भाजपा-एसकेएम गठन, सीट साझेदारीको निर्णय दुई-तीन दिनमै : राम माधव

0
1175
एसकेएम अध्यक्ष पीएस गोले र भाजपा महासचिव राम माधव।

गान्तोक/नयाँ दिल्ली, 8 मार्चः राज्यको प्रमुख विपक्षी राजनीतिक पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र भारतीय जनता पार्टी (भाजपा)-बीच चुनावी साझेदारी बनेको छ।

एसकेएम अध्यक्ष पीएस गोलेको नेतृत्वमा दिल्ली गएको टोलीले भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाह र राष्ट्रिय महासचिव तथा उत्तर पूर्वाञ्चलका भाजपा प्रभारी राम माधवसँग बिहीवार बेलुकी नयाँ दिल्लीमा भेट गरेको छ। यो खबरलाई भाजपाका राष्ट्रिय महासचिव राम माधवले पुष्टि गरेका छन्।

राम माधवले राष्ट्रिय समाचार एजेन्सी एनएनआईलाई दिएको अन्तरवार्तामा भनेका छन्, “सिक्किम क्रान्तिकारी मोर्चा  सिक्किमको प्रमुख विपक्षी पार्टी हो। यसका अध्यक्ष पीएस गोले र दुई विधायक दिल्ली आएका छन्। उनीहरूसँग राष्ट्रिय अध्यक्ष अमित शाहको भेट भएको छ। मसँग पनि उनीहरूको कुराकानी भयो। भाजपा र एसकेएमको चुनावी समीकरणलाई चुड़ान्त बनाउन उनीहरू मकहाँ आएका थिए।”

माधवले अझ भने, “हामी दुईवटै पार्टी मिलेर आगामी संसदीय तथा विधानसभा चुनाउ सिक्किममा लड्नेछौं। सीट साझेदारीमाथि अहिले कुनै निर्णय भएको छैन। दुई-तीन दिनमै यो निर्णय भइहाल्नेछ। एसकेएम सिक्किममा चुनाउ जित्नसक्ने अवस्थामा छ। एसकेएमका अध्यक्ष प्रेमसिंह तामाङले सिक्किमको भ्रष्टाचारी सिक्किम डेमोक्रेटिङ फ्रण्ट (एसडीएफ) सरकारलाई सत्ताच्यूत बनाउने हामीलाई वचन दिएका छन्।”

जनसंवादलाई प्राप्त समाचारअनुसार, एसकेएमको टोलीमा पीएस गोले, विधायकद्वय कुङ्गा निमा लेप्चा र सोनाम लामा, कार्यकारी अध्यक्ष एमपी सुब्बा, सेक्रेटरी जेनेरल अरुण उप्रेती, एसकेएम उपाध्यक्ष तथा पूर्व विधायक बीएस पन्त, कोषाध्यक्ष केसु अग्रवाल, सिक्किम भाजपा अध्यक्ष डीबी चौहान, सिक्किम भाजपा प्रभारी नितिन नवीन र सिक्किम च्याम्बर्स अफ् कमर्सका उपाध्यक्ष कैलाश अग्रवाल आदि सम्मिलित रहेका छन्।

भाजपा र एसकेएमबीचको राजनीतिक साझेदारी बैठकमा सिक्किम च्याम्बर्स अफ् कमर्सका प्रतिनिधिको उपस्थितिले सबैलाई चकित् तुल्याएको छ। यस समाचार सामाजिक सञ्जालमार्फत शुक्रवार बिहानै भाइरल भएपछि राज्यभरि यसले चर्चा पाएको छ।

यस सम्बन्धमा एसकेएम पार्टीको आधिकारिक बयान जान्न चाहँदा पार्टी प्रवक्ता जेकब खालिङले भने,“एसकेएम र भाजपाबीच अहिले आधिकारिक रूपमा कुनै गठनबन्धन भएको छैन। एसकेएमको केही माग रहेका छन्। ती माग पूरा भएको खण्डमा भाजपासँग राजनीतिक समीकरण हुनसक्छ।”

अर्कोतिर यस सम्बन्धमा सत्तारूढ़ पार्टीको प्रतिक्रिया लिन चाहँदा एसडीएफ प्रवक्ता के.टी.ग्याल्छेनले भने,“अरू पार्टीको राजनीतिक गतिविधिलाई लिएर हाम्रो भन्नु केही छैन। हामी आफ्नो कार्यक्रम लिएर जनतामा जानेछौं। यस्ता धेरै राजनीतिक उतार-चढ़ाउहरू हामीले देखिसकेका छौं। यस्तो कुराले एसडीएफ पार्टीलाई कुनै फरक पर्दैन।” 

भाजपा र हाम्रो सिक्किम पार्टी (एचएसपी)-बीच अनि एसकेएम र एचएसपीबीच गठबन्धन विषय एक चरणको बैठक भएपछि अचानक एसकेएम र भाजपा एउटा खेमामा पुगेका छन्।

एचएसपीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियासँग प्रतिक्रिया जान्न चाहँदा उनले भने, “गठबन्धन भइहालोस्, त्यसपछि प्रतिक्रिया गरौंला।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here