दार्जीलिङ, 8 जनवरीः दार्जीलिङ जलपहाड़स्थित गोर्खा रिक्रुटमेन्ट डिपो (जीआरडी)-बाट धेरभन्दा धेरै युवा भारतीय सेनामा भर्ती भएको खण्डमा यो जीआरडी यहीं नै रहने गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन तामसाङ-पेम्बोङ शाखाको भनाइ छ।
केही महिनायता जीआरडी जलपहाड़बाट अन्यत्र सर्नसक्ने हल्ला चुलिएको छ। यसैले यो जीआरडी कुनै पनि समय यहाँबाट अन्य स्थानमा सर्नसक्ने सम्भावना प्रबल बनेको छ।
गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन तामसाङ-पेम्बोङ शाखाका अनुसार यदि जीआरडी दार्जीलिङबाट सरेर अन्यत्र गए, देश सेवाका लागि सेनामा भर्ना हुने यहाँका युवाहरू लखनऊ, गोरखपुर तथा अन्य स्थानमा गएर सेनाको भर्ना प्रक्रियामा भाग लिनपर्ने बाध्यता आउनेछ।
पहाड़बाट सेनामा अत्यन्त कम सङ्ख्यामा भर्ती भएकै कारण पनि जलपहाड़स्थित जीआरडी सर्नसक्ने सम्भावना देखिएको शाखा समितिका अध्यक्ष रिङ्गा तामाङले बताएका छन्।
“यसैले दार्जीलिङको जीआरडीलाई यहाँ नै रोकेर राख्नु हो भने यस डिपोबाट अधिकाधिक सेनामा भर्ना हुन आवश्यक छ”, उनले भनेका छन्।
तामाङका अनुसार यसै विषयमा सरसल्लाह गर्नका लागि सङ्गठनलाई जलपहाड़ सेना छाउनीमा बोलाएको थियो, जुन सरसल्लाहअवधि छाउनीका शीर्ष अधिकारीहरूले जीआरडीबाट भारतीय सेनामा अधिकाधिक भर्ना हुनका लागि युवावर्गलाई जानकारी गराउने साथै उत्साहित तुल्याउने सङ्गठनलाई अपील गरेको छ।
उल्लेखनीय छ, 1886-मा स्थापना भएको गोर्खा रिक्रुटमेण्ट डिपो कुनै पनि समय दार्जीलिङबाट अन्य स्थानमा सर्नसक्ने हल्ला निकै अघिदेखि चलिरहेको थियो। यद्यपि, यसबारे अझैसम्म आधिकारिक कुनै जानकारी प्राप्त भएको छैन।
तर, गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन तामसाङ-पेम्बोङ शाखाले आज यसबारे जलपहाड़ सेना छाउनीकै शीर्ष अधिकारीवर्गबाट जानकारी पाएको बताएपछि भारतीय सेनामा भर्ना हुन चाहने युवावर्गका साथै स्थानीय मानिसहरूका लागि चिन्ताको विषय बनेको छ।
दार्जीलिङबाट यो सेना भर्ना केन्द्र सार्नसक्ने सम्भावनाको मूल कारण के हुनसक्छ? भन्ने प्रश्नको उत्तरमा उनले भने, “सेनाले चाहेअनुसार, दार्जीलिङबाट सेनामा भर्ती भएको छैन। दार्जीलिङबाट वार्षिक 1,000 जना भर्ती हुनपर्ने हो, तर यहाँबाट वर्षमा बलैले 200 देखि 300 जना सेनामा भर्ना भएर गइरहेका छन्। यसैकारण यो डिपो राख्नुको औचित्य नदेखेपछि नै भारतीय सेनाले जीआरडीलाई यहाँबाट हटाउन चाहेको हो।”
यद्यपि, उनले आगामी 12 र 13 जनवरीको दिन जीआरडीबाट गोर्खा सैनिकको भर्ना हुने भएको जानकारी गराउँदै यसमा पहाड़का अधिकाधिक युवाहरूलाई भाग लिने अपील गरे।
उनले भने, “जीआरडीलाई दार्जीलिङबाट सर्न नदिनु हो भने यहाँका युवाहरू अधिकाधिक जीआरडीबाट भर्ना भएर सेनामा जानुपर्छ।”
यसका साथै गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन तामसाङ-पेम्बोङ शाखाले आगामी जून महीनामा पनि जीआरडीबाट सेनाको भर्ना हुने भएको जानकारी गराएको छ।
यस सङ्गठनले दिएको जानकारीअनुसार, जलपहाड़को रेकर्ड कार्यालय यहाँबाट गत वर्षको अक्टोबर महिनामा नै सरिसकेको छ। जसको कारण यहाँका भूतपूर्व सैनिक साथै उनीहरूका परिवारहरूले आफ्ना कतिपय कामका लागि धेरै कष्टको सामना गर्न परिरहेका छन्।
रेकर्ड कार्यालय जलपहाड़मा नै हुँदा यहाँका भूतपूर्व सैनिक तथा उनीहरूले कुनै काम गर्नपरे, एक सप्ताहमा काम पूर्ण हुन्थ्यो, तर अहिले 2 महिना बित्दा पनि काम पूरा भएको हुँदैन।
यदि जीआरडी यहाँबाट हटेको खण्डमा सेनामा भर्ना हुन चाहने यहाँका युवाहरू यस्तै समस्याको सम्मुखीन हुनपर्नेछ। यसैले यस विषयमा सम्पूर्ण राजनीतिक पार्टी, सङ्घ-संस्था, भूतपूर्व सैनिक सङ्गठनका प्रतिनिधिहरूले युवावर्गलाई सचेत गराउनुपर्ने अवस्था आएको छ।
यसैबीच, उनले 12 र 13 जनवरीको भर्ना र जूनको भर्नापछि जीआरडी दार्जीलिङबाट हट्नसक्ने सम्भावना रहेको पनि बताए।