सिलगढ़ी, 7 दिसम्बरः सड़क दुर्घटनामा परी भारतीय जनता पार्टी (भाजपा)-का सिलगढ़ी साङ्गठनिक जिल्ला अध्यक्ष अभिजीत राय चौधरीको मृत्यु भएको छ।
जानकारीका अनुसार यो दुर्घटना शनिवार बिहानै मुर्शिदाबाद जिल्लाको बरहमपुरनजिक भएको हो। जानकारीका अनुसार यो दुर्घटनामा तीन अन्य भाजपा कार्यकर्ता गम्भीर घाइते भएका छन्।
प्राप्त जानकारीका अनुसार कोलकाताबाट फर्किरहेको समय बहरमपुरनजिक एक ट्रकसँग यी भाजपा नेता चढ़ेको वाहन जोड़ले ठोकिँदा यो बीभत्स घटना घटेको हो। पार्टीको कार्यक्रम लिएर उनी केही दिनअघि कोलकाता गएका थिए भने हिजै (शुक्रवार) मात्र उनी सिलगढ़ी साङ्गठनिक जिल्ला अध्यक्षको पदमा पुनर्निर्वाचित भएका थिए, जसको कारण उनका समर्थकहरूले खुशियाली बनाएका थिए।
सिलगढ़ी साङ्गठनिक जिल्ला अध्यक्ष पदमा निर्वाचित भएपछि हिजो उनी सड़क मार्ग भएर सिलगढ़ी फर्किरहेका थिए।
उल्लेखनीय छ, सिलगढ़ी आश्रमपाड़ानिवासी 35 वर्षीय अभिजीत राय चौधरी 7 नोभेम्बर 2014-मा कङ्ग्रेस त्यागेर भाजपामा सामेलमा भएका थिए। त्यसबेला उनीलाई दार्जीलिङ संसदीय क्षेत्रका तत्कालीन भाजपा नेता एसएस अहलुवालियाले दलको झण्डा प्रदानगरी उनलाई पार्टीमा स्वागत जनाएका थिए।
उनी सिलगढ़ीकै युवा प्रभावशाली नेता मानिन्थे। भाजपामा सामेल भएपछि उनी साङ्गठनिक विस्तारमा लगातार सक्रिय बनेर लागिरहेका थिए।
यसैबीच, भाजपाका महासचिव एवं उत्तर बङ्गालका प्रभारी राजु ब्यानर्जीले बताएअनुसार पार्टीका नेता सुब्रत च्याटर्जीले रायलाई सड़क मार्ग भएर सिलगढ़ी नफर्किने सुझाएका थिए। किनभने अघिबाटै सिलगढ़ी फर्किनका लागि अबेर भइसकेको थियो। तथापि ट्रेनको टिकट नपाएपछि उनीहरू एक वाहनमा चढ़ेर कोलकाताबाट सिलगढ़ी फर्किरहेका थिए। सड़क दुर्घटनामा परी उनको मृत्यु भएको खबर आज बिहानै फैलिएपछि शोकको लहर छाएको थियो।
यसैबीच, शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्न राज्यका पर्यटन मन्त्री गौतम देव, मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) दार्जीलिङ जिल्ला सचिव जीवेश सरकार, कङ्ग्रेस विधायक शङ्कर मालाकारलगायत भाजपाका वरिष्ठ नेताहरू आज आश्रमपाड़ास्थित उनको घर पुगेका थिए।
उनले आफूपछि पत्नी अर्पिता र एउटी चार वर्षीय छोरीलाई छोड़िगएका छन्। यसैबीच, बहरमपुरमा पोस्टमर्टम गरी आज रातिसम्म शव ल्याइपुर्याइने बताइएको छ।
शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्न पुगेका गौतम देवले भने, “मलाई विश्वास लागेको छुइनँ। यो घटना वास्तवै अत्यन्त दुःखद् हो। यति सानो उमेरमै एक युवा नेताको मृत्यु भएको छ। उनका परिवारलाई यो दुःखको घड़ीमा सहन शक्ति प्रदान गरुन् भनी ईश्वरसँग प्रार्थना गर्दछु।”
अर्कोतिर, कङ्ग्रेस विधायक शङ्कर मालाकारले पनि शोक समवेदना प्रकट गरेका छन्।
उल्लेखनीय छ, यी भाजपा नेतालाई अन्तिमपटक राति करिब 8 बजे फेसबुकमा अनलाइन देखिएका थिए। उनले त्यसबेला सिलगढ़ी साङ्गठनिक जिल्ला अध्यक्षको निर्वाचित भएकोमा सबैप्रति आभार व्यक्त गरेका थिए।
उनले फेसबुक पोस्टमा लेखेका थिए, ‘ममाथि विश्वास राखेर पुनः एकपटक मलाई सिलगढ़ी साङ्गठनिक जिल्ला अध्यक्षको पदमा निर्वाचित गरेकोमा म भाजपा केन्द्रिय र राज्य समितिप्रति आभार व्यक्त गर्दछु।’
यसका साथै उनले आफ्ना सम्पूर्ण कार्यकर्ता एवं शुभेच्छुकहरूप्रति पनि आभार प्रकट गरेका थिए। उनले शुभकामना दिने सबैलाई व्यक्तिगत रूपमा धन्यवाद दिन सक्षम बनेको तर सबैलाई इमानदारीपूर्वक एकमुष्ठ धन्यवाद दिने बताएका थिए।
यसैगरी उनले भाजपाको सङ्गठनलाई सबै मिलेर बलियो बनाइ सिलगढ़ीमा भाजपालाई नयाँ उँचाइमा पुर्याउने बताएका थिए। भाजपाका वरिष्ठ नेताहरूका अनुसार भोलि अर्थात् आइतवार उनको सिलगढ़ीमा अन्तिम संस्कार गरिनेछ।
अर्कोतिर, सांसद राजु विष्ट र गोर्खा जनमुक्ति मोर्चा (पहिलो खेमा)-का अध्यक्ष विमल गुरुङले समवेदना प्रकट गरेका छन्।