सिलगढ़ी, 7 दिसम्बरः उत्तरकन्या अभियानअवधि पुलिसको झड़पमा उलेन राय (50) नाम गरेका भाजपा कार्यकर्ताको मृत्यु भएको छ।
दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले पुलिसको क्रूरतापूर्ण हमलामा ती भाजपा कार्यकर्ताको मृत्यु भएको आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘तानाशाही तृणमूल कङ्ग्रेस सरकारविरुद्ध भारतीय जनता युवा मोर्चाद्वारा आयोजित शान्तिपूर्ण र प्रजातान्त्रिक आन्दोलनमाथि बङ्गाल पुलिसले क्रूरतापूर्ण हमला गऱ्यो, जसका कारण हाम्रा एक कार्यकर्ताको मृत्यु भयो।’
बिष्टको आरोपका अनुसार पुलिसको हमलामा सयौँ भाजपा कार्यकर्ता घाइते भएका छन्। सयौँ कार्यकर्तालाई पुलिसले बर्बरतापूर्वक कुटपिट गऱ्यो। सयौँलाई पक्राउ गरेको छ।
उनका अनुसार भारतीय जनता युवा मोर्चाले आज निकालेको उत्तरकन्या अभियान उत्तर बङ्गालको विकासमा तृणमूल कङ्ग्रेसले देखाएको उदासीनताविरुद्ध थियो, जसमा उत्तर बङ्गालभरिका युवाहरूले भाग लिएका थिए।
‘बङ्गालको कानून व्यवस्थाले जोखिमस्तर पार गरिसकेको छ। यहाँ सरकार र पुलिसबाट मानिसहरू सुरक्षित छैनन्’, बिष्टले भनेका छन्।
उनले राज्यका पुलिसले तृणमूल कङ्ग्रेसको अग्रिण सङ्गठनजस्तो भएर कार्य गरिरहेको र पछिल्लो दुइ वर्षमा बङ्गालमा करिब 150 भाजपा कार्यकर्ताको हत्या भइसकेको आरोप पनि लगाएका छन्।
यसैगरी उनले सरकार उत्तर बङ्गालको विकासमा उदासीन रहेको उत्तरबङ्गाललाई विकासबाट वञ्चित राखेको थप आरोप पनि लगाएका छन्।
‘सरकारले उत्तर बङ्गालका लागि मिनी सचिवालय उत्तरकन्या स्थापना गरेको छ, तर यो नाम मात्रको छ। यो मिनी सचिवालय भ्रष्टाचार, पैसा कटौती, भाइभतिजावादको केन्द्र र सार्वजनिक पैसाको बर्बाद मात्र भएको छ’, राजु बिष्टको आरोप छ, ‘तृणमूल कङ्ग्रेसका गुण्डाहरूका लागि कट-मनि सङ्कलन गर्नबाहेक यो कार्यालयले आफ्नो उद्देश्यअनुरूप कुनै काम गर्दैन। जाति प्रमाण-पत्र, डिजिटल राशन कार्डजस्ता सानोभन्दा सानो कागज-पत्रका लागि पनि उत्तर बङ्गालका मानिसहरू एक वर्षभन्दा बढ़ी समय पर्खिनु पर्छ।’
उनका अनुसार पहिला माकपा र अहिले तृणमूल सरकारले उत्तर बङ्गाललाई भेदभावपूर्ण व्यवहार गरिरहेको छ। आर्थिक समृद्धिको प्रचुर सम्भावना हुँदा हुँदै पनि यो क्षेत्रबाट दक्ष र सीप भएका युवाहरू पलायन भइरहेको छन्।
‘ल्यान्ड माफिया, अवैध खनन्, तस्करी र सिन्डिकेट राज प्रतिदिन सामान्य बनेको छ’, बिष्टको आरोप छ।