हिल तृकं युवा एकाइका अध्यक्ष विष्णु गोलेलगायत अन्यले दिए राजीनामा

0
977

मिरिक, 7 अक्टोबरः हिल तृणमूल कङ्ग्रेस युवा एकाइका अध्यक्ष विष्णु गोलेलगायत अन्य युवाहरूले तृणमूल कङ्ग्रेसबाट राजीनामा दिएका छन्।

गोलेले आफूहरूले राजीनामा दिनुका कारण हिल तृणमूल कङ्ग्रेसका नेतृत्वहरूको ‘विचार’ र ‘मानसिकता’ रहेको बताए।

यसअवधि उनले हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष र राज्यसभा सांसद शान्ता छेत्रीको नामै पनि लिए।

आज मिरिकको झील परिसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै गोलेले हिल तृणमूल कङ्ग्रेसका नेतृत्वहरूका विचार र मानसिकतालाई लिएर पार्टीको युवा एकाइमा ठूलो खटपट आएको बताए। किनभने यी नेतृत्वहरूले युवाहरूलाई कुनै दिन पनि स्वतन्त्र रूपमा कार्य गर्न नदिएको उनको भनाइ छ।

विष्णु गोलेका अनुसार हिल तृणमूल कङ्ग्रेसका नेतृत्वहरूले 2011 देखि नै पार्टीमा रहेका सदस्यहरूसँग पनि सरसल्लाह र सोधीखोजी नगरी कार्य गरिरहेका छन्। एकलो निर्णय लिएर हिँड़िरहेका छन्।

“2017 पछि जुन नेतृत्वहरूलाई हिल तृणमूल कङ्ग्रेसको जिम्मा दिइएको छ, उनीहरूको कारण हामी सम्पूर्ण युवाले राजीनामा दिएका हौँ’’, उनले राजीनामाको कारण खुलाए।

आज विष्णु गोलेसँगै युवा एकाइका कार्यकारी अध्यक्ष अनुप गदाल, महासचिव ललित रसाइली, सुकेपोखरी ब्लक युवा अध्यक्षलगायत धेरै युवा कार्यकर्ताले तृणमूल कङ्ग्रेसबाट राजीनामा दिएका छन्।

उनको दाबीका अनुसार अहिलेका नेतृत्वसँग हिल तृणमूल कङ्ग्रेसका कोही पनि खुशी र असन्तुष्ट छैनन्।

“विष्णु गोलेले राजीनामा दिएको यो शुरूआत मात्र हो”, उनले थपे, “जबसम्म यो नेतृत्व परिवर्तन हुँदैन, तबसम्म धेरैले राजीनामा दिन तयार छन्।”

उनले नाम काड़ेरै थपे, “अहिले हिल तृणमूलमा नेतृत्वहरू को को छन्, एलबी राई र शान्ता छेत्री छन्। उनीहरूकै अगुवाइमा यहाँ पार्टी बिग्रिँदैछ। पार्टीका नेतृत्वहरूका व्यवहार परिवर्तन गर्न पर्नेछ।’’

उनले तृणमूल कङ्ग्रेसबाट राजीनामा दिए पनि पार्टी सुप्रिमो एवं मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़का विकासका लागि धेरै कार्य गरेको भन्दै प्रशंसा गरे। साथै आफूहरू सधैँ पहाड़मा शान्ति र विकासको पक्षमा रहेको बताए।

गोलेका अनुसार पार्टी हाइकमाण्ड कोलकातासँग उनको कुनै गुनासो छैन। उनको विरोध भनेकै हिल तृणमूलका वर्तमान नेतृत्वहरूविरुद्ध हो।

अर्कोतिर युवा अध्यक्षको पद पाएयता पहाड़का समस्याहरू समाधान गर्न र पार्टी विस्तारका लागि सकेसम्म कार्य गरेको र कुनै कार्यमा कुनै कमी नराखेको दावी पनि विष्णु गोले गरे।

तृणमूल कङ्ग्रेसबाट आज उनीहरूले राजीनामा दिए तापनि कुनै अन्य पार्टीमा भने सामेल भइनहाल्ने पनि बताए।

आज तृणमूल कङ्ग्रेसबाट राजीनामा दिनेहरूका सङ्ख्या करिब 500 रहेको दावी गरिएको छ।   

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here