फाँसीदेवामा पुल भाँचियो, आरोप-प्रत्यारोपको राजनीति चुलियो

0
1009
बीचैमा भाँचिएको फाँसीदेवास्थित मानगाछ पुल। 

सिलगढ़ी, ७ सेप्टेम्बर : सिलगढ़ी नजिक फाँसीदेवाको मानगाछ पुल बीचैमा भाँचिएपछि आरोप-प्रत्यारोपको राजनीति चुलिएको छ। यो पुल भाँचिनुमा वाममोर्चा नेतृत्व सिलगढ़ी महकुमा परिषद् जिम्मेवार रहेको राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसको आरोप छ भने वाम मोर्चाले यो आरोपको सोझै खण्डन गर्दै माकपा नेतृत्व बोर्ड रहेकै कारण राज्य सरकारले कोष आवण्टन नगरेको माकपाले उल्टो आरोप लगाएको छ।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार एक मालवाहक ट्रक यो पार भइरहेको समयमा यो पुल बीचैमा भाँचिएको हो। पुल भाँचिएपछि ट्रक फँसेको छ। यो समाचार लेखुञ्जेलसम्म फँसेको ट्रकलाई निकाल्ने कोशिश गरिँदैथियो। घटना आज बिहान प्रायः ९:३० –को हो। पुल भाँचिएपछि स्थानीय चारवटा गाउँको सम्बन्ध सिलगढ़ीसँग विच्छिन्न भएको छ।
जानकारीअनुसार फाँसीदेवालाई मानगछसँग जोड़्ने बाटोमा पर्ने पिछला नदीमाथि यो पुल 2002-मा तयार गरिएको थियो। यसको लम्बाइ 30 मिटर छ। आज बिहान पञ्चायत कार्यका लागि लरी डब्ल्यूबी 73 ई 4601 नम्बरको ट्रक सिमेन्टले बनाएको ईंटा बोकेर यो पुल बीचैमा भाँचिएको हो। 

स्मरणरहोस्, राज्यमा पछिल्लो चार दिनमा पुल भत्केको यो दोस्रो घटना हो। यसभन्दा अघि 4 सेप्टेम्बरमा दक्षिण कोलकातास्थित माझेरहाट पुल भत्केको थियो। यो घटनामा तीनजनाको मृत्यु हुनका साथै २४ जना घाइते भएका थिए।
सिलगढ़ी नगरनिगम जिम्मेवार : गौतम देव
घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेका राज्यका पर्यटन मन्त्री गौतम देवले पुल भाँचिनुको कारण सिलगढ़ी नगरनिगमको लापरवाही रहेको बताए। देवले भने, क्षेत्रका खण्ड विकास अधिकारीले धेरै वर्ष अघि वाममोर्चा नेतृत्वलाई पुलको दुरवस्थाबारे रिपोर्ट दिएर सात लाख मरम्मतीका लागि दिने बताएका थिए, तर नगरनिगमले कुनै  पहल गरेन। देवका अनुसार मरम्मतीलाई लिएर निगमले आँखा चिम्लेर बसेपछि आज यो दुर्घटना भएको हो। उनले घटनाको रिपोर्ट राज्यकी  मुख्यमन्त्री ममता ब्यानर्जीलाई दिने पनि बताए। घटनास्थलमा मन्त्री देवले प्रशासिक अधिकारीहरूसँग कुराकानी पनि गरे।
राज्यले कोष आवण्टन गरेन : जीवेश सरकार
अर्कोतिर  माकपाका वरिष्ठ नेता जिवेश सरकारले आरोप लगाएअनुसार पुलको मरम्मती गर्ने  अनुरोधलाई तृणमूल कङ्ग्रेस सरकार र जिल्ला प्रशासनले आँखीओझेल गऱ्यो। उनले भने, “हामीले राज्य र स्थानीय प्रशासनलाई यसको मरम्मती गर्ने आवश्यकता रहेको बताएका थियौं, तर यो वामदलको नेतृत्वमा महकुमा परिषद्  रहेकोले राजनीतिक उद्देश्यले राज्यले यसको मरम्मतीका लागि कोष आवण्टन गरेन।
यसभन्दा अघि 11 अगस्तमा फाँसीदेवामा नै एक फ्लाइओभर भत्केको थियो।
बिहीवार राज्यकी मुख्यमन्त्रीले राष्ट्रभरि रहेका पुलहरूको सर्वे गरिनुपर्ने कुरामा जोड़ दिएकी थिइन्। उनका अनुसार कोलकाता वरिपरि  मियाद सकिसकेका 20 वटा त्यस्ता पुल छन्, जो कुनै पनि समय दुर्घटना हुनसक्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here