दार्जीलिङ, ७ जूनः कोरोना भाइरसका कारण देशमा जारी लकडाउनका कारण बेङ्ग्लुरुमा फँसेका दार्जीलिङ, कालेबुङ र तराई डुवर्सका मानिसहरूलाई घर फर्काउने कार्य जारी छ।
यस कार्यमा त्यहाँका जनशक्ति फाउन्डेशनलगायत नेप इन्डिया फाउन्डेशन, सचेत भारतीय गोर्खा समाज र अम्बेडकर गोर्खा समाजले लगातार सहयोगको कार्य गर्दै आइरहेको छ।
यो कार्यदेखि केही दिनयता गति लिएको छ। हिजै मात्र बेङ्ग्लुरुबाट करिब सात सय मानिस आ-आफ्ना घर फर्केका थिए, जसमा दार्जीलिङ, कालेबुङ र तराई डुवर्सका मानिसहरू बाक्लो सङ्ख्या थिए।
‘’आज पनि बेङ्ग्लुरुबाट एनजेपीसम्मका लागि एक श्रमिक स्पेशल ट्रेन प्रस्थान गरेको छ, जसमा करिब ४ सय हाम्रा मानिस छन्’, जनशक्ति फाउन्डेशनकी नारी अध्यक्ष लक्ष्मी घिसिङले थपिन्, ‘राति ११ बजेपनि एउटा ट्रेन एनजेपीसम्म जानेछ, उक्त ट्रेनमा पनि करिब चार सय जति हाम्रा मानिस रहनेछन्।’
उल्लेखनीय छ कोरोना कहरका कारण बेङ्ग्लुरुमा समस्या भोगिरहेका दार्जीलिङ, कालेबुङलगायत तराई-डुवर्सका मानिसहरूलाई सहयोग गर्न त्यहाँका सङ्गठनहरूले निरन्तर कार्य गरिरहेका छन्।
लक्ष्मी घिसिङका अनुसार जनशक्ति फाउन्डेशनले सांसद राजु बिष्टसँग समन्वय राखेर धेरै कार्य गरिरहेको छ। यसैक्रममा लकडाउनका कारण समस्यामा फँसेकाहरूलाई खाद्यान्न वितरण गरेको उनको भनाइ छ।
यसका साथै यसभन्दा अघि अर्नव गुरुङको अगुवाईमा फाउन्डेशनले अन्यसँगको सहकार्यमा बसमार्फत् ३०० भन्दा अधिकलाई घर फर्किनका लागि सहयोग पुऱ्याएको उनले बताएकी छन्।