नगरपालिका अध्यक्षमाथि हमलाका आरोपी नगरपार्षद्लाई पार्टीले पठायो शोकज नोटिस

0
1488
आईसीलाई ज्ञापन चढ़ाएपछि पत्रकारहरूसँग कुराकानी नपा उपाध्यक्ष विमल अगरवाल।

कालेबुङ, 8 जनवरी : कालेबुङका नगरपालिका अध्यक्ष रवि प्रधानमाथि भएको हमलाका आरोपी नगरपार्षद् कुणाल प्रधानलाई गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -ले शोकज नोटिस पठाएको छ। मङ्गलवार गोजमुमो कालेबुङ जिल्ला कमिटीका अध्यक्ष सञ्चवीर सुब्बाले यसबारे जानकारी गराए।

सुब्बाका अनुसार यो विषयलाई लिएर सोमवार स्थानीय डेलोमा गोजमुमो कालेबुङ जिल्ला कमिटी र केन्द्रिय समिति महासचिव अनित थापाबीच एक सभा बसिएको थियो। यसै सभामा आरोपी नगरपार्षद् प्रधानविरुद्ध शोकज पठाउने निर्णय गरिएको हो। “हिजो बसिएको बैठकमा लिएको निर्णयअनुसार आज हामीले कुणाल प्रधानलाई शोकज नोटिस पठाएका छौं”, सञ्चवीर सुब्बाले थपे, “हामीले उनलाई आफ्नो पक्ष राख्ने तीन दिनको समय दिएका छौं। आगामी 11 जनवरीभित्र यो मामिलाबारे आफ्नो पक्ष राख्न सक्नेछन्।”

उनका अनुसार पार्टीका कुनै पनि पदका व्यक्तिद्वारा गरिने गैरकानुनी कार्यलाई पार्टीले सहन नगर्ने निर्णय पनि सभामा लिइएको छ। सुब्बाले भने, “साधारण जनता र नेतृत्व सबैलाई सन्देश छ, उनीहरूले अगणतान्त्रिक र पार्टीको नियमबाहिर काम गर्न पाउनेछैनन्। अनि यस्ता कामहरूलाई पार्टीले सहन पनि गर्नेछैन। यस्ता काम गर्ने व्यक्तिहरूलाई पार्टीले राख्दैन पनि, महत्त्व पनि दिनेछैन। यो सबैलाई सन्देश हो।” आगामी 11 जनवरीभित्र आरोपी कुणाल प्रधानले लिखित रूपमा आफ्नो पक्ष राखेपछि पार्टीले यसबारे आगामी निर्णय लिने पनि सञ्चवीर सुब्बाले बताएका छन्।

अर्कोतिर आज कालेबुङ नगरपालिकाका नगरपार्षद्हरूले सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै थानाका आईसी सुवाशिष चाकीलाई एक ज्ञापन चढ़ाएका छन्। आईसीलाई ज्ञापन चढ़ाएपछि स्थानीय संवाद माध्यमहरूसँग कुराकानी गर्दै उनीहरूले गत 4 जनवरीको राति नगरपार्षद् रवि प्रधानमाथि भएको हमलाले आफूहरूलाई असुरक्षित महसुस भएकोले सुरक्षा हुनुपर्ने माग गर्दै आज ज्ञापन चढ़ाएको बताए।  उनीहरूले नगरपालिका अध्यक्षमाथि भएको हमलाको पनि विरोध गरेका छन्।

उल्लेखनीय छ, गत 4 जनवरीको राति नगराध्यक्ष रवि प्रधानमाथि नगरपार्षद् कुणाल प्रधानले हमला गरेको आरोप उठेको थियो। यो घटना कालेबुङको मुटु मानिने डम्बरचोकमा भएको हो। शहरको मेन रोडका भवनहरूमा रङपचेरा गर्ने विषयमा स्थानीय श्यामादेवी भवनमा बसिएको सभा सकिएर घर फर्किरहेको बेला डम्बरचोक नजिक नगराध्यक्ष रवि प्रधानलाई नगरपार्षद् कुणाल प्रधानले हमला गरेको र यो हमलामा नगराध्यक्षका सुरक्षाकर्मी  घाइते भएको बताइएको छ। यो  घाइते बनेका सुरक्षाकर्मीले नै कुणाल प्रधानविरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता गरेका छन्। 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here