बैठकमा गोर्खाल्याण्ड र जनजातिको मुद्दा उठायौँ: लोप्साङ लामा

0
1092

दार्जीलिङ, 7 अक्टोबरः आज नयाँ दिल्लीमा केन्द्रिय गृह मन्त्रालयले डाकेको बैठकमा विमल गुरुङपन्थी गोजमुमोका प्रतिनिधिहरूले छुट्टै राज्य गोर्खाल्याण्ड र गोर्खा समुदायका 11 जातगोष्ठीको मुद्दालाई उठाएको दावी गरिएको छ।

प्रतिनिधि टोलीलाई नेतृत्व गरी बैठकमा गएका विमलपन्थी मोर्चाका कार्यकारी अध्यक्ष लोप्साङ लामाले दावी गरेअनुसार अनुसार उनीहरूले बैठकमा गोर्खाल्याण्ड र जनजातिको मुद्दालाई उठाए।

लामाका अनुसार बैठकमा प्रतिनिधि टोलीले छुट्टै राज्य गोर्खाल्याण्डको माग भारतमा सबैभन्दा पुरानो माग रहेको बताउँदै यस मागका समर्थनमा विभिन्न सामग्री प्रस्तुत गऱ्यो।

अर्कोतिर, बैठकमा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को मुद्दा पनि उठेको उनले बताएका छन्। जीटीएको मुद्दा सन्दर्भमा मोर्चा प्रतिनिधि टोलीले राज्य सरकारले गरेको हस्तक्षेप,  अवरोध र अनियमितताका कारण जीटीए राम्रोसँग चल्न नसकेको र अचल अवस्था बनेको तथा 2017 मै जीटीएलाई खारेज गर्दै यसका सबै निर्वाचित सदस्यले राजीनामा दिएको अवगत गराउनका साथै यसबारे विस्तृत रूपमा ज्ञापन-पत्र नै बुझाएको पनि बताइएको छ।

केन्द्रिय गृह राज्य मन्त्री जी. किशन रेड्डीले बैठकमा उठेका सबै कुरा केन्द्रिय गृहमन्त्री अमित शाह मोर्चा प्रतिनिधि टोलीले राखेका सबै कुरामाथि सरकारले विचार गर्ने तथा गृहमन्त्री अमित शाहलाई आज उठान भएका सबै विषयवस्तुबारे जानकारी गराइ अघिल्लो बैठकको मिति घोषणा गर्ने आश्वासन दिएको पनि लोप्साङ लामाले बताएका छन्।

आजको बैठकमा केन्द्रिय गृह राज्य मन्त्री रेड्डीलगायत केन्द्रिय गृह सचिव अजय कुमार भल्ला तथा अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

अर्कोतिर, राज्य सरकारले भने आजको बैठकमा भाग लिएन। बैठकमा भाग लिने विमलपन्थी मोर्चाका प्रतिनिधिहरूमा लोप्साङ लामा, कल्याण देवान, उर्मिला रुम्बा, बिनु सुन्दास, विशाल छेत्री, विशाल लामा र कानुनी सल्लाहकार आनन्द भण्डारी रहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here