गान्तोक, 7 सेप्टेम्बरः सिक्किममा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूका कुल सङ्ख्या 6 पुगेको छ।
आज थप एकजना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएपछि राज्यमा कोरोनाका कारण मर्नेहरूका सङ्ख्या 6 पुगेको हो।
स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा छिरिङ भोटियाले दिएको जानकारीका अनुसार आज 27 वर्षीय युवकको मृत्यु आज बिहान रोङ्ली प्राथमिक स्वास्थ्य केन्द्रमा भएको हो। मृतक जलुकनिवासी हुन्।
जानकारीका अनुसार मृतक व्यक्ति एमडीआर टीबीले ग्रसित थिए।
11 दिनअघि उनी सिङ्ताम जिल्ला अस्पतालबाट छुट्टी भएका थिए। सिङ्ताम अस्पतालमा उनको एन्टिजेन टेस्ट गर्दा कोरोना रिपोर्ट नेगिटिभ आएको थियो।
सिङ्ताम अस्पतालबाट छुट्टी पाएका उनलाई जलुकको बाटो बन्द रहेका कारण रोङ्ली प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गरिएको थियो। त्यहाँ पनि उनको रेपिड एन्टिजेन टेस्ट गर्दा उनको रिपोर्ट नेगिटिभ आएको थियो।
यद्यपि आज बिहानै उनको मृत्यु भयो। पछि उनको रेपिड एन्टिजेन टेस्ट गर्दा टेस्ट रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य विभागका सचिव डा. पेम्पा छिरिङ भोटियाले जानकारी गराएका छन्।