राज्य सरकारले चाहेरै श्रमिकहरूलाई पर्जापट्टा नदिएको विष्टको आरोप

0
1350

सिलगढ़ी, 8 फरवरीः एकैपटकमा कानून बनाएर चियाबारीको 15 प्रतिशत जमिन पर्यटन उद्योगका लागि पुँजीपतिहरूलाई दिनसक्ने राज्य सरकारले चियाश्रमिकहरूलाई जमिनको पर्जापट्टा दिनै नचाहिरहेको आरोप दार्जीलिङका सांसद राजु विष्टले लगाएका छन्।

यसका साथै 2021 विधानसभा चुनाउपछि बङ्गालमा भाजपाको सरकार गठनलगत्तै दार्जीलिङ, तराई-डुवर्सका चियाश्रमिकहरूलाई उनीहरू बस्दै आएको जमिनको पर्जापट्टा दिने दाबी गरेका छन्।

शनिवार सिलगढ़ी टी एसोसिएशनको भवन उद्घाटन कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विष्टले यस्तो दाबी गरेका हुन्।

उनका दाबीका अनुसार 2021 पछि बङ्गालमा भाजपाले 200 भन्दा बढ़ी सिट जितेर सरकार बनाउनेछ।

सरकार गठन गरेपछि सबैभन्दा पहिलो कामअनुसार भाजपाले दार्जीलिङ पहाड़, तराई डुवर्सका चियाश्रमिकहरूलाई जमिनको पर्जापट्टा दिनेछ।

सांसदका अनुसार चियाश्रमिकहरूलाई पर्जापट्टा दिने अधिकार राज्य सरकारसँग छ। तर राज्य सरकारले चियाश्रमिकहरूलाई पर्जापट्टा दिनै चाहिरहेको छैन।

उद्योगपतिलाई चियाबारीको 15 प्रतिशत जमिन एकैपटकमा कानून बनाएर दिने राज्य सरकारसँग श्रमिकहरूलाई पर्जापट्टा दिने नीयत नै रहेको विष्टको भनाइ छ।

“चियाबारीको जमिनमा सबैभन्दा पहिलो अधिकार त्यहाँका श्रमिकहरूकै छ। तर, उनीहरूलाई राज्य सरकारले जमिनको पर्जापट्टा नै दिएको छैन”, सांसद राजु विष्टले दाबी गरे, “हाम्रो सरकार 2021 मा बनेपछि सबैभन्दा पहिला चियाश्रमिकहरूलाई पर्जापट्टा दिने गर्नेछौं।”

उनले बङ्गालमा भाजपा सरकारमा आउने ठोकुवा गरेका छन् भने चियाबारीको जमिनमा पर्यटन विस्तारका लागि 15 प्रतिशत जमिन दिने कानूनको आलोचना पनि गरे।

“बङ्गालमा भाजपाको सरकार बन्नेछ। किनभने सीपीएमले केही नदिएको र तृणमूल कङ्ग्रेसले ठग्ने काम गरिरहेको कुरा यहाँका जनताले बुझिसकेका छन्”, उनको दाबी छ।

विष्टले विधानसभा चुनाउ मात्र होइन, तर सिलगढ़ी नगरनिगमको चुनाउ भने भाजपाले जित्नै ठोकुवा गरेका छन्। उनका दाबीका अनुसार सिलगढ़ी नगरनिगमका 47 वार्डमध्ये 30 भन्दा बढ़ी वार्ड भाजपाले जित्नेछ।

यसैबीच, विष्टले वर्तमान मेयर एवं  माकपा नेता अशोक भट्टाचार्यलाई असल व्यक्ति बताए।

अशोक भट्टाचार्य असल व्यक्ति भए तापनि सिलगढ़ी नगरनिगमको विकासमा तृणमूल सरकारले आँखीओझेल र अन्याय गरेको उनको आरोप छ।

राज्य सरकारकै भेदभाद र अन्यायको कारण सिलगढ़ी नगरनिगमको विकास नै नभएको सांसदको थप आरोप छ।

यसअवसरमा उनले बङ्गालको कानून-व्यवस्थालाई केन्द्र गरी तृणमूल सरकारको आलोचना गरे। यसका साथै यी भाजपा सांसदले चियाबारी र चियाश्रमिकहरूका उत्थान र विकासका लागि केन्द्र सरकार गम्भीर रहेको तथा यसका लागि पहल भइरहेको पनि ठोकुवा  गरे।

यसका साथै विष्टले चियाश्रमिकहरूको न्यूनतम रोज वृद्धिको समस्या समाधानसँगै, उनीहरूको आर्थिक अवस्था र जीवन सुरक्षासँगै चियाको गुणात्मक विकास हुनुपर्ने बताएका छन्।

“पहिलो दिनदेखि चियाबारीलाई मैले प्रमुखता दिएको छ। यसबारे मैले काम पनि गरिरहेको छु”, विष्टले भनेका छन्। यसभन्दा अघि उनले सिलगढ़ी टी एसोसिएशनको नवनिर्मित भवनको उद्घाटन गरेका थिए।

यसअवसरमा सांसद विष्टलगायत टी बोर्ड अफ् इण्डियाका अध्यक्ष प्रभात कमल बेजबरुआ, उपाध्यक्ष कमल कुमार राई, रजनीगन्धा शील नस्कर र सिलगढ़ी नगरनिगमका मेयर अशोक भट्टाचार्य आदि पनि उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here