सञ्जय दत्तका अनुसार एक गोप्य सूचनाको आधारमा एक अभियान चलाएर कालीझोडा नजिक सिक्किमबाट आइरहेको डब्ल्यूबी ७४ एएम २६५३ नम्बरको वाहनलाई रोकेर तलाशी गर्दा रायो सागले भरिएको बोराभित्र उनीहरूले मृत सालक पाए। ती अधिकारीहरूले वाहनलाई पनि जफत गरेको छ।
दत्तले थप बताएअनुसार मृत सालकलाई भूटान पुर्याउने र पछि त्यहाँबाट चीन पठाउने यी वन्यप्राणी तस्करहरूको योजना थियो। यी तस्करहरूले सालकलाई सिक्किमकै जङ्गलमा मारेको पनि उनले बताएका छन्।
“पक्रा परेका युवकहरूमा सिभिल इन्जिनियरिङका विद्यार्थी, ठेकादार र व्यवसायी छन्। उनीहरू सबै सिक्किमका हुन् भने लामो समयदेखि वन्यप्राणीको तस्करी गर्दै आएका थिए”, दत्तले भने। उनका अनुसार पक्रा परेका तस्करहरूले धेरै अघिदेखि भूटान र चीनमा सालकको तस्करी गर्दै आएका थिए। यो तस्करीमा भूटान र चीनका तस्करीहरू पनि यो धन्धामा सामेल छन्। मृत सालकको ओजन साढ़े सात किलोग्राम छ।
उनका अनुसार यी तस्करहरूले मृत सालकलाई ४ लाख रुपियाँमा बेच्ने योजना बनाएका थिए। साथै सालकको मासु नामीदामी होटलहरूमा बिक्री गर्नेगरिन्छ, जहाँ सालकको मासु ७०,००० रुपियाँ प्रतिकेजीसम्मको दरमा बिक्री हुनेगर्छ। उनले तस्करहरूले सालकको ‘खपटा’-लाई कोड वार्डमा ‘सिक्का’ र यसलाई राम्रो मूल्यमा भूटान र नेपालतिर बिक्री गर्ने पनि बताए।
मृत सालकलाई पोस्टमर्टमका लागि जुलोजिकल सर्भेमा पठाइनेछ। अर्कोतिर नेशनल ज्योग्राफिकका अनुसार सालक विश्वमा नै सर्वाधिक तस्करी हुने स्तनपायी प्राणी हो। यसको औषधीय महत्त्व छ।