राभाङ्लामा एसकेएम नारी प्रकोष्ठको सभा, गोलेले भने – परिवर्तन एसकेएमको ‘ब्राण्ड नेम’, कसैले नक्कल गर्न सक्दैन

0
1459
एसकेएममा सामेल भएकाहरूलाई खदार्पण गरी स्वागत जनाउँदै पार्टी अध्यक्ष पीएस गोले। 

गान्तोक, 7 सेप्टेम्बरः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) –का अध्यक्ष पीएस गोलेले परिवर्तन पार्टीको ब्राण्ड नेम रहेको बताए। राज्यको दक्षिण जिल्लाको राभाङ्लामा सम्पन्न एसकेएम नारी प्रकोष्ठको समन्वय बैठकलाई सम्बोधन गर्दै गोलेले यस आशयको बयान दिएका हुन्।  उनले भने,  एसकेएम पार्टीलाई सिक्किमेली जनताको पार्टी बनाउने मेरो परिकल्पना हो। म यो कुरालाई भोलिको दिनमा यथार्थमा परिणत गर्नु चाहन्छु। परिवर्तन एसकेएम पार्टीको ब्राण्ड नेमहो। यो कसैले नक्कल गर्न सक्दैन।
राज्यका सत्ता दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)- का अध्यक्ष तथा राज्यका मुख्यमन्त्री पवन चामलिङले अन्य धेरैलाई किन्न सक्ने भए तापनि आफूलाई कहिल्यै किन्न नसक्ने दाबी गरे। म युवा, नारी र सिक्किमेली आमालाई कहिल्यै धोका दिन्नँ। यहाँ प्रजातन्त्र छैन, एसकेएम अध्यक्षले थपे,  सिक्किममा राजतन्त्रभन्दा क्रूर शासन चलिरहेको छ। तरै पनि सिक्किममा बोल्नसक्ने अवस्था एसकेएम पार्टीले बनाएको छ। सिक्किमका सबै जनतालाई एसकेएम पार्टीका कार्यकर्ताहरूले प्रेम बाँड़ौं, माया गरौं, हाम्रो पार्टीको मुख्य लक्ष्य व्यवस्था परिवर्तन हो।
आफूभन्दा वरिष्ठ व्यक्ति पार्टीमा आए खुशीसाथ कुर्सी छोड़्न चाहेको पनि उनको भनाइ छ। गोलेका अनुसार सिक्किमेली जनतालाई सत्ता सुम्पिन उच्च तहका नेताहरूले पनि त्याग गर्न सक्नुपर्छ। नारीहरू सिक्किम चलाउनसक्ने भएको आज आफूले महसुस गरेको उनले बताए।
शुरुमा एसकेएम पार्टीको नेतृत्व हामीले नारीलाई सुम्पेका थियौं, गोलेले थपे,  एसकेएम पार्टीले नारीशक्तिलाई उच्च स्थान दिएको छ। एसकेएम पार्टीमा नारीहरूले स्वतन्त्र रूपमा बोल्न मौका पाएका छन्। आफ्नो भाषणअवधि उनले एसडीएफप्रति पनि कटाक्ष गरे। निराश व्यक्तिले अरूलाई गाली गर्छ। पीएस गोले कहिल्यै निराश हुँदैन र गाली पनि गर्दैन सिक्किमका नेताहरूलाई गाली गर्ने ठेका र दार्जीलिङ-कालेबुङका जनतालाई बदनाम गर्ने काम चामिलिङले गर्दैछन्, उनले आरोप लगाए। आफ्नो भाषणमा एसकेएम अध्यक्षले  एसकेएमको सरकारमा विधायक र मन्त्रीहरूले फर्चुनर नचढ़ेर बलेरो चढ़्ने र यसबाट बाँचेका पैसा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताए।
एसडीएफ सरकारले चुनाउअघि गरेको वाचा कुनै पूरा गरेको छैन। गरीबलाई निःशुल्क बिजुली दिने कुरा खोइ? एसकेएम सरकार आएपछि पीडब्ल्यूडीका सबै खलासीलाई रेगुलर गर्नेछौं। एमआर, वर्कचाज र एडहकका सबै कर्मचारीलाई रेगुलर गर्नेछौं र पेन्शनको पनि व्यवस्था मिलाउनेछौं। यो सरकारले स्थानीयलाई अन्याय गरेर रूल 4-4 को उल्लङ्घन गरेको छ। बीएल समुदायले 371 एफ अन्तर्गत जुन सुरक्षा पाएका छन् शेर्पा जातिले पनि पाउनुपर्छ, गोलेले थपे,  यो एसकेएम पार्टीको अड़ान हो। यो जातिलाई न्याय दिँदै एसकेएम पार्टीको सरकारमा मन्त्री बनाउनेछौं। एसडीएफ सरकारले तेञ्जिङ शेर्पालाई बेइज्जत गरेको छ, तर एसकेएम पार्टीले सम्मान गर्नेछ। एसकेएम पार्टीको सरकार आएपछि 50%  ठेका र सप्लाईको काम नारीलाई दिनेछौं। महिला विकास बोर्ड, महिला ब्याङ्क बनाउनेछौं। आगामी चुनाउमा एसडीएफ पार्टीभन्दा धेर नारीलाई उम्मेदवार ननाउनेछौं। एसकेएम पार्टीले नारीलाई मुख्यमन्त्रीसम्म बनाउन सक्नेछ।
विधायक कुङ्गानिमा लेप्चाले आफ्नो सम्बोधनमा नारी समाजका मेरुदण्ड रहेको बताए। उनले भने,  प्रजातन्त्र सिक्किममा कहाँ छ? विपक्षी विधायकहरूको आवाजलाई सरकारले दबाउँदैछ। यो कुरा सिक्किमे जनताले बुझ्नुपर्छ। शेर्पा जातिलाई हाम्रो पार्टीले न्याय दिनेछ। नारीहरूलाई हाम्रो पार्टीले सामाजिक न्याय दिनेछ। चामलिङ सरकारलाई हाम्रो सरकार आएपछि योजना भन्ने के हो? प्रशासनिक व्यवस्था के हो? हामी पाँच वर्षमा काम गरेर देखाउनेछौं।
सभामा दक्षिण जिल्ला नारी प्रकोष्ठद्वारा पार्टी अध्यक्ष गोलेलाई संवर्धना जनाइयो। बैठकलाई नारी प्रकोष्ठकी महासचिव सुश्री पवित्र भण्डारीले सम्बोधन गर्दै नारीको कल्याण र हितमा धेरै प्रस्ताव पार्टीसमक्ष पेश गर्दै भनिन्, “नारीहरूलाई ढुङ्गामूढ़ा गर्ने होइन, तर कलम थमाएर नीति निर्धारक बनाउनेछौं। नारी जातिको सुरक्षा 24 वर्षे एसडीएफ पार्टीले गर्न सक्दैन। यो काम एसकेएम पार्टीले मात्र गर्नसक्छ। हालै सिकोनमा नारीलाई बँधुवा मजदुर बनाएको घटना निन्दनीय हो। बिहान 11 बजेदेखि राति 12 बजेसम्म काममा दल्ने एसडीएफ सरकार नारीविरोधी हो।
यस अवसरमा बर्फुङ समष्टिको सदा वार्डका स्वतन्त्र पञ्चायत धनबहादुर राईसँगै समष्टिका विभिन्न जीपीयूबाट 134 र राङ्गाङ-याङ्गाङ समष्टिबाट 21  परिवार गरी कुल 155 परिवारले एसडीएफ पार्टी त्यागी एसकेएम पार्टीमा सामेल भएको दाबी गरियो। उनीहरूलाई पार्टी अध्यक्ष पीएस गोलेले खादा लगाएर पार्टीमा सामेल गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here