-कविता लामा
मेरो बाल्यकाल चियाकमानमा खेलेर बितेको हो। बालखेलहरूमध्ये मलाई कमानमा खेल्न औधी मन पर्थ्यो। त्यो खेल्ने समय ठण्डा महिनाको छुट्टी हुँदा मात्र पाइन्थ्यो। दुई महिना पुरै साथीहरूसित धुस्रो मुस्रो अनुहार लिएर कमानमा खेलेको समय सुनौलो क्षण थियो। कलम काटेका नाङ्गो चिया बोटमा ढल्किएर सुत्दा, तिखो कलमले घोचेको, ढाड़मा बिझाएको, हात र खुट्टामा घोचेर दुखेको, रगत आएको र त्यसले खोस्रिएका किरिङमिरिङ रेखाको दृश्य र अनुभूति जीवन्त छ मभित्र आज पनि।
झिक्रा खोज्नु, दुपट्टा वा मफलरलाई नाम्लो बनाएर झिक्राको भारी बोक्नु, केशमा झिक्राका साना साना टुक्रा अल्झिएर रहनु, शरीरबाट झिक्राको काँचो गन्ध र झिक्रा बालेर तापेको धुवाँको गन्धसित घर जानु र त्यो गन्धसितै ओछ्यान पस्नु, र त्यत्तिकै निदाउनु। यी सब बाल लीलासित रमाएर हुर्किएकी म आफैलाई अहिले पनि राम्ररी सुँघे त्यो गन्ध मेरो शरीर र मनमा गाड़िएर बसेको छ जस्तो लाग्छ।
इस्कुसको लहरा तानेर बाहिर फ्याँकेको धुवाँको गन्धले पनि मलाई असीम आनन्द दिएको छ। साँच्चिकै सिगरेट किन्ने पैसा हुँदैन्थ्यो र इस्कुसको लहराले काम चलाइन्थ्यो। उद्देश्य धुवाँ तान्न र फ्याँक्नसित मात्र थियो। मजा त्यसैमा थियो। शुरू शुरूमा तान्न नजान्दा सर्किएर नाकबाट, आँखाबाट पानी आउँथ्यो। पछि बानी भएपछि मुखबाट गोलो गोलो आकारमा धुवाँ फ्याँक्न साथी भाइमा हाना थाप हुन्थ्यो। नाकबाट धुवाँ फ्याँक्नेलाई ग्रुपमा भयङ्कर मानिन्थ्यो।
बदमासी गर्ने पनि एउटा उमेर हुँदो रहेछ। त्यस उमेरले दिएको खुसी र आनन्दको क्षण म जीवनभर भुल्न सक्तिनँ। सिगरेट तान्नलाई पनि कमान हाम्रो निम्ति सुरक्षित ठाउँ थियो। लहराको च्याप्टो सिगरेट तान्न हामी साथीहरू दिनमा एकपल्ट कमान पुग्ने गर्थ्यौँ। तलतल भनेको त्यस्तो हुँदो रहेछ। अनेक बाधा र बन्धनले पनि छेक्न नसक्ने। तर यस कुलतलाई पछि गएर हामी कसैले पनि निरन्तरता दिएनौँ। त्यो एउटा बदमाश गर्ने उमेरभरिको मात्र तलतल थिएछ।
कमानको बीचमा अवस्थित तीनवटा चुच्चो भएको कालो ठूलो ढुङ्गा थियो, अहिले पनि छ। हामी तीन ढुङ्गे भन्थ्यौँ। यो ठाउँ हाम्रो आकर्षणको केन्द्र थियो। त्यसैको ठीक अघि सानो कच्चा बाटो भएर तल गाउँका मानिसहरू ओहोर दोहोर गर्थे। खर्साङ बजार जाने बाटो थियो उनीहरूको यो। त्यो चुच्चे ढुङ्गा चढ्न गाह्रो थिएन, त्यसको होचो उचाइँमा पालैपालो चढ्दै झर्दै गर्नु पनि हाम्रो निम्ति एउटा रमाइलो खेलै थियो। त्यही चुच्चे ढङ्गाको पछिल्लोपट्टि लुकेर ढ्याङ ढ्याङे, बचायो खेल्न हामीलाई मज्जा आउँथ्यो।
अर्को मज्जाको कुरो के थियो भने खर्साङभरिका मानिसहरूले त्यागेको मल मूत्र जम्मा हुने सिमेन्टेट ठूलो अग्लो सेप्टे ट्याङ्कमाथि दिनभरि खेलेर समय बिताइन्थ्यो। त्यस ट्याङ्कमाथि चढ्न एकजनाले माथिबाट तान्ने र अर्कोले तलबाट बोकेर ठेले सजिलो हुन्थ्यो। कहिलेकाहीँ लुते साथीहरू परे हात फुस्किएर लड्न बेर लाग्दैन थियो। त्यसै त यो ट्याङ्की खेल्नलाई हाम्रो निम्ति स्वस्थ ठाउँ थिएन तर हामी नघिनाइ खेल्ने गर्थ्यौँ। ट्याङ्कबाट निस्किएको ग्यासको दुर्गन्धतिर हाम्रो घ्राणेन्द्रियले कहिल्यै ध्यान दिएन। हाम्रो बालखेल त्यस दुर्गन्धले कहिल्यै प्रभावित बनेन। कसरी होला? आज सम्झँदा छक्कै पर्छु।
अर्को छक्क पर्ने कुरा के हो भने चियाका बोटहरूको बिचैमा एउटा सानो चिहानघारी थियो। केही पुराना र केही नयाँ देखिने सेता कपुरलाई पनि हामीले खेल्ने ठाउँ बनायौँ। कहिले त भर्खरै खडाल खनेर लास पुरेको रातो माटोमाथि मृत आत्मालाई चढ़ाइएका धुप अनि विभिन्न फुल माला पनि देख्थ्यौँ। तर लास देखेर वा सम्झेर हामी कहिल्यै डराएनौँ। साँझसम्म पनि त्यहीँ वरिपरि खेलिरहने हामीलाई भूत कहिल्यै लागेन। कहाँबाट आएको होला त्यस्तो आँट? जति ठूलो हुँदै गयौँ, बुद्धि छिप्पिँदै गयो उति डरछेरुवा र काफरे भएछौँ हामी।
यस चियाकमानले हाम्रो बाल्यकाललाई रमाइलो, मनोरञ्जनात्मक र अविस्मरणीय बनाउनमा कुनै कसर बाँकी छोडेको छैन। ८६-को आन्दोलनमा यस कमानले निर्वाह गरेको भूमिकाको इतिहास बेग्लै छ। यो अलिखित इतिहास नै सही तर हाम्रो गाउँले त्यस आपतकालीन समयमा यस कमानले दिएको साथ र सहयोगलाई कहिल्यै बिर्सने छैन। त्यस समय हाम्रा निर्दोष दाजु भाइलाई सीआएपीएफले खेदेर गाउँ गाउँ, घर घर पसेर पक्रन आउँदा यही कमानमा रातभरि लुकेर वा यही बाटो भागेर उनीहरूले आफ्नो ज्यान जोगाए। धेरै घर परिवारका बाउ, लोग्ने र छोराहरू सीआरपीएफको क्रूरताबाट बाँचेर फर्कन सफल भएका छन्। तसर्थ हाम्रो गाउँलाई यस कमानले तिर्नै नसक्ने गुण लगाएको छ।
खर्साङ, मन्टिभियट रोड धेरै फैलिएको ठाउँ हो। यही रोडको म गन्तिटार गाउँमा बस्छु। यो गाउँ बजार क्षेत्रमा पर्छ। म यही बजारे परिवेशमा जन्मिएर हुर्किएकी छोरी हुँ। मेरो घर जति बजारको नजिक छ कमानको नजिक पनि त्यतिकै छ। मेरो गाउँ यस्तो ठाउँमा अवस्थित छ, जसका छेउछाउ र केही पर परसम्म आँखाले देख्न सकिने विभिन्न कमानमा करबीर कमान, चार नम्बर, छोटा सिबरिङ, सिङ्गेल कमान, वाटिङ कमान आदि छन् भने तल देखिने अम्बोटे कमान र मकैबारी कमान छन्।
हाम्रो गाउँको नजिकमा पर्ने करबीर कमान हो। यो कमान र हाम्रो गाउँलाई जोड्ने बीचमा एउटा लामो सड़क छ। अहिले खर्साङ टुरिस्ट लजदेखि ओरालो सिलगढ़ी जाँदा सीधै पर फाटक निस्कने सडक यही हो। यसलाई अहिले पनि पुराना मानिसहरू नयाँ सड़क भन्छन्।
नयाँ पिँढ़ीले यसलाई “लभर्स रोड” नाम दिएको छ। यस सड़कको मास्तिर दार्जीलिङ पोलिटेक्निक कलेज अवस्थित छ। अहिले हाम्रो उमेरका केटाकेटीहरू यहाँ कमान खेल्न होइन प्रेमी-प्रेमिकाको जोड़ी भएर आउँछन्। फरक के छ भने हामी कमानलाई आफ्नो सम्पत्ति ठानेर प्रेम गर्थ्यौँ। अचेलका नानीहरू कमानको महत्त्व बुझेर त्यसरी प्रेम गर्दैनन्। जे होस्, कमान जुनै रूपमा भए पनि मान्छेको सेवा गर्न सधैँ तत्पर रहेको देखिन्छ। जुन कमानमा खेलेर मेरो बाल्यकाल बित्यो, अहिले त्यो कमान बेस्याहार र उजाड़ भएको छ। मान्छेले आफ्नो घर बनाउन, जग्गा जमिनको खाँचोमा कमानलाई नै अतिक्रमण गर्न पुगेको उदाहरण हामीसित धेरै छन्।
सानैदेखि कमानसित मेरो गहिरो सम्बन्ध रहेको छ। आप्पा र आमा दुवैका मूल थलो कमान हो। आप्पा लेजीपुर कमानका हुन् भने आमाको माइत डुवर्स दुम्सीपाडा हो। दुवै चियाबारी परिवेशमा हुर्किएका हुन्। आमाका शाखा सन्तानहरू डुवर्स दुम्सीपाडादेखि खर्साङ बालासन नेहुर कमान र तकदाह कमानसम्म फैलिएर बसेका छन्।
आप्पा स्कुल पढ्नलाई लेजीपुरबाट खर्साङ बजार आए। उनी सानै हुँदा आक्खे बित्नु भएको रे, त्यसैले आप्पाले पछिबाट मेरी माम (आप्पाकी आमा)-लाई पनि बजार ल्याए। बजारको सुख सुविधाको बानी बसेपछि माम र आप्पा फर्केर लेजीपुर गएनन्। खर्साङमा नै स्थायी रूपले बसोबासो गर्न थाले। आप्पाले आमालाई बिहे गरेर खर्साङमै ल्याए। दुईजनाको वैवाहिक जीवन यसै ठाउँबाट शुरू भयो।
संयोग कस्तो हो भने आप्पाजस्तै आमा एक्लो सन्तान हुन्। आप्पाका साख्खे दाजु भाइ, दिदी बहिनी कोही छैनन्। आमा त झन् सानैमा टुहुरी भएकी कुरा हामीसित अहिले पनि गर्छिन्। आमाको आप्पा आक्खे २८ वर्षको झर्झराउँदो तन्देरी हुँदा बित्नु भएको रे। मामको निधन भएको त मेरी आमालाई थाहै छैन। आफ्नी आमाको माया ममताबाट बञ्चित मेरी आमाको बाल्यकाल निकै कठिन परिस्थितिलाई झेलेर बितेको कुरा समय समयमा हामी दुई छोरीलाई सुनाउँछिन्। बढ़ी आमाको छत्रछायाँमा हुर्किएकी मेरी आमालाई आफ्नो आमाको माया कस्तो हुन्छ, त्यो पनि थाहा छैन।
एक्लो छोरो आप्पाको सन्तान भनेको नै लेजीपुर कमानका आबेन थिए। उनी पनि साक्खे दाजु नभएर आप्पाको आबेन (बड़ाबाउ)-को छोरा जसलाई आप्पाले आफ्नो ज्योज्यो मान्थे। उनको नाम गङ्गा बल हो भनेर हामीलाई धेरै पछि मात्र थाहा भएको हो। आप्पाजस्तै आबेन सोझो मान्छे थिए। बेला बेलामा उनलाई भेट्न आप्पा लेजीपुर जानु हुँदा हामी परिवार नै साथमा जान्थ्यौँ। कहिलेकाहीँ लामो छुट्टी हुँदा हामी आमासित दुम्सीपाडा पनि जान्थ्यौँ।
सानो हुँदा हामी घुम्न गएका ठाउँ भनेको नै आबेनको घर लेजीपुर र मामाको घर दुम्सीपाडा थिए। त्यसैले चियाबारी जीवनलाई मैले धेरै नजिकबाट देखेकी छु। म चियाबारीलाई धेरै माया गर्ने छोरी पनि हुँ।
सिबिटार लेजीपुरको अर्को नाम हो। पुरानो मान्छेले पुरानै नामले चिन्छन्। यो कमान खर्साङ महानदीदेखि निकै तल हिँड़ेर जानु पर्छ। अहिलेसम्म त पक्का सड़क बनिसकेको छ। तर, त्यस समय हामी कच्चा बाटो हिँड़ेर लेजीपुर पुग्थ्यौँ। महानदीसम्म गाड़ीमा त्यसपछि शुरू हुन्थ्यो पैदल यात्रा एक डेढ़ घण्टाको। रातो माटो र सुक्खा धुलो भएको बाटो थियो। बर्खाझरीमा यो बाटो हिँड्न निकै हम्मे हम्मे पर्थ्यौ। पानीले भिजेको माटोमा हिँड्दा चिप्लिने र लड्ने डर त छँदै थियो। लडियो होला कतिचोटि त्यस बाटोमा तर आफ्ना सन्तानहरू भेट्ने उत्साह र खुशीले चोटहरू सहने बानी पनि बसेको थियो। हामी त कहिलेकाहीँ यसरी लड्थ्यौँ, हिँड्दा दुःख पाउँथ्यौँ तर हाम्रा सन्तानहरूको निम्ति यस्तो भोगाइ दैनिकी बनिसकेको थियो।
सानो किरायाको घरमा बस्दा बस्दा, 10 नम्बर गाउँमा आबेनको फराकिलो घरमा पुग्नुको अनुभूति सुखद थियो। कमेरो माटोले लिपेको चिटिक्क र सफा घरको आँगन ठूलो थियो। केटाकेटीलाई खेल्ने जग्गा खुल्ला। डिल मुन्तिर ठुलो बारीमा साग सब्जी फलेका। घरअघि ढकमक्क फूलहरू फुलेका। प्रकृतिको सुन्दरता यसैलाई भनिन्छ, ठान्थेँ।
भान्साघरमा दाउराको चुल्हा, धुवाँले रुमलिरहेको कोठा, धिब्रीको हल्का उज्यालो, बलिरहेको चुल्हामाथि भार, भारमा चिरेका दाउरा, मासुका लुङहरू सुकाइएका, मकैको झुत्ता सबैमा आफ्नोपनको स्वाद पाउँथेँ। आबेन-आमेन दुवै कमान जान्थे। आप्पा र आबेन दुईजना दाजु-भाइ एकै आँतका साथीहरूझैँ बात गर्थे। झट्ट हेर्दा दाजु भाइभन्दा कसैले नपत्याउने। आप्पा गोरे आबेन काले, आप्पा पुड्के आबेन अग्ले, आप्पा चिम्चे आबेनको आँखा ठूल्ठूला, आप्पा बिस्तारो र कम्ती बोल्थे, आबेन ठुलो स्वरमा बेस्सरी बोल्थे। दाजु भाइको फरक रूप, फरक रङ्ग, फरक स्वभाव भए पनि असीम प्रेम र तँ तँको सम्बोधनले दुवैलाई एकअर्कामा रगतको साइनोले कसिलो बाँधेको थियो।
आमेनले दाउराको चुल्हामा घरको कुखुराको मासु पकाएर दिएको स्वाद कहाँ पाउनु अहिले? गिलो भात, बाक्लो कालो दालमा दाउराको धुवाँको गन्ध, काँसको थालमा खानु, भुटेको मकै, घरको गाईको दूध, मही, दही, घिउ, आह! चियाबारी जीवन खाँटी जैविक थिएछ, सम्झन्छु आज। आधा रातमा उठेर आबेन र आमेन ठूलो ठूलो स्वरमा बात गर्न मात्र होइन सिल्भरको बटुकामा सुरुप सुरुप आवाज निकालेर, बिच बिचमा आ…हा.. आ…हा भन्दै चियाको चुस्की लिन्थे।
त्यो आवाज हामी सुतेकै ठाउँमा आएर ठोकिन्थ्यो। यस प्रकारका छुट्टै शैली देखेर मलाई खुबै आनन्द लाग्थ्यो। आबेनको ठूलो परिवारमा पाँचजना छोरा-छोरीमा जेठो छोराको नाम बर्थडे, माइलाको मानसिंह, छोरीहरूमा कविता, जेरी र सुन्तली नाना थिए। हामी लेजीपुर झर्दा सधैँ आबेनलाई बन, तोस्तरोटी कोसेली लाने गर्थ्यौँ। फर्कन्दा आमेनले झोलाभरि इस्कुस, सागको बिटो, र हाते चियापत्ती हालेर पठाउँथिन्।
लेजीपुर भनेको मेरो निम्ति आबेनको घर मात्र होइन तर आफ्नै बारीमा फलेका ताजा सुन्तला रुखबाटै टिपेर खानु, भर्खरै खनेर ल्याएका ताजा सकर खण्डा, घर तरुल, सिमल तरुल, इस्कुसको जरा झोलाभरि बोकर घर ल्याउन पाउनु, सित्तैमा कुचोको बिटो, टुटुलाको फूल उपहार पाउनु, सम्पूर्ण खुसीको पुञ्ज थियो।
आप्पा र आबेनको गफ पनि यो वर्ष बारीमा फसल कस्तो भयो। त्यसले कतिको आर्थिक फाइदा भयो। यस वर्ष पत्तीले मालिकलाई कति फाइदा दिन्छ, यी विषयहरू सामेल हुन्थे। आबेन यो संसारमा रहुञ्जेल हाम्रो घरमा आइरहन्थे। केही दिन बसेर जान्थे तर उनी बितेर गएपछि यो क्रम बिस्तारै सुस्त हुँदै गयो। केही वर्षपछि आप्पाले पनि हामीलाई यस संसारमा एक्लो छोड़ेर गएपछि अब हाम्रो र आबेनको परिवारमा आउजाउ ठप्प भएको स्थिति छ।
आबेनको घरको ठीक तलपट्टि आप्पाकी आङी मास्टरनी मामको अर्को सुन्दर घर थियो। म्हेम्हेको नाम मैतसिंह मोक्तान र मामको नाम उर्गेन डोल्मा तामाङ थियो। आक्खे मास्टरी काम गर्थे र हेर्नमा पनि कस्तो सुन्दर थिए। म उनलाई ह्यान्टसम म्हेम्हे भनेर बोलाउँथेँ। माम पनि उत्तिकै सुन्दरी थिइन्। ६ जना छोराछोरीका आमा उमेर लगभग ७० वर्ष पुगेको हुनुपर्छ त्यो उमेरमा पनि माम बारीको सबै काम गर्थिन्। ठमठम थिइन्।
होचो उचाइँकी पातली मेरी माम असाध्यै मायालु थिइन्। टाउकोबाट सर्लक्क बर्को झारेर ओढ्थिन्। छिटको मसिनो फुल भएको पुरा बाउलाको ब्लाउजमा अघिपट्टि दुईटा गोजी हुन्थ्यो ठूलो ठूलो। त्यो गोजीमा मामले सधैँ कटुवाको सामग्री बोक्थिन्। तलतल लाग्यो कि सानो सानो काटेर राखेको कागजमा थुक लगाएर कटुवा बेह्रेर सर सर तान्थिन्। त्यो धुवाँको गन्ध मलाई सुँघ्न मन पर्थ्यौ। सुनको बुलाकी लगाएकी मेरी मामले सिल्भरको बटुकामा चिया खाँदा हातको चोर औँलाको बुलाकी अलिक माथि उठाएर सुरुप्प खाँन्थिन्।
त्यो दृश्य म हेरिरहन्थेँ। मेरी नाना अमिता आप्पाकी आमा मामको न्यानो काख, माया र आशीर्वाद प्राप्त गर्ने एकजना भाग्यमानी नातिनी हुन्, मेरो मान्यता त्यो छ। मैले आफ्नो माम भेट्ने र उनको काखमा लुटुपुटु हुने सौभाग्य पाइनँ। तर, मास्टरनी मामले त्यो माया मलाई दिइन्। मलाई छेउमा राखेर दसपल्ट हातले मेरो अनुहार मुसारी रहन्थिन् भने मैले पनि मामको च्याउरी परेको कोमल गाला मुसारी रहथेँ। माम मरिमरि हाँस्थिन्, तर झिँझो मानेको देखिनँ। मास्टरनी माम नै मेरी प्रिय माम थिइन्। लेजीपुरमा मैले धेर समय मास्टरनी मामसँग बिताउँथेँ। मामका छोरीहरू माइली, अरुणा र मोना नानाहरूमा मलाई सबैभन्दा धेर मोना आसुले माया गर्थिन्। छोराहरूमा दावा, तेजमान र प्रेम कुमार आगुहरूमा कलकत्ता पुलिस विभागमा काम गर्ने कान्छा आगु हामीसित निकै नजिक हुनुहुन्छ।
हालैमा उनी पनि हामीसित सम्पर्कमा नआएको धेरै वर्ष भयो। मामकै घरको बारीमा मैले पहिलोपल्ट अन्डा जस्तै सेतो बैगुन फलेको देखेकी हुँ। लेजीपुर गरम ठाउँ हो। घरअघि सानो काठको निलो रङ्गको रेलिङ् लगाएको, बाहिर बरन्डामा नै काठको लामो लामो बेञ्ची राखिएको थियो। गरमले हामी प्रायः बाहिर बसेर बात गर्थ्यौँ। भित्तामा एक दुईटा फोटा फ्रेमहरू, अनुहार हेर्ने ऐना र त्यसको पछिपट्टि काङ्ग्यो राखिएको हुन्थ्यो। यी दृश्यहरू अहिले मेरो आँखामा झल्झली आइरहेको छ।
भनिन्छ, विश्व नै गाउँ हो। आज भौगोलिक रूपले केही पनि टाढ़ा छैनन्। तर, मनहरू टाढ़िएर गएपछि सन्तानहरू पुनः सम्पर्कमा नआउँदो रहेछन्। आबेनका छोराहरूमा बर्थडे ज्योज्यो आज यस संसारमा छैनन् तर मानसिंह ज्योज्यो पनि हामीलाई सम्झेर भेट्न कहिल्यै आउँदैनन्। बर्थडे ज्योज्योका दुईजना छोरा गौतम र सुगम अनि चारजना छोरीमा पुतली, सुजा, मुन्नु र पुजा कोहीसित पनि हाम्रो सम्पर्क छैन। नानाहरू सबैको बिहे भएर आआफ्नै घर संसारमा व्यस्त छन्।
म आफै पनि आफ्नो पुर्खौली थलो लेजीपुर नगएकी एक युग भइसक्यो। हामी सन्तानहरूमा यो ओहोरदोहोर टुटेको पनि धेरै वर्ष भएछ। मेरा सन्तानहरू यति धेर टाढ़िएर गए अब उनीहरू कसैले पनि मलाई चिन्दैनन् न त म कसैको छोराछोरी, नाति नातिनी चिन्छुँ। अब त भेट्यौँ भने पनि एकाअर्कासित अपरिचित बन्ने रहेछौँ। आबेन र आप्पा जीवित रहुञ्जेल हामी केहीहरू केही समयलाई आउजाउ गरिरह्यौँ तर समय बित्दै जाँदा यो क्रम घट्दै गयो।
आज हामी दुई दाजु-भाइका सन्तानहरूमा न सम्पर्क छ न सम्बन्ध छ। बाँचेका छौँ केवल पुर्खाका माया, सम्झना र आशीर्वाद साथ लिएर।
(सिक्किम विश्वविद्यालय)
प्रिय बहिनी डा.कविता लामाको यस संस्मरणात्मक लेख पढेर आनन्द लाग्यो। आफू खर्साङ निवासी हुनाले प्रस्तुत लेखमा वर्णन गरिएको कमान देखेको, त्यसैको छेऊ भएर धेरै पल्ट हिँडेँकी हुनाले बिगत झलझ्ल्ती फेरी देहोरियो। धन्यवाद छ ..लेखिकालाई।
आहा! कति मीठो स्मृतिअंश लेखिछ्यौ कविता बहिनी ! धन्न लकडाउन भयो है ! नेपाली साहित्यले कविताका कलमका विविध झाँकिहरू पाउँदै छ ।
कविता लामालाई समालोचकमात्र मान्नेहरूका अघि कविताका साहित्यका विविध आयामहरू देखिइनु नै विशेषता भएको छ । आगामी दिनमा कविता बहिनीका कलमले समालोचनाका साथै यसरी नै मौलिक सृजनशीलताको धर्मसमेत अवीरल निर्वाह गरिरहोस् । प्रिय कवितालाई धन्यवाद, बधाई र शुभकामना दिन चाहान्छु ।