
दार्जिलिङ, ८ मई: जीटीएका विद्यालयहरूमा भएको अवैध शिक्षक नियुक्तिविरुद्ध लडिरहेका सुदन गुरुङमाथि दार्जिलिङमा साङ्घातिक हमला भएको छ ।
आज बिहीबार राति लगभग ८ बजे स्थानीय सुपर मार्केटअघि उनीमाथि हमला भएको हो ।
गुरुङको टाउकामा चोट लागेको छ ।
दार्जिलिङ जिल्ला अस्पतालमा अहिले उनको उपचार चलिरहेको छ ।
उल्लेखनीय छ, प्रशिक्षित बेरोजगार युवा कल्याण सङ्गठनका अध्यक्ष सुदन गुरुङले लगातार रूपमा जीटीएमा अवैध शिक्षक नियुक्ति मामिलालाई उठाउँदै आइरहेका छन् भने यससम्बन्धी उनले धेरै खुलासा गरिरहेका छन्।
जीटीएमा अवैध शिक्षक नियुक्तिको मुद्दा अहिले कोलकाता उच्च न्यायालयमा चलिरहेको छ ।
सुदन गुरुङमाथि भएको यस साङ्घातिक हमलाको चौतर्फी विरोध सुरु भएको छ ।