घर कुड्कीको युमोद्वारा भर्त्सना : प्रकाश गुरुङले भने- दार्जीलिङ पुलिसले कानूनको दुरुपयोग गरिरहेछ

0
2112
प्रकाश गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, 7 मई : मङ्गलबार पुलिसले नरेन्द्र काम्बाङ र भक्त खड़्काको घर कुड्की गरेको घटनाको विमल गुरुङपन्थी युवा मोर्चाले तीखो शब्दमा निन्दा गर्दै ‘कानूनको नाम गरेर कानूनलाई तृणमूल सरकारको गोजीको सम्पत्ति सरह दार्जीलिङ पुलिसले दुरुपयोग गरिरहेको आरोप लगाएको छ।

युमो अध्यक्ष प्रकाश गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, “अहिले पश्चिम बङ्गालको पुलिस प्रशासन आज जनताको भन्दा बेसी सत्ताधारी पार्टीको घोड़ा र पार्टी कार्यकर्ताहरूजस्तो भएर जनता सताउने अनैतिक क्रियाकलापमा संलग्न रहेको छ। राजनीतिक दल सत्तामा आउँछ-जान्छ। कुनै एउटा दल आजीवन सत्तामा बसिरहँदैन। तर जनता र जनताको हित र सुरक्षाका लागि गठन गरिएको सरकारी संस्था र यससँग सम्बन्धित व्यक्तिहरू आफ्नो कर्तव्यमा इमान भएर सधैँ लागिपर्नु पर्ने हो, तर लाजमर्दो कुरा यहाँ त सरकारी सिन्दुरले रङ्गिएका निधारहरू राजनेता र राजनीतिक पार्टीको द्वारपाल मात्र भएका छन्, जुन प्रजातान्त्रिक प्रणालीका लागि घातक हो।”

जनताले यस्तो दलाली संस्कारबाट स्वन्त्रता चाहेको पनि गुरुङले बताएका छन्। उनले केन्द्र सरकार र जनहिमा संलग्न संस्थाहरूलाई यस्तो गैरकानुनी र मानव अधिकारी हननको कार्यविरुद्ध समुचित पाइला चालिदिने अपील गर्दै बङ्गालको  पुलिस प्रशासनमाथि आफूहरूको भरोसा उठिसकेको पनि बताएका छन्।

उनले आज पुलिसले भक्त खड़्काका छोरा मञ्जिल खड़्काको  स्कूलको सर्टिफिकेटसमेत लगेको तथा नरेन्द्र काम्बाङकी 70 वर्षीय आमा जमुनी लिम्बू बिरामी रहेको अवस्थामा पनि घर कुड्की गरी अमानवीय कार्य गरेको बताएका छन्।

‘‘चुनाउको समय आचारसंहिता लागू भएको समय कानूनसम्मत कसैमाथि कारबाही गर्नसकिन्छ, तर के कानूनको नाम गरी घरका सम्पूर्ण परिवारलाई प्रताड़ित गर्ने छुट दार्जीलिङ पुलिसले कहाँबाट पायो?’’, उनले प्रश्न गरेका छन्, ‘‘कहिलेसम्म ममता सरकार र विनय-अनितको इशारामा आम जनतालाई पुलिस प्रशासनले सताउने?’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here