फार्मेसी कलेजको उद्घाटन, चामलिङले भने – आर्थिक कारणले सिक्किमे विद्यार्थीहरू शिक्षाबाट वञ्चित हुनुहुँदैन

0
1618
साजोङमा फार्मेसी कलेजको उद्घाटन गर्दै मुख्यमन्त्री चामलिङ।

गान्तोक, 8 मार्चः मुख्यमन्त्री पवन चामलिङले शुक्रवार राज्यकै पहिलो सरकारी फार्मेसी कलेजको उद्घाटन गरे। पूर्व सिक्किमको मार्तम-रुम्तेक निर्वाचन क्षेत्रअन्तर्गत साजोङमा निर्माण गरिएको राज्यकै पहिलो सरकारी फार्मेसी कलेजको उद्घाटनपछि मुख्यमन्त्रीले इन्सिट्युट अव् होटल म्यानेजमेन्टको प्रेक्षागृहमा आयोजित एउटा सभालाई सम्बोधन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले भने, “राज्य सरकार शिक्षाको क्षेत्रमा गम्भीर छ। हामी सिक्किमे विद्यार्थीहरूलाई समान अवसर दिन चाहन्छौं। आर्थिक कारणले कुनै पनि सिक्किमे विद्यार्थी शिक्षाबाट वञ्चित हुनुहुँदैन। त्यसैले सिक्किमका सबै महाविद्यालयहरूमा निःशुल्क शिक्षा प्रदान गरिँदैछ। अब यसै वर्षदेखि राज्यका सबै विश्वविद्यालयमा सिक्किमे विद्यार्थीहरूलाई निःशुल्क शिक्षा दिइनेछ। भोलिको दिनमा यही फार्मेसी कलेजमा पनि स्नातकोत्तरको पढ़ाइ शुरु भयो भने त्यो पनि निःशुल्क हुनेछ।”

गत वर्षको जुलाई महिनादेखि यो फार्मेसी कलेजमा आधिकारिक रूपमा पठनपाठन शुरु भएपनि आज मात्रै यसको औपचारिक उद्घाटन गरिएको हो। कलेजको पहिलो वर्षमा 60 जना विद्यार्थी छन्। बी. फार्मको डिग्री हासिल गर्दा कलेजमा विद्यार्थीहरूको सङ्ख्या बढ़ेर 240 पुग्नेछ।

फार्मेसी कलेज स्थापना गर्नुको औचित्यमाथि बोल्दै मुख्यमन्त्रीले भने, “राज्यमा अहिले धेरैवटा औषधि कारखाना रहेका छन्। त्यसमा धेरै मानव संसाधनको आवश्यकता पर्छ। त्यसैलाई ध्यानमा राखेर फार्मेसी कलेज स्थापना गरिएको हो। तर, मलाई डर लाग्दैछ-फार्मेसी कलेज शुरु त गर्‍यौं, औषधि कारखानाहरू पो बन्द हुने हुन् कि! अहिले राज्यको अवस्था त्यस्तै बनाइँदैछ। यस विषयमा फार्मेसी कलेजका विद्यार्थीहरूले गम्भीर भएर सोच्नुपर्छ।”

राज्यमा यसै वर्षदेखि अन्य एउटा विश्वविद्यालय शुरु हुने मुख्यमन्त्रीले घोषणा गरे।

“सिक्किमे विद्यार्थीहरूको मनोविज्ञान र अहिलेको आवश्यकतालाई ध्यानमा राखेर आर्टिफिसियल इन्टेलिजेन्समाथि पढ़ाइ हुने विश्वविद्यालय हामी शुरु गर्दैछौं। यस आधुनिक युगमा हाम्रा विद्यार्थीहरू पछि पर्नु नपरोस्”, उनले भने।

यसअवसरमा उनले अन्तरराष्ट्रिय महिला दिवसको सन्दर्भ उठान गर्दै भने, “सिक्किममा कुनै नारीवादी आन्दोलन भएको छैन। सिक्किमका नारीहरूलाई न्याय दिने नारीवादी नेता पनि म नै हुँ।”

मुख्यमन्त्रीले फार्मेसी कलेज र इन्सिट्युट अव् होटल म्यानेजमेन्टका सबै विद्यार्थीलाई ल्यापटप वितरण गर्ने घोषणा गरे।

ल्यापटप वितरणमाथि बोल्दै मुख्यमन्त्रीले भने, “डेल हुन्छ कि एचपी हुन्छ, जे भए पनि विद्यार्थीले ल्यापटप लिनु। अहिले सिक्किममा डेल र एचपीको ल्यापटपलाई लिएर पनि घिनलाग्दो राजनीति हुँदैछ। यो सिक्किमलाई दशा नै लागेको हो।”

कार्यक्रममा स्वास्थ्य विभागका मन्त्री एके घतानी, क्षेत्र विधायक डा. मिचुङ भोटिया, कबि-तिङ्दाका विधायक उगेन निडुप भोटिया, विभागीय प्रमुख विशाल चौहानलगायत अन्यको पनि उपस्थिति रहेको थियो।

राज्यका विद्यार्थीहरूलाई ल्यापटप प्रदान गरेकोमा रुम्तेक उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले मुख्यमन्त्रीलाई यसअवसरमा सम्मान पनि जनाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here