कालेबुङमा थप एकजना कोरोना सङ्क्रमित

0
1024

कालेबुङ, ७ जूनः कालेबुङ जिल्लामा कोरोना सङ्क्रमणको थप एउटा मामिला थपिएको छ। यसका साथै जिल्लामा कोरोना सङ्क्रमित कुल सङ्ख्या ५ पुगेको छ।

जानकारीका अनुसार गोरुबथान खण्डको कुमाइ ग्राम पञ्चायत क्षेत्रका एक युवकको शरीरमा पनि कोरोना सङ्क्रमण पाइएको छ। जिल्लाशासक आर विमलाले यसको पुष्टि गरेकी छन्।

प्राप्त जानकारीका अनुसार बेङ्ग्लुरुबाट फर्केका यी ३० वर्षीय युवकलाई ७ दिनसम्म गोरुबथानस्थित क्वारेन्टिन सेन्टरमा राखेर त्यसपछि होम क्वारेन्टिनमा पठाइएको थियो। उनको टेस्ट रिपोर्ट आज पोजिटिभ आएको हो।

जिल्लाशासकका अनुसार कोरोना सङ्क्रमित पाइएका युवकलाई  उपचारका लागि सिलगढ़ी मतिगढ़ास्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा पठाइएको छ।

जानकारीका अनुसार गोरुबथान क्वारेन्टिन सेन्टरबाट होम क्वारेन्टिनमा पठाइएपछि घर परिवार सचेत रहेका कारण उनलाई अलग्गै बस्ने व्यवस्था गरिएको थियो। यद्यपि एकै घरमा रहेका कारण घरका अन्य सदस्यहरूका पनि स्वाबको नमूना सङ्ग्रह गरी टेस्टका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको छ।

उल्लेखनीय छ, यसभन्दा अघि कालेबुङ खण्ड एकस्थित निम्बोङ र समथारका एक-एक गरी दुई वृद्धा महिला तथा १० माइल र १६ माइलका दुई सिभिक पुलिस गरी कुल चारजना कोरोना सङ्क्रमित पाइएको छ।

उनीहरू चारैजनाको उपचार अहिले डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा चलिरहेको छ।

यसैले आज थप पुनः एक मामिला थपिएपछि कालेबुङ जिल्लामा कोरोना सङ्क्रमित कुल सङ्ख्या ५ पुगेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here