कोलकाता, ८ मार्चः जति जति चुनाउ नजिक आउँदैछ, उति उति तृणमूल कङ्ग्रेसका एकपछि अर्का नेता भाजपामा सामेल भइरहेका छन्।
आज यसै क्रममा सिङ्गुरका विधायक रवीन्द्रनाथ भट्टाचार्य, हबीबपुरका पूर्व उम्मेदवार सरला मुर्मु, विधायक सोनाली गुहा, विधायक जुटु लाहिड़ी, विधायक शीतल सरदार र विधायक दिपेन्दु विश्वासलगायत अन्य भाजपामा सामेल भएका छन्।
उनीहरू सबै टिकट नपाएपछि पार्टीप्रति क्षुब्ध बनेका थिए। भाजपा बङ्गाल एकाइका अध्यक्ष दिलीप घोष, शुवेन्दु अधिकारी, मुकुल रायको उपस्थितिमा आज उनीहरूले भाजपाको झण्डा समाएका हुन्।
यसैगरी अभिनेत्री तनुश्री चक्रवर्ती र मालदा जिल्ला परिषद्का धेरै पार्षद् पनि आज भाजपामा सामेल भएका छन्।
उल्लेखनीय छ, सरला मुर्मुलाई हबीबपुर विधानसभा आसनबाट टिकट दिइएको थियो, तर पछि फेरि स्वास्थ्य अवस्था देखाएर उनको टिकटलाई पार्टीले फिर्ता लिँदै प्रदीप बसकीलाई यस विधानसभा आसनमा टिकट दिइएको छ।