गजलडोबामा गौतम देवविरुद्ध ‘गो ब्याक’-को नारा

0
1206
गौतम देवविरुद्ध विरोध प्रदर्शन गर्दै स्थानीय कृषकहरू।

सिलगढ़ी, 7 जून : गजलडोबामा हेलिप्याडको निर्माणले आक्रोशित स्थानीय कृषकहरूले शुक्रवार अपराह्न राज्यका पर्यटनमन्त्री गौतम देवविरुद्ध चर्को नाराबाजी गरी आफ्नो विरोध जताए। यसअवधि उनीहरूले देवविरुद्ध ‘गो ब्याक’-को चर्को नारा पनि लगाए।

आज राज्यका पर्यटनमन्त्री हेलिप्याडको निर्माणकार्य र स्थानीय मानिसहरूको विरोध बुझ्नका लागि  गजलडोबा पुगेका थिए। यसअवधि भारतीय जनता पार्टी समर्थित ती कृषकहरूले देवलाई कालो झण्डा पनि देखाएका थिए।

उल्लेखनीय छ, गजलडोबामा महत्त्वपूर्ण पर्यटन योजना ‘भोरेर आलो’-मा हेलिप्याडको निर्माणकार्यले स्थानीय कृषकहरू आक्रोशित बनेका छन् भने उनीहरूले हेलिप्याड निर्माणकार्यको लगातार विरोध गरिरहेका छन्।

पर्यटन मन्त्री हेलिप्याड आज गजलडोबा पुग्नअघि नै सयौं कृषकहरूले हातमा प्लाकार्ड र कालो झण्डा लिएर बसेका थिए। मन्त्रीलाई देख्नेबितिक्कै उनीहरूले चर्को नाराबाजी शुरु गरे। साथै ‘गो ब्याक’-को नारासँगै देवलाई उनीहरूले कालो झण्डा देखाए। यसैबीच जसोतसो केही कृषकहरूसँग कुराकानी गरी मन्त्री गौतम देवले उनीहरूको गुनासो सुने। अर्कोतिर जलपाइगढ़ी जिल्ला महिला मोर्चाकी अध्यक्ष माया रानी दासले भनिन्, “हामी एक इञ्च जमिन पनि यो योजनाका लागि दिनेछैनौं। जमिनको पर्जापट्टा दिइसकेपछि कसरी हाम्रो जमिन सरकारले यसरी बलपूर्वक अधिग्रहण गर्नसक्छ।” सरकारले जमिनको क्षतिपूर्ति दिएको खण्डमा पनि हेलिप्याड निर्माण योजनाका लागि एक इञ्च जमिन नदिने उनले स्पष्ट बताइन्। दासका अनुसार सन् 1997 सालमा नै कृषकहरूलाई जमिनको पर्जापट्टा सरकारले दिएको हो। यसपछि लामो समयदेखि स्थानीय कृषकहरूले उक्त जमिनमा धान, सब्जी अन्य खेती गर्दै आइरहेका छन्।

उल्लेखनीय छ, जलपाइगढ़ी जिल्लाअन्तर्गत राजगञ्ज खण्डको गजलगोबामा रहेको ‘भोरेर आलो’ राज्य सरकारको एक महत्त्वपूर्ण र ठूलो पर्यटन योजना हो। केही दिनअघि यहाँ हेलिप्याडको निर्माणकार्य शुरु गर्न खोजेलगत्तै स्थानीय कृषकहरू अघि आई लगातार यो योजनाको विरोध शुरु गरेका छन्।

यसैबीच, भाजपासमर्थित  किसान मोर्चा जलपाइगढ़ी जिल्लाका अध्यक्ष नबेन्दु सरकारले उनीहरूले पर्जापट्टा रहेको कृषकहरूको जमिनमा हेलिप्याड बनाउन नदिने दोहोर्‍याएका छन्। यदि सरकारले हेलिप्याड बनाउन जबर्जस्ती गरेमा आन्दोलन गर्ने चेताउनी दिए।

अर्कोतिर गजलडोबा पर्यटन केन्द्रमाथि बोल्दै  मन्त्री गौतम देवले भने, “कृषकहरूप्रति मेरो सहानुभूति छ। पर्जापट्टा भएका कृषकहरूबाट सरकारले एक सूत जमिन पनि लिनेछैन।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here