जीएसएसएसले गऱ्यो विनय तामाङको विरोध, भन्यो – गोर्खाल्यान्ड बेचेर सत्तामा बस्नेहरूको विरोध जीएसएसएसले सधैँ गर्छ

0
1062
आइतवार दिल्लीको एनसीयुआई हलअघि विनय तामाङको विरोध गर्दै जीएसएसएसका सदस्यहरूय़
गान्तोक,  ७ अक्टोबर : पार्टीको ११औं स्थापना दिवस मनाउन दिल्ली गएका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष एवं गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) –का बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)- अध्यक्ष विनय तामाङले चर्को विरोधको सामना गर्न परेको छ। आइतवार उनको विरोधमा सड़कमा ओर्लेको गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-का सदस्यहरूले व्यापक विरोध प्रदर्शन गरे।
विनयपन्थी गोजमुमोले स्थापना दिवस पालन गर्ने भनिएको एनसीयुआई हलअघि बिहानैदेखि भेला भएका जीएसएसएसका सदस्यहरूले विनय तामाङको विरोध गर्दै हात र मुखमा कालो लुगा बाँध्नका साथै  गोर्खाल्यान्डको पक्षमा र जीटीएको विरोधमा लेखिएका प्लाकार्डहरू बोकेका थिए। 
विरोध प्रदर्शनबारे जानकारी गराउँदै जीएसएसएस प्रवक्ता अञ्जनी शर्मा भुजेल।
यता, जनसंवादसँग बोल्दै जीएसएसएसकी प्रवक्ता अञ्जनी शर्मा भुजेलले दिल्लीका गोर्खाहरू गोर्खाल्याण्डभन्दा सानो कुनै पनि व्यवस्थालाई स्वीकार नगर्ने अठोटमा एकबद्ध रहेकोले आन्दोलनलाई बङ्गाल सरकारको हातमा बेचेर सत्तामा रमाएका विनय तामाङको आज विरोध गर्न जुटेको बताइन्। 
“हामी कुनै पनि पार्टीको स्थापना दिवसको विरोधमा छैनौं। न त हामीले गोर्खा जनमुक्ति मोर्चाको स्थापनालाई विरोध गरेका हौं’’, उनले थपे, “हाम्रो विरोध विनय तामाङ र उनको टीमलाई हो, जसले गोर्खाल्यान्ड बेचेर बङ्गाल सरकारले दिएको सत्तामा बसी दार्जीलिङमा गणतन्त्रको हत्या गर्न राज्यलाई सहयोग गर्दैछन्।’’
उनका अनुसार विनय तामाङहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि गोर्खाहरूको सपना र आकांक्षालाई कुल्चिएर राज्य सरकारसँग नमिले भए शहीदहरूको सपनाले यतिबेला साकार हुनेथियो।
गोर्खाल्यान्डको पक्ष र जीटीएको विरोधमा प्लाकार्ड बोकेका जीएसएसएस सदस्यहरू।
“विनय तामाङहरूको केही रुपियाँमा बिक्री नभएको भए आज गोर्खाल्यान्ड आन्दोलन सफल हुनेथियो। हामी दिल्लीका गोर्खाहरू पैसामा बिक्री हुने होइनौं। न त डराएका छौं न त झुकेका नै छौं’’, जीएसएसएस प्रवक्ताले भनिन्। उनले दिल्ली गएर दिल्लीका गोर्खाहरूलाई जवाफ दिन्छु भन्ने विनय तामाङको जवाफ सुन्न नै आफूहरू एनसीयुआईको हलअघि भेला भएको बताइन् ।
उनले भने, “विनय तामाङले दिल्लीकाहरूलाई जवाफ दिन्छु भनेका थिए। उनले जवाफ दिऊन्। हामी हल अघि जवाफ सुन्न आएका हौं। विनय तामाङले दिल्लीका गोर्खाहरूलाई आफूजस्तो पैसामा बिक्री हुने नसोचून्। हामी शुरुदेखि नै गोर्खाल्यान्डका लागि समर्पित र प्रतिबद्ध छौं। र सधैँ रहनेछौं।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here