दार्जीलिङ, 9 मई : तृणमूल कङ्ग्रेसी विद्रोही नेतृ शारदा राई सुब्बाले केही दिनअघिदेखि लगातार आफ्नो चुनाउ प्रचार गरिरहेकी छन्। चुनाउ प्रचारकै क्रममा उनी बजारका प्रत्येक पसल तथा कमान बस्ती तथा चियाकमानहरूका घर दैलो पुगेकी आफ्नो पक्षमा मतदान गरी जिताउने अपील जनतालाई गरिरहेकी छन्। आफ्नो चुनाउ प्रचारको क्रममा उनले दार्जीलिङका पत्रकारहरूलाई सम्बोधन पनि गर्दै आएकी छन्।
यसै क्रममा उनले बुधवार पनि स्थानीय पत्रकारहरूलाई सम्बोधन गरिन्।
सुब्बाले भनिन्, दार्जीलिङका जनतालाई रेकर्डेड 150-160 गीत भएको एमपी थ्रीजस्तो कसैले बजाउँदा बज्ने, बज्दा बज्दै कसैले अफ् गर्दा बज्नै छोड़्ने मशिनजस्तो नेतृत्व होइन, तर दार्जीलिङ शहरको , यहाँका गाउँ-बस्तीको चियाबारीको, दार्जीलिङको सिन्कोनाबारी, यहाँको वनबस्तीका समस्याहरू बुझ्ने र ती समस्याहरूको समाधान गर्ने नेतृत्व चाहिएको आज हामीले चुनाउ प्रचारको क्रममा बुझेका छौं। त्यस्तै दार्जीलिङ पहाड़का युवा पिँढ़ी सास बन्द भएकोजस्तो स्थितिमा छ। त्यस्तै अवस्था समाजको छ। अहिले दार्जीलिङले दह्रो, भरोसालाग्दो नेतृत्व खोजिरहेको छ।”
उनले थप भनिन्, “दार्जीलिङ समस्यै समस्याले भरिएको छ। सबै समस्या समादान गर्नेका लागि हामीले कोशिश गरिरहेका छौं।”
यी समस्याहरूलाई समाधानका गर्नका विभिन्न विषयका विज्ञहरूसँग कुराकानी गरिरहेको पनि उनको दाबी छ। उनले यी समस्याहरूको समाधानका लागि आफ्नो चिह्न ‘नाउ’-मा जनताले भोट दिएर विजयी बनाउनेछन् भन्ने कुरामा आफू विश्वस्त रहेको पनि बताइन्।
उल्लेखनीय छ, आगामी उपचुनाउमा स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएकी शारदा राई सुब्बाले मङ्गलवार दार्जीलिङ नगरपालिकाको 32 नम्बर वार्ड, गिङ्ग, लामाहट्टाका जनतालाई भेट गरी आफ्नो पक्षमा मतदान दिने अपील गरेकी थिइन् भने आज नगरपालिका 24 नम्बर वार्डका दोकान दोकान पुगी पसलेहरूलाई भोट मागिन्। यसअवधि व्यस्त बजारमा ओहोरदोहोर गरिरहेका मानिसहरूलाई पनि आफ्नो पक्षमा भोट दिने अपील गरिन्।