कालेबुङ, 7 सेप्टेम्बर : क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले राष्ट्रिय नागरिक पञ्जी, त्रिस्तरीय पञ्चायत चुनाउ र दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान विषयमा कालेबुङका विभिन्न स्थानमा पोस्टरिङ गरेको छ।
क्रामाकपा आञ्चलिक समितिका अनुसार पछिल्लो 1 सेप्टेम्बरको दिन केन्द्रिय समितिले लिएको निर्णय अनुसारै आज शहरमा पोस्टरिङ गरिएको हो। पोस्टरमा एनआरसीमा गोर्खाहरू छुटिएको घटनाको तीव्र निन्दा गर्नका साथै बङ्गालभित्रकै व्यवस्था रुचाउनेहरूप्रति जनता होशियार हुनुपर्ने बताइएको छ।
पोस्टरमा भनिएको छ, ‘असममा जातीय भेदभावको पूर्वाग्रह राखी एनआरसीबाट 1 लाख अधिक गोर्खा असमेली गोर्खाको नाम छुटिनु निन्दनीय हो।’
त्यस्तै अर्को पोस्टरमा भनिएको छ, ‘जनताको त्याग, बङ्गालबाहिरको व्यवस्थाका लागि हो। राज्यभित्रकै विकल्प खोज्नेहरूसँग जनता सचेत बसौं।’ क्रामाकपाले कालेबुङ शहरमा मात्र होइन, तर अलगढ़ासम्मै पोस्टरिङ गरेको बताइएको छ।
यसैगरी पोस्टरमा दार्जीलिङ र कालेबुङ जिल्लाका पञ्चायतहरूको पुनर्सीमाङ्कन गरी त्रिस्तरीय पञ्चायत चुनाउ झट्ट गरिनुपर्ने माग पनि गरिएको छ भने दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान जीटीए र छैटौं अनुसूची नभएर छुट्टै राज्य गोर्खाल्याण्ड रहेको पनि बताएका छन्।
उल्लेखनीय छ, आजको पोस्टरिङ आञ्चलिक समितिका नेता विक्रम छेत्रीको नेतृत्वमा गरिएको थियो भने यसअवसरमा पार्टीका वरिष्ठ नेताद्वय किशोर प्रधान र मोहन पौड़ेलसहित तुलसी राई, भीम गुरुङ, विमल राई, पासङकित लेप्चा, रामबहादुर सुब्बा, सार्केलाल विश्व र अमृता थापाआदि पनि उपस्थित थिए। क्रामाकपा नेता किशोर प्रधानका अनुसार केन्द्रिय समितिकै निर्णयलाई आत्मसात हिजो क्रामाकपाले दार्जीलिङमा पनि पोस्टरिङ गरेको थियो।