कालेबुङ, 8 अप्रेल : चुनाउको छेकमा दार्जीलिङ पहाड़मा हिंसात्मक घटना बढ़ेपछि मतदाताहरूमा डर बढ़ेको र निष्पक्ष चुनाउ सम्पन्न नहुने दाबी गर्दै भाजपाका उम्मेदवार राजु विष्टलाई समर्थन जनाउने विभिन्न पार्टीले चुनाउ आयोगमा नालिस गरेका छन्।
सबै दलले सामूहिक रूपमा लिखित नालिस गरेको भाजपा समूहका चुनाउकर्मी तोप्देन भोटियाले बताएका छन्। चुनाउ आयोगलाई नालिस गर्दै लेखिएको पत्रलाई भोटियाले नै हस्ताक्षर गरेको छ। पत्रमा राजनीतिक व्यक्तिद्वय अदित्य राई, र सामुएल राईमाथि प्राणघातक आक्रमण भएको उल्लेख गर्दै यसप्रकारको घटनाले मतदाताहरूमा भय सिर्जना गरेको उल्लेख गरिएको छ।
‘राजनीतिक व्यक्तित्वहरूमाथि यसप्रकारको आक्रमण भएकोले जनतामा आतङ्क सिर्जना गरेको छ’, पत्रमा लेखिएको छ, ‘यसले चुनाउ निष्पक्ष हुनुमा बाधा गर्ने देखिएको छ। हामी पहाड़मा निष्पक्ष चुनाउ होस् भन्ने माग गर्दछौं।’
यसप्रकारका घटनाहरू रोक्न चुनाउ आयोग शीघ्र नै कारबाहीमा गर्नुपर्ने तथा यस प्रकारका घटना फेरि नदोहोरियोस् भन्ने सुनिश्चित गर्न आयोगलाई पत्रमा अपील गरिएको छ।
‘गठबन्धनमा रहेका हामी सबै पार्टी, गोरामुमो, गोजमुमो, क्रामाकपा, गोरानिमो, गोर्खालीग पहाड़मा निष्पक्ष चुनाउ गराउन शीघ्र नै अर्धसैनिक बल तैनाथ गराउनका लागि अपील गर्छौं,’ पत्रमा लेखिएको छ, ‘अहिलेसम्म भएका हमलाका घटनाहरूमाथि शीघ्र नै जाँच होस् अनि दोषीहरूलाई कारबाही होस् भन्ने पनि माग गर्दछौं।’
अर्कोतिर आज कालेबुङमा तोप्देन भोटियाले पत्रकार सम्मेलन आयोजन गरी यसबारे जानकारी पनि गराए।
भाजपालाई प्राप्त भइरहेको समर्थन देखेर आतिएका मानिसहरूले ‘छोरी कुटेर बुहारी तर्साउने’ सोच राखेर यस्ता घटनाहरू घटाइरहेको बताए।
‘नाङ्गो ठटाउँदा हात्ती कहिले भाग्दैन। हामी यस्ता घटनाको घोर विरोध जनाउँछौं। हामीले यसबारे चुनाउ कमिशन, चुनाउ पर्यवेक्षक र पुलिस पर्यवेक्षकलाई पनि पत्र लेखेका छौं’, भोटियाले थपे, ‘भोलिदेखि नै कालेबुङमा अर्धसैनिक बल कालेबुङमा तैनाथ हुनपर्छ। र कालेबुङको शान्ति शृङ्खलालाई कायम राख्नपर्छ। कालेबुङका सोझो सीधा जनताले निष्पक्ष रूपले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनुपर्छ।